यस कारण प्रदेश नं ७ को राजधानी दिपायल हुन आवश्यक छ !

  भूमिराज पिठातोली  423 पटक हेरिएको

देश संघियतामा गैसकेपछि स्थानीय तहको पुनसंरचना फेरबदल भयो । फेरबदल भएसंगैं देशका बिभिन्न प्रदेशको राजधानी कहाँ हुने भन्नेबारेमा आम जनताको बहसको बिषय बन्दै गएको छ ।

यसै सन्दर्भमा नेपालको ७ नं प्रदेशको संघिय राजधानी कहाँ हुने भन्नेमा सुदूरपश्चिमेलीहरुमा चर्चापरिचर्चा भइरहेको छ । सुदूरबासी सबै जनताले राजधानी हुने बारे आ–आफ्नो मत÷बिचार प्रस्तुत गर्दै आएका छन । तराईबासीले कैलाली र सुदूर पहाडबासीहरुले दिपायलको लागि प्रस्ताब अघि सारेका छन ।

१९ हजार ५ सय ३९ बर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित सुदूर पश्चिम बिकास क्षेत्र (७ नं प्रदेश)को राजधानी कता होला भन्ने आम जनताहरुमा अन्यौलता छाएको छ । नेतृत्व गर्ने नेताहरु भने राजनीतिको नाममा डोटेली जनतालाई खेलौना बनाइरहेका छन । तराई क्षेत्रमा जाँदा ७ नं प्रदेशको राजधानी धनगढी वा अत्तरिया बनाउने आश्वासन दिन्छन त पहाडमा आउँदा दिपायलमा नै बनाउने बाचा कसम खान्छन ।

पूर्वमा नेपाल, पश्चिममा उत्तराखण्ड भारत, दक्षिणमा उत्तर प्रदेश भारत र उत्तरमा तिब्बत चीनसम्म फैलिएको सुदूरपश्चिममा सेती महाकाली गरी २ वटा अञ्चलहरुको सुसेलीमा बाँचेको सुदूरपश्चिम हिमाल पहाड तराई मिलेर भौगोलिक हिषाबले सम्पन्न क्षेत्र हो ।

२ जिल्ला तराँई क्षेत्र, ४ जिल्ला पहाडी क्षेत्र र ३ जिल्ला हिमालीमा बिभाजन गरिएको सुदूरपश्चिममा छुट्टै खालको पहिचान छ, । हिमाली र तराईबासीहरुलाई समग्र रीति, कला, संस्कति, बेशबुषालाई पहाडी क्षेत्रमा प्रस्तुत हुँदा सुदूरलाई ‘स्वर्ग तुल्य’को उपमा धेरैले दिने गर्छन ।

ऐतिहासिक रुपमा हेर्दा यसको परिचय डोटी राज्यको पश्चिमको सिमाना भारतको कुमाउँसंग जोडिएको थियो भने पूर्वमा सिमाना जुम्ला राज्यसंग जोडिएको थियो । बझाङ्ग अछामका राज्यहरु डोटी राज्यमा संरक्षित राज्य थिए । बि.सं १९७७ मा महाकाली नदी पारी हालको ब्रमदेबमा डोटी र कुमाउँ बीच भएको सन्धी अनुसार मधेसबाट पहाड जोड्ने बाटो बनाउने कुरा उल्लेख भएको पाइन्छ ।

ब्यापारिक मण्डीहरु बेलौरी, मालाखेती, चौमालामण्डी त्यसैबेलादेखि नै चल्दै आएका थिए । कुमाउँ र डोटी बीचको सन्धिका तत्कालिन कुमाउँका राजा देबी चन्द्र र डोटीका राजा रघुनाथ शाहीको पालामा सुदूरका सबैजिल्लाहरुमा दरबारहरु स्थापना गरी पछि एउटै राज्य डोटीमा गाभेका भन्ने इतिहासमा उल्लेख छ । त्यसपछि सुदूरका नौवटा दरबारहरुलाई नै जिल्लामा घोषणा गरिएको हो भन्ने पनि बुझिन्छ ।

सुदूरका तराईका जिल्लामा प्रर्याप्त खाद्यान्न उत्पादन हुन्छ । पहाडी र हिमाली जिल्लामा फलफुल, तरकारी खेती, पशुपालनको राम्रो सम्भावना रहेको छ । सुदूरका प्रमुख प्राकृतिक धरोहरहरु खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाँफाटा वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, रामारोशन क्षेत्र, अपि हिमाल, सैपाल हिमाल, टिकापुर पार्क लगायतले आआफ्नै महत्व बोकेका छन । त्यस्तै सांस्कृतिक धार्मिक धरोहरहरुमा गोदावरी धाम, उग्रतारा मन्दिर, शैलेश्वरी मन्दिर, बडीमालिका क्षेत्र, गोकुलेश्वर, बरतादेवी लगायत बिभिन्न आस्था बोकेका शक्तिपिठहरुको आ आफ्नै पहिचान छ । सुदूरपश्चिमका देउडा, गौरा पर्व, भुओ नाच, छलिया, हुड्को नाच, सखिया नाचले सुदूरपश्चिमको संस्कृतिलाई झल्काउछ ।
जलश्रोतका हिसाबले पर्याप्त ७ नं प्रदेशमा महाकाली र कर्णाली नदीका बीचमा सेती र बुढीगंगाको कलकलको सुमधुर ध्वनि गुञ्जिने ठाउँ नै सुदूरपश्चिम हो । तर यसको पहिचान नै मेट्ने गरी राज्यले अर्कै निर्णय गर्छ भने जसरी अखण्ड सुदूरपश्चिमको आन्दोलनमा लाखौं जनता सडकमा ओर्लिएर सुदूरपश्चिम अखण्डमै कायम गरे त्यसरी नै डोटी गौंडाको पहिचान मेटी पहाडी र हिमालीहरुलाई अन्यायमा पार्दै तराईमा राजधानी सार्ने हो भने अखण्ड सुदूरपश्चिमको भन्दा ठूलो आन्दोलन हुने संकेत देखिन्छ ।

यसरी बिबिध दृष्टिकोणले पर्याप्त सम्भावना बोकेको सुदूरपश्चिममा राजधानी मध्यबिन्दुमा नभइ छेउछाउको भूभागमा हुने हो भने पछाडी परेको क्षेत्र झनै पछाडी पर्छ त बिकसित हुदै गरेको सहर निकै बिकासमा चुमिन्छ । पछाडी परेकालाई वास्ता नै हुदैन । पहिचान नै भुलाउनसम्म पुगिन्छ ।

दिपायल भनेको सुदूरको अस्मिता, अस्तित्व नै हो । त्यसलाई धरापमा पार्न खोजेमा बृहत रुपमा आन्दोलन हुने संकेत देखा पर्न थालेको छ । सद्भाब र एकता लागि एक हुने ७ नं प्रदेशबासीहरुलाई फुटाउन खोज्नु नै राजधानी सार्न हो । त्यसैले हामी एक हौं भन्ने उदाहरण दिन दिपायल नै राजधानी भएमात्र सकिन्छ ।

संस्कृतिको फूलबारी तहस नहस पार्न खोज्दा जो कोहीले पनि प्रतिकार गर्नु स्वभाबिक हो तर संस्कृतिलाई संस्कारमा बिकास गर्न खोज्नु वा संस्कृतिलाई भुलाउन नखोज्नु उत्तम हो । जुन समुदायमा हिमाल पहाड तराईको सद्भाब र एकताले चुमिएको हुन्छ, त्यो समुदाय कसैले तोड्न खोजेपनि प्रतिकार हुन्छ ।

सुदूरेलीको मेलमिलाप पनि एक आपसमा सुमधुर पाइन्छ । तराँई क्षेत्रबासीलाई डुबानमा पर्दा पहाडियाहरु आफैं सघाउन सहयोगीलाई जुटाउँछन त हिमाली भेगमा बस्नेहरुलाई भोकमरी भएको बेला तराईबासीहरुले राहत उपलब्ध गर्छन । तराईबासीको घाउमा हिमालबासीलाई छट्पटी हुन्छ त हिमालबासीको घाउमा पहाडियाहरु छट्पटिन्छन ।

हाम्रो सम्बन्ध नबिग्रीयोस भनेर तराँईबासी पनि आवाज उठाइरहेका छन । आफ्नो सुबिधाको लागि मात्र होइन सबैले समान सुबिधा पाउनुपर्छ । बाजुरा, दार्चुला, बझाङ्गका जनतालाई अन्याय हुन्छ भन्दै दिपायलमा राजधानी हुनुपर्छ भन्नेमा तराईबासी पनि छन तर राजनीज्ञ हु भन्नेहरुका पछाडी लाग्नेहरु मात्र दिपायल होइन तराई हुनुपर्छ ७ नं प्रदेशको राजधानी भनेर लागिरहेका छन । यो तराई पहाडियाहरुलाई लडाउन खोज्ने खेल मात्र हो । यसरी एक आपसमा सद्भाबको सेतु हुँदा हुदै पनि ब्यक्तिगत रुपमा सुबिधा बटुल्न किन नेताहरु खोस्न चाहान्छन ?

प्रदेश नं ७ को राजधानी यदि कैलालीमा सार्ने हो भने सुदूरपहाडबासीलाई एकदमै अन्याय हुने निश्चित देखिन्छ । पहाडी क्षेत्र झनै पहाडमा परिणत हुन्छ । दुर्गमलाई राज्यले शत्रुको ब्यवहार गरेको बुझिन्छ । सुगम क्षेत्र झनै सुगम र दुर्गम क्षेत्र बर्षौं पछाडी धकेलिन्छ । सुदूरको चिनारी दिपायललाई नै मेट्न खोजेमा राज्यले देशको अहितको लागि काम गरेको बुझिन्छ ।

दिपायल एउटा देशको पुरानो राज्य डोटी राज्य भएको क्षेत्र हो । बाइसे चौबिसे राज्यको बेलामा चार गौंडा छुट्याएको थियो । जसमा डोटीमा एउटा गौंडा । सुदूरका ९ जिल्लाहरु जसको राजधानी डोटी भनेर पाँच बिकास क्षेत्रको बेला पनि घोषणा गरेको थियो । सबै जिल्लाबासीलाई सहज तरिकाले सेवा पाउने उद्देश्यले तोकिएको राजधानी क्षेत्र नै दिपायल हो । दार्चुलाको जनतालाई वा कैलाली कञ्चनपुर, बझाङ्ग बाजुराका जनतालाई सहज रुपले सेवा लिन सक्ने ठाउँ दिपायल भएकोले यो ठाउँमा क्षेत्रीय सदरमुकाम राखिएको बुझिन्छ ।

दिपायल बहुदृष्टिकोणले चर्चित र सम्पन्न भएको ठाउँ हो जसमा अभाब भन्ने कुरा दश प्रतिशत मात्र हुन सक्छ । बाताबरण पर्याप्त, सुन्दर सुदूरपश्चिम भनेर चिनिने क्षेत्र नै दिपायल, प्राकृतिक सम्पदाले भरिपूर्ण, खुला ठाउँ, पर्याप्त भौतिक पूर्वाधारहरु लगायतले सम्पन्न क्षेत्र हो ।

कतिपयले आफ्नो ब्यक्तिगत स्वार्थको लागि तराइ नै मन पराए पनि सबै जनताले सहज रुपमा सेवा पाउने आधार पनि दिपायल नै हुन्छ । सुदूरपश्चिम बिकास क्षेत्रमा सबैभन्दा बढी जनसंख्या कैलालीमा छ जुन एक दशक मै भएको हो । सुदूरपहाडीहरुले अरु भन्दा केही अंश बढी कमाउने बित्तिकै बसाइसराइ गर्नेको संख्या घुइँचो लाग्नाले बढेको हो । जनसंख्या बढ्यो भन्दैमा राजधानी सार्नु उचित हुदैन । किनकी पौने प्रतिशत जनता पहाड र हिमालमै छन ।

साइसराइकै क्रममा १ दशकमा तराई क्षेत्रमा खुट्टा टेक्नलाई पनि ठाउँ नहुने कुरा पनि स्पष्ट छ । राजधानीका लागि खुला ठाउँ चाहिन्छ । त्यसैले खुला ठाउँका लागि दिपायल बराबर अरु कुनै क्षेत्र पुग्दैन जो भौतिक पूर्वाधारहरुले पनि पर्याप्त छ । अन्य सुबिधा पनि सजिलै पाउन सकिने छ ।

दिपायलबासीको ब्यबहारले पनि राजधानी हुन अतिआवश्यक छ । २ हजार जनालाई ब्यवस्था गर्न सक्ने क्षमता भएको क्षेत्रमा ४ हजार जनालाई पनि दिल खोलेर ब्यवस्था गरिन्छ पाहुना स्वरुप । नेपाली हुनुको गर्भिलो ब्यवहार पनि त्यही हो । हामीले त्यो अवस्था तराईमा पाउन सक्दैनौैं । तराईबासीलाई पनि दिपायलमा यस्तै सम्मान गरिन्छ । जो दिपायलबासीका ब्यवहारको कुनै अंश पनि पाइदैन तराइबासीका बढीजसो जनतामा ।

७ नं प्रदेशको राजधानी दिपायल बन्न सक्ने बिभिन्न आधारहरु छन । नेपाललाई ५ बिकास क्षेत्रमा बिभाजन भएदेखि सुदूरको राजधानी दिपायल भएकोले ऐतिहासिक राजधानी पनि हो । हिमाल पहाड र तराईमा पाइने मौषम पनि बाताबरण पनि यो क्षेत्रमा छ । इतिहासमै प्राकृतिक बिपद्हरु बाढी, पहिरो, भूकम्प जस्ता बिपदहरुबाट दिपायल क्षेत्र सुरक्षित पनि छ ।

संघिय प्रदेशको राजधानी बनाउन बर्षौं र अर्बौ लगानी लगाउनुपर्ने हुन्छ । कैलालीमा राजधानी बनाउने हो भने सून्यदेखि कै सुरु गर्नुपर्छ साथै राजधानी बनाउन पर्याप्त जमिन छैन । त्यसका अलावा एकैपटक संघिय कार्यालयहरु स्थापना गर्न राज्यसंग अर्बौं बजेट छैन । दिपायलमा बनाउनलाई जमिन तथा भवनहरुको लागि समस्या झेल्नु पर्दैन । पर्याप्त भौतिक बाताबरण छ । नयाँ निर्माण भइसकेका र निर्माणाधीन भवनहरु थुप्रै छन । करिब ८ सय जनाभन्दा बढीसम्म अटाउन सक्ने मेघा हल छ जसले सार्वजनिक सभा, गोष्ठीहरु गर्न एकदम सहज हुन्छ ।

बिकासमा यो क्षेत्र अलि पछाडी परेका हुँदा दिपायलमा राजधानी बन्ने हो भने डोटीसंगै अरु जिल्लाहरुमा पनि बिकासका कामहरु अगाडी बढ्ने देखिन्छ । किनकी क्षेत्रीय सदरमुकाम भएको जिल्ला नै बिकसित नहुँदा अरु ठाउँमा बिकास हुन मुस्किल नै हुन्छ । भूूस्वर्गको उपमाले चिनिने खप्तड क्षेत्र पनि बिकासको पर्खाइमा छ । यसको मुल प्रबेशद्धार डोटी क्षेत्र मै भएकोले खप्तडमा पर्यटकहरु भित्र्याउन पनि सहज हुन्छ ।

सुरक्षाको दृष्टिले एकदम सुरक्षित ठाउँमा अवस्थित दिपायल क्षेत्र कुनै अन्तराष्ट्रिय सिमानामा नजोडिएकोले कसैको चोरी, चकारी, दलालहरुबाट मुक्त हुन सकिन्छ ।

डोटीको दिपायल राजधानी बन्ने एउटा आधार हो ८ वटै जिल्लाको नेतृत्व गर्न सक्नु । सबै जिल्लाको भाषा संस्कृति, रहनसहन, बेशभूषालाई डोटी उद्योग बाणिज्य संघले बर्षेनी आयोजना गर्ने क्षेत्रीय महोत्सबमा आफ्नो संस्कृतिलाई झल्काउने अवसर दिन्छ । एउटा सुदूरकै सद्भाबको पर्व पनि भन्छन यस महोत्सबलाई । यस्तै सम्भावना भएको हुँदा ७ नं प्रदेशको राजधानी दिपायल हुनुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार