केपी कदम र रित्ताे गोठ्का उपियाँहरु

  पत्रपत्रिका खबर  134 पटक हेरिएको

दयालबहादुर शाही – नेपाल र भारत दुवैमा संसदीय व्यवस्था छ । सरकार वेस्टमिन्स्टर प्रणालीकै छ । सत्तारुढ दलको संसदमा दरिलो उपस्थिति पनि उस्तै छ । सत्तारुढ दलको कार्यकर्ता पंक्तिले विगतका दशकमा पाएको सास्ती सृंखला र उन्नत चेत पनि हाराहारीकै हो । यति हुँदाहुँदै पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टी भित्रबाट सताउनेको अभाव छैन भने उता भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सघाउनेहरुको अभाव छैन । उता राजनाथहरुको त्याग, दूरदर्शिता, सुझबुझ र निष्ठाले गर्दा भाजपा र मोदीलाई ढुक्क छ । यता झलनाथ खनालहरुको लोभ लालच, इष्र्या, अपरिपक्वता र कुण्ठाले नेकपा र ओलीलाई दिक्क छ । उता राष्ट्रिय स्वार्थ हेरी मोदीलाई अघि सार्ने र सघाउने राजनाथ, यता निजी स्वार्थ हेरेर ओलीलाई अघि बढ्न र टिक्नबस्न नदिने झलनाथ । नेकपाको समस्या यहीँनेर छ ।

नेपालमा ओली लहर र भारतमा मोदी लहर दक्षिण एशियाको राजनीतिको मूल प्रवृत्ति हो । नेकपालाई उठाउने ओली लहर हो भने भाजपालाई उठाउने मोदी लहर हो । यो सत्यमाथि धावा बोल्ने भाजपामा कोही भेटिँदैनन् । एक अपवाद शत्रुधन सिन्हालाई भाजपाले मुहतोड जवाफ दिइसकेको छ । नेकपामा भने सूर्य हत्केलाले छोप्नु सरहको धृष्टता गरेर नैतिक निर्वस्त्रीकरणलाई रोज्नेको कमी छैन । किनकी भारतमा सत्तारुढ भाजपामा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्ने संस्कार छ । जुँगाको लडार्इँ थाती राखेर लालकृष्ण आडबाणी, राजनाथ सिंह, बेनकैया नायडु, नीतिन गडकरी र अमित शाहले मोदीलाई आँत र दाँतदेखि साथ दिएको स्थिति छ ।

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्ने संस्कार नेपालमा बिकास भइसकेको छैन । यसप्रकारको चेत अस्थिर र अवसरवादीलाई रुचिकर लाग्दैन । किनकि अस्थिरतामै अवसरवादी राजनीतिकर्मीको प्राणपखेरु अडिएको हुन्छ । स्थिरता निजी स्वार्थका लागि बाधक हुने भएकाले पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र खनालहरुको घेरावन्दीमा ओली परेको स्थिति छ । ओली मात्र नभई नेपालका प्रधानमन्त्रीको नियति नै महाभारत युद्धमा चव्रmव्यूहको बेला द्रोण, कृप, कर्ण, दुर्योधन, अश्वस्थामा, दुष्शासन, आदि महारथीहरुको घेरावन्दीमा परेर मारिएका अभिमन्युको जस्तो हुने गरेको छ ।

यसर्थ अहिले नेकपाको मझौला पुस्ता र आमपंक्तिका लागि प्रधानमन्त्रीको बचाउ र निरन्तरताको मुद्दा ज्वलन्त र महत्वपूर्ण बन्न पुगेको छ । सात दशकसम्म भारतको मियोको रुपमा रहेको कांग्रेस आईलाई धक्का दिएर उदाएको भाजपाले लामो समयसम्म अन्य दलको घेराबन्दीमा परेको तीतो अनुभवबाट गतिलै सबक लिएको देखिन्छ । नेकपाको सबैभन्दा कमजोर तन्तु पूर्व एमालेको नोकरशाही हिस्सा हो । एक मिटर पर नदेख्ने दूरदर्शिता, गनाएका मोजा सँुघ्ने घ्राणशक्ति र नजिकै ढोल पिटेको नसुन्ने श्रवणशक्तिको त्रिवेणी मानिने यो हिस्सा, जसको भाग्यको उदय नै अस्थिर राजनीति, त्रिशंकु संसद, मूल नायकको अवशान, पार्टीको विभाजन वा चुनावी पराजयका कारणले काकताली परेर भएको छ ।

मदन भण्डारी र मनमोहन अधिकारीको अवशान बिना माधवको उदय कल्पना गर्नै सकिँदैन थियो । २०६४ सालमा एमाले चुनाव नहार्दो हो त झलनाथको पुनरुत्थान सम्भव थिएन । आज पनि केपी ओली र प्रचण्ड मिलाउने वामदेव गौतमको पहल बेलाबेलामा संकटमा नपर्दासम्म माधव र झलनाथको सकिएको सान्दर्भिता छोप्ने अर्काे कुनै उपाय छैन । निजी लाभ हेरेर शान्त पोखरीमा ढुंगा हानेर अशान्त पार्ने यस हिस्साको बानी छ । ओली बिना यस हिस्साको हालत रित्ता गोठका उपैयाँको जस्तो रहने हुनाले आत्तिहाल्नुपर्ने स्थिति भने छैन । ढुक्कले ओलीलाई काम गर्न दिइँदैन भने एमाले पुनर्गठनको ढोका ढक्ढकाइ हाल्ने लय र तालले नै नेकपालाई लक्ष्यवर्ती पार्टी बन्न दबाब दिने देखिएको छ ।

त्यागले गिर्न दिँदैन । लोभले उठ्न दिँदैन । राजनीतिको यो आधारभूत मूल्यलाई ठाडै चुनौती दिने राष्ट्र र राजनीतिक दल चाँडै नष्ट भ्रष्ट हुन्छ । त्याग, धैर्य, निष्ठा, अनुशासन र कुर्बानीको मेरुदण्ड भएकाले नै राजनीति सबै नीतिको राजा मानिएको हो । प्रत्येक राजनीतिक शक्ति केन्द्र, शक्ति र महाशक्तिहरुको जग त्याग, निष्ठा र अनुशासन हो । उदाहरणका रुपमा स्वतन्त्रता संग्रामपछिको अमेरिका, स्वतन्त्रतापछिको भारत, आजको भाजपाको पुनरुत्थान र पूर्वएमालेले पाएको पुनर्जीवनलाई लिन सकिन्छ ।

सन् १७८६ मा स्वतन्त्र अमेरिका बेलायतबाट स्वतन्त्र भएपछि अमेरिकी प्रथम राष्ट्रपति जर्ज वासिंगटनले ‘म नै राजा हुन्छु’ भनेको भए प्रतिवाद गर्न सक्ने कोही थिएनन् । संसारमा कहिल्यै सूर्यास्त नहुने बेलायती साम्राज्यसँगको युद्धमोर्चाहरुमा हारको मुखबाट जिताएकाले व्रmान्ति सेनाका ‘कमाण्डर इन चिफ’ वासिंगटनप्रति कृतज्ञ हुँदै जनसमुदाय पनि उनलाई अमेरिकाको राजाको रुपमा हेर्न आतुर थियो । वासिंगटनले आफू राष्ट्रपति हुने, राजा नहुने निर्णय लिएर त्याग गरे । राजतन्त्रले उनका नातापाता र शाखा सन्तानलाई अवश्य बलियो बनाउँदो पनि हो तर आन्तरिक छलकपट, अहंकार, असहिष्णुता र प्रतिभामाथिको निर्ममताको पर्याय मानिने राजतन्त्रले अमेरिकालाई यतिको बलियो बनाउन सक्दैन थियो । यसरी वासिंगटनले सुरुवातमै त्यागको आड दिएर शिशु अवस्थाको राष्ट्र अमेरिका र आफ्नो समेत एकैसाथ उद्दार गरे ।

त्यागकै वलमा स्तन्त्रता यता भारतले पनि विश्व समुदाय माझ गर्बिलो उपस्थिति जनाउन सकेको छ । महात्मा गान्धी प्रेरित भारतीय राष्ट्रिय कांग्रेस त्याग र धैर्यको दोभान बन्न सक्ने प्रतिभाहरुको धनकुबेर भएकैले आन्दोलनलाई लक्ष पुर्‍याउन सफल भएको थियो । जवाहरलाल नेहरु र वल्लभभाइ पटेलको प्रधानमन्त्री पदका लागि भएको टसललाई महात्मा गान्धीले सुल्झाएकाले नेहरुको नेतृत्वमा भारतले राजनीतिक स्थायित्वको मेरुदण्ड पायो । इन्दिरा गान्धीको पालादेखि लर्खराउन सुरु गरेको भारत १९९६ तिर अटल विहारी वाजपेयीको उदयमा आएर बल्ल समालिन थाल्यो । सन् १९७७ मा मोरारजी देसाइ सरकारमा विदेश मन्त्रीको कार्यकाललाई अपवादमा राख्ने हो भने लगातार चार दशक विपक्षी दलको नेताको हैसियतले वाजपेयीले हासिल गरेको छवीसँगै कांग्रेस आईको जबरजस्त बिकल्प बन्न भाजपा सकेको थियो ।

देशका निम्ति जीवन समर्पित गर्न जान्ने राजनेताको रक्षा जनता स्वयंले गर्छन् । प्रतिपक्षी गठबन्धनले ३१ मे १९९६ प्रधानमन्त्री भएको १३ दिनमै अटलविहारीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य पारेपछि भारतभर उर्लिएको सहानुभूतितिर संकेत गर्दै लेखक एम. पी. कमल आफ्नो पुस्तक ‘अटल बिहारी वाजपेयी’मा लेख्छन्– ‘जब अटलबिहारी वाजपेयीको नाम प्रधानमन्त्री पदको लागि भनेर सञ्चारित भयो, जनतामा खुशीको लहर छायो । आफ्नो ४० वर्ष लामो संसदीय यात्राको दौरानमा अटलजीले भारतीय जनतामाझ जुन छवि आर्जन गरेका थिए त्यसप्रति हरेक भारतीयलाई गर्व थियो ।

राजनीतिक बिरोधलाई यदि एकातिर राखिदिने हो भने यो भन्नु अतिशयोक्ति नहोला कि जोकोही पनि अटलबिहारीलाई देशको सर्वाेच्च पदमा आसिन रहेको देख्न चाहन्थे, हरेकमा यो विश्वास थियो कि अटलजी जस्तो कुनै अर्को नेता हिन्दुस्तानमा छैन, हरेकमा यो उत्कट चाहना थियो कि अटलजीलाई राष्ट्रको सर्वोच्च जिम्मेवारी सुम्पिनु पर्छ र उनले आफ्ना राजनीतिक अनुभव, व्यक्तित्वको शालिनता, स्पष्ट दृष्टिकोणको बलमा यस देशमा जोडतोडले फैलिएको भ्रष्टाचार, अवसरवादिता, अकर्मण्यता, तथा राजनीतिक गिरावट, राष्ट्रबिरोधी तुष्टिकरणबाट जनतालाई मुक्ति दिन सकुन् र नैतिकता, कर्तब्यपरायणता, राष्ट्रियताको ग्राफलाई माथि उठाउन सकुन् ।’

२०७३ सालमा केपी ओलीलाई सत्ताच्यूत गर्ने हर्कतप्रति पनि नेपाली जनतामा यस्तै व्यापक रोष र ओलीप्रति श्रद्धा, सहानुभूति र विश्वास प्रकट भएको थियो । हालै नेकपाभित्रैबाट रचिएको ओली बिरोधी चव्रmव्यूह विफल हुनुमा पनि जनताको ओलीप्रतिको अटुट विश्वास बलियो आधार हो । सत्ताच्युत पार्न खोज्दा अटलबिहारी वाजपेयीको जस्तो जनताको सहानुभूतिको छाल उठ्नु र चुनावमा जाँदा मोदीको जस्तै ओलीको पक्षमा जनसमर्थनको उछाल उठ्नुले पनि नेकपा र भाजपाको स्थिति मिल्दोजुल्दो छ । हामीले पनि यही पार्टीमा हड्डी घोटेर जीवन बिताएका छौं भनेर औसत नेताहरुले प्रभावशाली नेताको रिस नगर्ने होइनन् । जब विरलै मात्र छर्लंग हुन रुचाउने सच्चाई सबैको सामु अवतरित हुन्छ, तब प्रतिभाको आरिस गर्नेको मुखमा बुझो लाग्ने गर्दछ ।

माधवको पालामा एकपछि अर्काे अनुकूलता र सम्भावनाको भु्रण हत्या भयो तर शीर्ष पदमा नरहेर पनि, पार्टीका शीर्ष हस्तीहरु नै माओवादीका गोटी भइरहेको अवस्थामा पनि ओलीले एमालेको उद्धार गर्दै ओली लहरको सौभाग्य थमाई दिनु प्रभावशाली नायकले छोड्ने प्रभावको ज्वलन्त उदाहरण थियो । त्यस्तो उदाहरण भाजपामा पनि छ ।

सन् २००९ मा लालकृष्ण आडवाणीलाई भाजपाले भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दा भाजपा झन् खुम्चिन पुगेको थियो भने त्यसपछिका दुईटा चुनावमा मोदीलाई अघि सारेर चुनावमा जाँदा मोदी लहरको उछालसहित भाजपा ६ दशक राज गरेको कांग्रेस आईको जबरजस्त बिकल्प बन्न सक्यो । अघिल्लो पुस्ताका नेताको ओछो राजनीति र ध्वस्त छवीका कारण बाउन्न हण्डर त्रिपन्न मार खाएर फिनिक्स पंक्षीझै फेरि उठ्न सक्नुका हिसाबले पनि नेकपा र भाजपामा सादृश्य छ । भाजपा सन् १९७७/७८ मा मोरारजी देसाई र चौधरीचरण सिंहको झुर राजनीतिक सम्बन्धले निम्त्याएको महासंकटबाट पाठ सिक्दै उठेको हो भने नेकपा २०६७/६८ सालतिर माधव र झलनाथले पस्किएको ओछो राजनीतिको मारमुंग्रीमा परेर बडो मुस्किलले जोगिएको पार्टी हो ।

निष्कर्ष-पूर्व एमालेमा भगडा कम भएर वा तुषको अभाव भएर माओवादीसँग एकताको हात अघि बढाइएको थिएन । पाए देशले स्थिरता, समृद्धि पाउने, नेपालको वामपन्थी आन्दोलनले पोल्टाभरि सौभाग्य पाउने र परे आफ्नो राजनीति मात्र धरापमा पर्ने जान्दाजान्दै पनि ओलीले जोखिम उठाएको गुण चिन्नलाई एक युग आउने छ । एकातिर झलनाथ र माधवबाट सिस्नोको माला छँदाछँदै प्रचण्डबाट काउसोको मालाको खतरा मोलेर ओलीले गरेको त्यागलाई कार्यकर्ता र जनताको अदालतबाट पर्याप्त गोडमेलको दरकार छ । एमाले विभाजन कालदेखि नै ओली खेमा र गौतम खेमालाई नेपाल र खनालले हड्डी फालेर झगड्याउँदै आएको सिलसिला थियो । संसदीय दलको नेतामा झलनाथको हार र पार्टी अध्यक्षमा माधवको हारका दोहरा तुषको निशाना ओलीतिर सोझिएकै थिए ।

पार्टी एकतापछि प्रचण्डले समन्वय र समझदारीको दिगो बाटो नहेरी र्टी सुकाइदिएको रिस यति चाँडै फेर्न खोज्नु पाको राजनेताको परिपक्व राजनीति होइन । यसले ओलीलाई एमाले पुनर्गठन गर्न बाध्य पार्नेछ । ओली बिना ‘प्रचण्ड, नेपाल र खनालको बाँकी जीवन रित्ताे गोठका उपियाँको जस्तो हुनेछ’ भन्नुलाई अहिले धम्की ठानिएला तर हुने यस्तै हो । धेरै दुख गरेका छौं भनेर कहाँ हुन्छ र ? पात्रहरु धैर्य गरे केपी हुन्छन् र धैर्य नगरे सीपी हुन्छन् । ओलीको आरिस गर्नु पूर्व आफ्नो औकात नभुल्न र ६० को दशकमा जस्तै एक मजाक नगर्न नेतात्रयमाथि चारैतिरबाट दबाब बढ्दो छ । बहर छँदाका नेतात्रयलाई दाउन सक्ने ओलीसँग बुढो गोरुको क्लबलाई हैसियत देखाइदिने आँट पनि सदावहार खालको छ । धैर्य एक यस्तो जादु हो जसले प्रतिकूलतालाई अनुकूलतामा बदलिदिन्छ ।

असली पत्थर आफैंमा केही बन्न चाहन्छ जुन आफसेआफ कुशल कालिगढको हातमा पुग्छ । मझौला पुस्ताका नेताहरुको कदमले नेकपाको सौभाग्य अटल रहेको कुराको संकेत गरेको छ । लोभलालचको राजनीतिले नेकपालाई परेको क्षतिको पुरताल सुझबुझले गर्दैछ । रामबहादुर थापा(बादल), टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङग, दिनानाथ शर्मा, मणि थापा, देवेन्द्र पौडेल लगायतका नेताहरुकाे सुझबुझ र परिपक्वताले नेकपामा लालची युगको अन्त्य गर्ने र निष्ठाको राजनीति बहाली गर्ने देखिएको छ । सनराइजखबरबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार