मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा तालाबन्धि,

मतदान केन्द्रमा हिडेका कर्मचारीलाई फिर्ता बोलाएर कांग्रेस समर्थितलाई पठाउन लागेको आरोप

  मूलधार सम्वादाता  981 पटक हेरिएको

बाजुरा-  मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा बामगठबन्धका नेता तथा कार्यकर्ताले तलावन्दी गरेका छन् ।

निर्वाचन सामाग्री बुझेर मतदान केन्द्रमा हिडेका कर्मचारीलाई फिर्ता बोलाएर कांग्रेस समर्थितलाई पठाउन लागेको आरोप लगाउदै वाम गठबन्धनले कार्यालयमा तालाबन्दी गरेको हो । शनिबार कांग्रेस समर्थित कर्मचारी संघले निर्वाचनमा पार्टी निकटका कर्मचारी नपरेको भन्दै प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।

बाम गठबन्धनका नेताहरुले तालबन्दी गरेपछि कर्मचारी संगठनले कर्मचारीलाई फिर्ता बोलाउने निर्णय रद्द गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । तालिम लिएर मतदान केन्द्रमा खटिएका कर्मचारीलाई फिर्ता बोलाएकाले निर्णय रद्द गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको आधिकारी ट्रेड युनियन महासघका अध्यक्ष धनबहादुर थापाले बताए ।

ज्ञापनपत्रमा आधिकारी ट्रेड युनियन, निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, पेसागत महासंघ, राष्ट्रिय शिक्षक संगठनको संयुक्त हस्ताक्षर रहेको छ ।

विना कारण कर्मचारी हेरफेर गरेर निर्वाचन निश्पक्ष हुन नदिने षडयन्त्र भएको निजामती कर्मचारी संगठन बाजुराका अध्यक्ष मीनप्रसाद जैशीले बताए । सम्पूर्ण शिक्षकहरुलाई जवरजस्ती राजनीतक फित्तामा उभ्याएर निर्वाचन अवरुद्ध गर्ने गरी भएको क्रियाकलापप्रति आपत्ति रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन बाजुराका अध्यक्ष खडक शाहले बताए ।

पहिलेकै निर्णय बमेजिम कर्मचारी नखटाइए असहज स्थिति उत्पन्न हुने र त्यसको जिम्मेवारी निर्वाचन कार्यालयले लिनुपर्ने चेतावनी कर्मचारी संगठनहरुको छ । निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापनपत्रको बोधार्थ पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार