बाढीपहिरोमा परी घाइते भएकाको उद्धार सुरु

  मूलधारपोष्ट  168 पटक हेरिएको

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका पाँच जम्बुमा गएराति आएको बाढीपहिरोमा परी घाइते भएकाको उद्धार सुरु भएको छ । पहिरोबाट उद्धार गरिएकी स्थानीय सविना बस्नेतलाई कैलाश एअरलाइन्सको हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको छ । अरु तीन जना घाईतेलाई पनि केहीबेर अघि उद्धार गरी काठमाडौं ल्याईएको सिन्धुपाल्चोकका प्रहरी प्रमूख, एसपी प्रज्वल महर्जनले घटनास्थलबाट सीआईएनलाई जानकारी दिनुभयो ।

बाढी र पहिरोले बाटो अबरुद्ध भएका कारण उद्धारमा कठिनाई भईरहेको उहाँले बताउनुभयो । बाह्रबिसेमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाह्रबिसेमा चार र भोटेकोसीमा दुइ जना घाइते छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । बाह्रबिसेका माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ र मिङमा तामाङ घाइते छन् । भोटेकोसीमा फुर्वा तामाङ र उनका १० दिनका छोरी घाइते छन् ।

भोटेकोसी पाँचका निमदोर्जे तामाङ, मन्जु तामाङ, पासाङ नुर्पु तामाङ, साहिल तामाङ बेपत्ता छन् । बाह्रबिसेका १६ जना बेपत्ता छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा भीम बहादुर वाइवा, चिनमाया वाइवा, लिलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाला वाइबा र जनकबहादुर थिङ रहेका छन् ।

यस्तै सबिना तामाङ, आकास तामाङ, हिमेश शर्मा, आकास केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुरेश तामाङ, सलिनि तामाङ बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ । अहिले घटनास्थलमा सभामुख अग्नि प्रसाद सापकोटा सहितको टोली पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार