विजयी र आत्मविश्वास लागि वीरभद्रासन

  पत्रपत्रिका खबर  85 पटक हेरिएको

शिवलाई योगको सृष्टिकर्ता मानिन्छ। भगवान शिवको गाँजा, भाङ, धतुरो खाने, जिउमा खरानी घस्ने, बाघको छालाले जिउ ढाक्ने, कपाल लट्टा परेको ,घरबार केही नभएको जहाँ पायो त्यहाँ बस्ने डुली हिँडने रूपमा हिन्दु पौराणिक कथाहरूमा वर्णन गरिएको पाइन्छ। शिवका यी रूपहरूको प्रतिविम्ब भनेको मानिसमा रहेको अति नकारात्मक भाव रिस तथा क्रोधको प्रतिविम्ब हो।

मानिसमा रहेको नकारात्मक भावहरू डर, निराशा, ईश्र्या, घृणा, तिरस्कार आदि भावहरूको तीव्रतम र सघन रूप रिस तथा क्रोध हो। शिव स्वरूपले हामीलाई जहिले पनि ‘तिमी रहेको नकारात्मक भावहरू ममा समर्पण गर र तिमी निश्चल, निष्कपट र शान्त जीवन बाँच’ भनेर आह्वान गरिरहेको हुन्छ।

हामी पशुपतिनाथ जानुको मूल उद्देश्य पनि हामीमा रहेको सम्पूर्ण नकारात्मक भावहरू त्यागेर नयाँ स्वरूपमा शान्त र सकारात्मक भएर फर्कौं भन्ने हो। फेरि तपाईंहरूलाई लाग्नसक्छ योगासनको विषयमा कुरा गर्न किन शिवको प्रसंग ल्याउनुपरेको होला भनेर। शिवको प्रसंग यहाँ हामीले चर्चा गर्न लागेका योगासनहरूसँग प्रासंगिक भएकाले नै ल्याइएको हो।

मनोविज्ञानले पनि डर, निराशा, ईश्र्या, घृणा, तिरस्कारको द्वितीय तथा सघन परिणाम क्रोध हो भनेर मानेको छ। मनोविज्ञान र योग दुवैले आफूमा उत्पन्न हुने कुनै पनि सकारात्मक वा नकारात्मक भावलाई नरोक, जे जस्तो भाव उत्पन्न हुन्छ व्यक्त गर अनि मात्र तिमी मान्छे हौं भन्ने कुरालाई मान्छन्।

फेरि भाव व्यक्त गर्ने भन्दैमा रिस उठेमा सबैलाई कुट्दै हिँड्ने भनेको चाहिँ पक्कै होइन। उत्पन्न भावहरूलाई व्यक्त गर्न सिर्जनशील, रचनात्मक र क्षति नहुने उपायहरू खोज भनेको हो। जस्तै डायरी लेख्नु, कविता लेख्नु, चित्र बनाउनु, मन मिल्ने साथीलाई मनको कुरा भन्नु।

यदि त्यो पनि भएन भने एक्लै कोठामा कसैले नसुन्ने गरी रूनु, चिच्याउनु तर कसैलाई क्षति नपुर्याउनु। हामी जति उत्पन्न भावहरूलाई दबाउँछौं, त्यति ती भावहरू कुनै न कुनै रूपमा प्रकट भइरहेका हुन्छन्। अझ दबाइएका भावहरू झन् हानिकारक र विनासकारी रूपमा देखिन सक्छन्। त्यसकारण मानवीय प्रकृति र स्वभावका रूपमा रहने सकारात्मक र नकारात्मक भावलाई ढल मिसिएको वाग्मती वा कञ्चन बग्ने कर्णाली नदीसरि बग्न दिनुपर्छ अनि पो हामी सफा हुन्छौं। हामी आत्मविश्वास र विजयी भावले भरिपूर्ण मान्छे बन्न सक्छौं।

वीरभद्रासनको पौराणिक प्रसंग-हाम्रो धर्मशास्त्रहरू, स्वस्थानी ब्रतकथा तथा शिवसँग सम्बन्धित अन्य पौराणिक कथा अनुसार, भगवान शिवको माथि वर्णन गरिएजस्तो मस्त मौलाना स्वभाव र स्वरूप दक्ष प्रजापतिलाई मनपरेको थिएन। दक्ष प्रजापतिका १६ छोरीमध्ये कान्छी छोरी सतीसँग ब्रम्हाको आग्रहमा शिवले विवाह गरेका थिए। उनलाई यो कुरा मनपरेको थिएन।

एकदिन उनले यज्ञ आयोजना गरेका थिए। त्यो यज्ञमा सबै देवीदेवतालाई बोलाए तर जानीजानी शिव र सतीलाई बोलाइएन। जब सतीले यो कुरा थाहा पाइन् उनले अत्यन्त अपमानित महसुस गरिन् र यज्ञस्थलमा गई यज्ञकुण्डमा हामफालिन्। ध्यानद्रष्टा शिवले यो कुरा थाहा पाए र अत्यन्त क्रोधमा आएर आफ्नो एक लट्टा कपाल फाले।

त्यसबाट काली उत्पन्न भइन्। दोस्रो लट्टा फाल्दा वीरभद्र उत्पन्न भए। शिवले उनीहरूलाई दक्ष प्रजापतिको यज्ञ ध्वंश गर्ने आज्ञा दिए। वीरभद्र यज्ञमा जसरी पनि विजयी हुनुपर्छ भन्ने भावमा दुवै हात माथि, एक खुट्टा अगाडि र पछाडि राखी यज्ञस्थलमा प्रकट भए।

यसलाई योगासनमा ‘वीरभद्रासन प्रथम’ भनी नामकरण गरिएको छ। त्यसपछि उनले दुवै हात जमिनको समानान्तर राखी तरबार निकाली दक्ष प्रजापतिको टाउको छिनाए। यसलाई ‘वीरभद्रासन द्वितीय’ भनी नामकरण गरिएको छ र अन्तिममा टाउको हातमा लिई सम्पूर्ण शरीर जमिनमा समानान्तर राखी एकमात्र खुट्टाको भरमा उभिएको आसनलाई ‘वीरभद्रासन तृतीय’ नाम दिइएको छ।

यो कथाको अन्तिममा फेरि वीरको अर्थ नायक हुन्छ भने भद्रको अर्थ साथी भन्ने हुन्छ। वीरभद्रासनका यी आसनहरूले पौराणिक कथालाई भन्छन्। वीरभद्र शिवको क्रोधित रूप हो। यी योगासनको नाम यसरी रााखिएको छ।

अब यी आसनहरूको हाम्रो शरीर, मस्तिष्क र भावहरूमा पार्ने असरबारे चर्चा गरौंः

वीरभद्रासन प्रथम-
– लामो गहिरो सास लिनुहोस् यो उभिएर गर्ने आसन भएकाले ताडास (सिधा रूखजस्तै उभिने आसन) मा उभिनुहोस्।
– सास छोड्दै दुवै खुट्टालाई ३ देखि ४ फिटको दूरीमा फट्टाउनुहोस्।
– सास लिँदै अगाडिको दायाँ खुट्टालाई जस्ताको तस्तै राखी ९० डिग्री कोणमा राख्नुहोस्।
– सास छोड्दै पछाडिको खुट्टा सिधा राखी पैतालालाई ४५ डिग्री कोणमा भित्रतिर ल्याउनुहोस्। कम्मर सिधा अगाडितिर फर्किएको हुनुपर्छ।
– सास लिँदै दुवै हात माथितिर लानुहोस्।
– यही मुद्रामा सामान्य गतिमा सास लिँदै ३० सेकेन्डदेखि १ मिनेटसम्म रहनुहोस्।
यो मुद्रामा रहँदा वीरभद्र जसरी पनि जितेर आउँछु भन्ने भावमा प्रस्तुत भएका थिए, त्यसरी नै आफूमा रहेको नकारात्मक भाव, अल्छीपनलाई जित्छु र फत्ते गर्नुपर्ने कामहरू गरी छाड्छु भन्ने विचार राख्नुहोस्।

कोरोना भाइरसलाई म जित्न सक्छु, म मेरो शरीरलाई कोरोनासँग लड्न योग्य बनाउँदै छु भन्ने कुरा पनि मनमा ल्याउनुहोस्। आत्मविश्वासी भएको कुरा आफैंले आफैंलाई भन्नुहोस्।

वीरभद्रासन द्वितीय –
– सास छाड्दै दुवै हात जमिनमा समानान्तर फैलाउनुहोस्।
– सासको गति सामान्य राख्नुहोस्।
– अगाडितिर औंलाका टुप्पाहरूमा ध्यान दिएर हेर्नुहोस्, जसरी वीरभद्रले दक्ष प्रजापतिको टाउको छिनाउनुभन्दा अघि दृढ निश्चयी भएर मन र शरीरको भाव बनाएका थिए।
– आँखा तथा अनुहारमा दृढ निश्चय झल्केको भाव ल्याउनुहोस्।
– ३० देखि १ मिनेटसम्म यथासनमा रहनुहोस्।

यो आसनले तपाईंमा म त्यो काम गर्छु गर्छु भन्ने दृढता र आत्मविश्वास जगाउँछ। समयानुकूल अझ म त्यो कोरोनालाई जित्छु जित्छु भन्ने भावना ल्याउन यस आसनले सहयोग गर्छ।

वीरभद्रासन तृतीय-अब सास लिँदै पछाडिको खुट्टालाई हल्का अगाडि ल्याउनुहोस्।
– सास छोड्दै अगाडिको घुँडा हल्का खुम्च्याउँदै नलीखुट्टालाई चाहिँ सिधा राख्नुहोस्।
– सास छोड्दै पछाडिको खुट्टालाई माथितिर उचाल्नुहोस्। दुवै हातलाई कानको बराबर हुनेगरी अगाडि ल्याई सिधा राख्नुहोस्।
– अब अघि खुम्च्याएको घुँडालाई सिधा पारी सम्पूर्ण शरीर सिधा राख्नुहोस्।
– अब सम्पूर्ण शरीर र मनमा विजयी भाव ल्याउनुहोस्।
– ३० देखि १ मिनेटसम्म यथासनमा रहनुहोस्।

वीरभद्रले जसरी दक्ष प्रजापतिको टाउको छिनालिसकेपछिको विजयी भावको कल्पना गर्नुहोस्।आफूले पनि नकारात्मक भाव जितेको र कोरोना जित्ने आत्मविश्वास अझ बलियो भएको महसुस गर्नुहोस्। दायाँ खुट्टा अगाडि राखी गरिने वीरभद्रासनका सबै आसन गरिसकेपछि बायाँ खुट्टा अगाडि राखी गरिने वीर भद्रासनका आसनहरू गर्न चाहिँ नछुटाउनुहोस्।

अब यी आसनहरूले हाम्रो शरीर मन र भावमा के कस्तो फाइदा पुर्याउँछन् भन्नेबारेमा विस्तृत चर्चा गरौं : वीरभद्रासन प्रथम–शरीरमा फाइदा :

खुट्टा, तिघ्रा, ह्यामस्ट्रिङ, ग्लुट्सलाई फाइदा पुर्याउँछ। कसैकसैलाई खुट्टाका मांसपेसीहरू भित्रतिर तान्न गाह्रो हुने हुन्छ, त्यसलाई पनि सजिलो बनाउने गर्छ। पछाडि पैतालालाई खुट्टा तन्काए पनि सजिलै जमिनमा राख्न सकिने बनाउँछ। कम्मर र नितम्बको सम्पूर्ण हाड स्थिर र सन्तुलित राख्न मद्दत मिल्छ।

मानसिक फाइदाः शरीर तथा मनको सचेतताका लागि अत्यन्त राम्रो आसन हो। कसरी पैताला राखिरहेको छु? कसरी खुट्टा हात तन्काइरहेको छु? मेरो शरीर र मन सन्तुलनमा छ कि छैन? जस्ता कुराको ध्यान राख्न यसले मदत गर्छ। एकाग्र मनचित्त विकासका लागि यो आसन सहयोगी छ। मस्तिस्क बलियो भयो भने शरीर र भाव बलियो हुन्छ। शरीरको अवस्था र मानसिक चुनौतीले समन्वयात्मक भूमिका खेल्यो भने मन र शरीरलाई एक ठाउँमा ल्याउन सकिन्छ।

भावमा फाइदाः यो आसन खुला हृदय र साहस बटुल्न अत्यन्त उपयोगी आसन हो। सम्पूर्ण मन र शरीरलाई बलियो पारेर राख्ने आसन भएकाले अन्तरमनदेखिको विश्वास र साहस एक ठाउँमा ल्याउँछ। मानसिक तथा भावात्मक बलियो व्यक्तित्व निर्माणमा सहयोगी छ। यो आसन अभ्यास गर्दै जाँदा तपाईंले आफूमा फेरिएको र बदलिएको पक्कै महसुस गर्नु हुनेछ।

वीरभद्रासन द्वितीय–शरीरमा फाइदा : वीरभद्रासन प्रथम भन्दा यसले झनै सशक्त रूपमा तपाईंको खुट्टा, पैताला, हात, माथिल्लो शरीर, कम्मर, नितम्ब, पेट, काँध, पाखुरालाई फाइदा गर्छ। यदि तपाईंले सही रूपमा यो आसन गरिरहनुभएको छ भने पक्कै पनि शरीरको माथिल्लो भागदेखि लिएर तल्लो भागसम्म बलियो बनाउँछ।

मानसिक फाइदा : यो आसन पहिलोभन्दा चुनौतीपूर्ण भएकाले पक्कै पनि यसले दिने फाइदा दोब्बर छ। जसरी हामीले अनावश्यक रूपमा दैनिक आइपर्ने कुरालाई बोझको रूपमा लिइरहेका छौं। त्यसको उचित समाधान र अवतरण के हुनसक्छ? भन्ने कुराको ज्ञान पनि यो आसनले दिन्छ। आसनलाई रोकिराख्दा हामीलाई गाह्रो भयो भने हाम्रो शरीर र मनले कसरी सहज र सन्तुलित रूपमा अड्याइराख्ने भन्ने कुरा खोज्न थाल्छ अनि हामी त्यसका लागि तत्पर हुन्छौं। यो आसनले समस्यामा रुमल्लिइरहन होइन समाधानमा जान सिकाउँछ।

भावमा फाइदा : यो आसनले म काम फत्ते गर्छु गर्छु, म जितेर आउँछु आउँछु जस्ता भावनाको विकास गर्छ। जस्तोसुकै अवस्थामा पनि आँट भर्ने र जीवनलाई सहज रूपमा अगाडि जाने बाटो देखाउँछ। सहनशीलता, आत्मविश्वास र विजयी दृष्टिकोण यसका फाइदा हुन्।

वीरभद्रासन तृतीय-शरीरमा फाइदा : यो आसन सन्तुलन र स्थिरताको उच्चतम अभ्यास हो। एक खुट्टाले सम्पूर्ण शरीरको भार बहन गर्नुपर्ने भएकाले यसले खुट्टाका साथै सम्पूर्ण शरीर बलियो बनाउँछ। सम्पूर्ण मांसपेसीहरू सक्रिय तथा बलियो बन्छन्। आन्तरिक अंगहरू पनि सक्रिय भई सम्पूर्ण शारीरिक प्रणाली सर्तक हुन्छ।

मानसिक फाइदा : यो मन र शरीरका लागि उच्च सर्तकता र सन्तुलन कायम राख्नुपर्ने आसन हो। यो अन्य आसनभन्दा मानसिक र शारीरिक रूपमा चुनौतीपूर्ण आसन हो। मनको एकाग्रताबिना यो आसन गर्न असम्भव भएकाले एकाग्रता ल्याउँछ।

भावमा फाइदा : खेल वा जीवनका अन्य मोडमा अत्यन्त संघर्षपछि प्राप्त गरिने सफलताले मैले पाएँ अर्थात जितें भन्ने भाव दिन्छ त्यस्तो खालको भाव यो आसनले दिन्छ। चुनौती र कठिन समय मेरा लागि केही होइन र थिएन भन्ने भरपूर साहस र आत्मविश्वासी भाव पैदा गर्छ। नकारात्मक भावलाई सही दिशा, मार्गनिर्देशन दिएर उचित अवतरण गराउँछ।

सावधानी :
– खुट्टा, घुँडा, गोलीगाँठोमा समस्या भएकाहरूले नगर्ने
– उच्च रक्तचाप र घाँटीमा समस्या भएकाहरूले नगर्ने
– गर्भवती महिला र महिनाबारी भएका महिलाहरूले नगर्ने
– चिकित्सकको सल्लाह लिने
– दक्ष प्रशिक्षकको सहयोग र मार्गनिर्देशनमा गर्ने

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार