आदर्श सकिएको कम्युनिष्ट पार्टी

  पत्रपत्रिका खबर  137 पटक हेरिएको

एक समय थियो, सोभियत रुसमा घाम लाग्दा या चीनमा पानी पर्दा नेपालका कम्युनिष्ट युवा वाद-विवादमा उत्रिन्थे । कम्युनिष्ट पार्टी कस्तो हुनु पर्छ ? कसरी कम्युनिष्ट क्रान्ति सम्पन्न गर्नु पर्छ ? भन्ने सवालमा उनीहरू जमेर अध्ययन गर्दथे । विचार र सिद्धान्त अनुरूप सङ्गठन निर्माण गर्न मरीहत्ते गर्दथे । पार्टी सङ्गठन चुस्त, कमिटी पद्धतिमा अटुट विश्वास, सादगी, मितव्ययी, नम्र, शिष्ट, भद्र, जनप्रिय, अनुशासित, पार्टी र सिद्धान्तप्रति प्रतिबद्ध रहन प्रतिस्पर्धा चल्दथ्यो । क्रान्तिकारी बन्ने जोसमा छलफल र अन्तर्क्रिया मार्फत जीवन्त पार्टी निर्माण गर्नु भन्दा पार्टी फुटाउनु सामान्य मानिन्थ्यो ।

मूल सिद्धान्त एकै भएपनि कार्यनीतिको सवालमा टुक्रिएका थुप्रै कम्युनिष्ट पार्टीहरू अनेक समस्याको बाबजुद नेपाली माटोमा मौलाइरहेका थिए । मतपत्रबाटै सत्तामा पुगेर जनताको सेवा गर्ने लक्ष्य राख्दा संविधान निर्माणमा कम्युनिष्टहरूले महत्त्वपूर्ण भूमिका निभाए । संविधानसभाद्वारा निर्मित संविधानको कार्यान्वयन गर्ने समयमा सम्पन्न हुँदै गरेको स्थानीय निर्वाचनमा ठुला दुई कम्युनिष्ट पार्टीको मन मिल्न सकेन । प्रचण्ड – देउवा गठबन्धनको बाबजुद पूर्व एमालेले प्राप्त गरेको नतिजालाई ओली – प्रचण्डले सूक्ष्म विश्लेषण गर्दा ६०-४० को वाम गठबन्धनले जन्म लियो । आम निर्वाचनको नतिजा पश्चात् सैद्धान्तिक एकता गर्नुको सट्टा दुई कम्युनिष्ट पार्टीहरू ‘कानेखुसी ‘ सिद्धान्तमा एक भएको सजाय नेकपामा ‘ओली – प्रचण्ड’को दु:ख बनेर प्रकट भएको छ ।

नेकपा निर्माण पश्चात् पार्टी पद्धति संस्थागत गर्दै सरकार सञ्चालन गर्न नचाहने, आफ्नै गुट, लहड र दम्भको आधारमा सरकार र पार्टी सञ्चालन गर्ने, अनुपयुक्त र पदीय मर्यादा विपरीत आफ्नै सहकर्मी र सहयोद्धा साथीहरूलाई समेत विदेशी दलाल देख्ने प्रधानमन्त्रीको कार्यशैलीको कारण कचल्टिएको पार्टीभित्रको अन्तरविरोधले उचित निकास फेला नपार्दा स्थायी समिति बैठक तिक्ततामा परिणत भएको छ । प्रधानमन्त्रीकै असावधानीले सिर्जना गरेको तमाम गडबडीको कारण पार्टी र सरकार कमरेड ओलीबाट नचल्ने निचोड सहित बहुमत स्थायी समिति सदस्यले अध्यक्ष ओलीको राजीनामा मागेसँगै स्थायी समिति बैठक निकास दिन नसकेर पटक-पटक स्थगित हुँदै आएको छ ।

स्थायी समितिको निर्णय आफूले नमान्ने, प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने, बैठकमा उपस्थित समेत नहुने प्रधानमन्त्री ओलीको अडानपश्चात् पार्टीमा ‘संवाद शून्यता’को अवस्था सिर्जना हुन पुग्यो । पार्टीमा दोस्रो तहका नेताहरूको दौडधुप र दबाब पछि संवादको थालनी भए पनि निकास देखा परेको छैन । यसै समयमा मुलुकमा आएको प्राकृतिक विपत्तिलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पार्टी भित्रको गम्भीर अन्तरकलह र असहमतिलाई सार्वजनिक रूपमा स्वीकार गर्दै भनेका छन् । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन्। यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो ।

“पार्टीभित्र हुने छलफल, बहस र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ,” उनले भनेका छन् । प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको स्वीकारोक्ति पछि नेकपाभित्र अहिले देखा परेका जटिलताको जन्म किन र कसरी भयो ? भन्ने सवाल आम कार्यकर्ताले बुझ्नु जरुरी भएको छ ।

कम्युनिष्ट पार्टीको प्राण भनेको विचार, सिद्धान्त, सङ्गठन, आदर्श, अनुशासन, विधान हुन । संसदीय राजनीतिमा प्रवेश गरेसँगै राजकीय सुख सुविधाको निम्ति कम्युनिस्ट गहना मिल्काउन नेतृत्व राजी हुनु नै वर्तमान समस्याको मूल जरो हो । जसरी भए पनि पार्टी कब्जा गर्ने, नेतृत्वमा पुग्न तमाम विधि, विधान र आदर्शलाई तिलाञ्जली दिने पार्टी नेतृत्वको कारण कम्युनिस्ट आदर्श समाप्त हुन पुग्यो । पार्टी प्रणालीलाई स्वार्थको डोरीले बाँध्ने, शरीर ठुलो बनाउने नाममा ट्यापे, मुन्द्रे, हप्ताखोर, प्राकृतिक स्रोत र साधनको दुरुपयोग गर्ने मानिसलाई पार्टीमा भित्र्याउने कारण गुटगत नेता बलियो हुँदै गए तर कम्युनिष्ट पार्टी दिन प्रतिदिन कमजोर हुन पुग्यो । भौतिकवादको दल दलमा फस्दै जानु, संसदीय राजनीतिमा जम्न बिचौलिया, दलाल र स्वार्थ समूहसँग अनुपयुक्त सम्बन्ध बढाउने, महँगो संसदीय राजनीतिमा सफल हुन आफ्नै आदर्श र फलामे अनुशासन त्याग्नु, वर्गीय चिन्तन र जीवनशैली त्याग्दै वर्ग समन्वयवादी र भौतिकवादी बन्ने अवस्था पार्टी नेतृत्वबाटै मलजल गरिनुले पार्टीको शरीर मोटाउँदै गयो भने कम्युनिस्ट गुण र आदर्श बिलाउँदै गयो ।

नेतृत्वको निजी स्वार्थ नै वर्तमान सङ्कट :-पार्टीलाई विधान अनुसार सञ्चालन गर्दा आफै बाँधिने, कमिटी प्रणालीमा चल्दा आफ्नो अधिकार कटौती हुने, मनोमानी गर्न नपाइने, ‘बा’ बन्दै अनुपयुक्त पात्रलाई आशीर्वाद दिन नपाइने हुँदा कम्युनिष्ट पार्टीको प्रमुख पेचकिला जानाजान खुस्काइयो। अनुशासित, गतिशील, क्रियाशील, वैचारिक, सिद्धान्तनिस्ट, त्यागी, पवित्र कार्यकर्ता निर्माण गर्दा नेतृत्व छाडा हुन नपाउने हुँदा जानाजान निजी स्वार्थमा कम्युनिष्ट पार्टीलाई भेडीगोठ बनाउने र कार्यकर्तालाई दास र सेवक बनाइयो ।

नेकपा फुटाउने तागत नेतृत्वसँग छैन :- पञ्चायत विरुद्ध सङ्घर्ष गर्दा निर्माण गरेको राजनीतिक छवि, विगतमा जनताको घर आँगनमा पुग्दै न्याय र समानताको पक्षमा आवाज उठाउने कार्य,प्रजातन्त्र प्रतिको प्रतिबद्धता, विकास र समृद्धिको वकालत, राष्ट्रियता र जनजीविकाको सफल मार्केटिङ गर्दै, चुस्त, दुरुस्त सङ्गठनको बलमा नेपाली जनताको मन मन्दिरमा बस्न सफल नेताहरू पछिल्लो कालखण्डमा आफ्नो आदर्शबाट चिप्लिसकेका छन् । सिद्धान्त र विचार समाप्त भएको, अनुशासन र सङ्गठनको पेचकिला खुस्किएको कम्युनिस्ट पार्टी सिद्धान्तत जीवित रहन सक्दैन। पार्टीको नाम कम्युनिष्ट राखिएको, निर्वाचन चिन्ह प्राप्त गरेको, आवश्यक पर्दा मार्क्सवाद, लेनिनवादको बारेमा चर्चा गरिने नेपालको भीमकाय पार्टी केवल नाममा मात्र कम्युनिष्ट रहेको कटु सत्य हो ।

‘प्रधानमन्त्रीको कार्यशैली, एकल शासन र प्रचण्डको कुर्सी स्वार्थ’को कारण पैदा भएको घुर्की, धम्की र राजनीतिक अराजकताको बाबजुद नेकपा फुटाउने तागत ओली – प्रचण्डसँग नहुनुको प्रमुख कारण उनीहरूको सुबिधाभोगी जीवनशैली र पदबिना बाँच्न नसक्ने मानसिकता नै हो । त्यसैगरि ओली – प्रचण्डसँग लागेका दोस्रो दर्जाको नेताहरूको राजनीतिक भविष्यको अनिश्चितता, महँगो निर्वाचन पद्धति, पदबिना बाँच्नै नसक्ने अवस्था, मतपत्रमा आधारित राजनीति, आवधिक निर्वाचन, रक्षात्मक विश्व कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट आदर्श मरेको सङ्गठन र कार्यकर्ता नै हुन । निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धता भुल्दै विभाजनको जोखिम मोल्ने तागत कुनै नेतामा नरहेको अवस्थामा नेकपा राजनीति जोखिम मोल्न नसकेर जोखिम मै रहने निश्चित छ । दिपेन्द्र पाण्डेले पालपाटीमा लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार