राहत वितरणमा कुनै कमजोरी नगरेको जनप्रतिनिधीको दाबी

  मूलधारपोष्ट  331 पटक हेरिएको

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाले विपन्त तथा मजदुरलाई गरिएको राहत वितरणमा नियतवस् कुनै कमजोरी नगरेको दाबी गरेको छ । खोज पत्रकारिता केन्द्रबाट प्रकाशित समाचार बारे आधिकारीक जानकारी गराउन शनिवार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाले सबैलाई समेट्दा नीतिगत कमजोरी भएपनि नियतवस कुनै कमजोरी नगरेको दाबी गरेको हो । बन्दाबन्दीको समस्यामा परेका सबैलाई राहतमा समेट्नु पर्ने बाध्यताकै कारण कागजी प्रक्रिया मापदण्डसँग हुबहु मेल नखाएपनि जनप्रतिनिधीले कुनै स्वार्थ देखाउने नियत नराखेको र समाचारमा उल्लेखित विषय आरोप मात्र भएको नगर प्रमुख पदम बडुवालले जानकारी गराउनुभएको छ ।

नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तीमा २५ प्रतिशतलाई राहत वितरण गर्ने कार्यपालिकाको निर्णय पछि सर्वसाधारणले विरोध गरेको र सबैलाई समेट्न खोज्दा मापदण्ड सच्याउनु परेकोले यसलाई अनियमितता र भ्रष्टाचार भनेर अफवाह फैलाउने काम गलत मनसायका साथ आएको नगर प्रमुख बडुवालको भनाई छ । १० बुदेँ स्पष्टीकरण सहीत नगर प्रमुख र उपप्रमुख सहीत नौ जना वडाध्यक्षले सयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा नै गल्ती प्रमाणित भए सामुहीक आत्मदाह गर्ने धम्कीपूर्ण भाषा समेत प्रयोग गरिएको छ ।

नखाएको विष नै लाग्ने विषय सहन सकिदैन, व्यक्तिगत बार्गेनिगमा र प्रक्रिया विपरित भुक्तानीका लागि गरिएको माग पुरा नभएपछि पूर्वाग्रही रुपमा समाचार आएको नगर प्रमुख बडुवालको दाबी छ । खोज पत्रकारिता केन्द्रका लागि बाजुराबाट लखिएको समाचारमा विपन्नलाई दिएको राहतमा मनपरी, कागजमा ३० केजी, चामल दिइयो ७ केजी मात्रै शिर्षकमा समाचार आएको थियो । समाचारमा ३० केजी लिएकोमा हस्ताक्षर गराएर ७ केजीमात्र दिएको र जिल्ला बाहिर बस्नेको नाममा समेत राहत गएको समाचारमा उल्लेख गरिएको छ । नगरपालिकाले जनताको मागकै आधारमा सबैलाई समेट्ने गरी २२ सय ८२ परिवारलाई राहत दिएको नगरपालिकाले उल्लेख गरेको छ ।

जसमा ३ सय १७ क्वीन्टल १० केजी चामल, २ हजार ८१ केजी दाल, २ हजार ८ सय ४५ केजी नुन, ३ हजार १ सय ७३ पोका तेल, ४ हजार ३ सय ६८ पीस साबुन, ५ हजार ३० पीस मास्क, ३ सय ४६ केजी चिनी वितरण गरिएको नगरपालिकाले सार्वजनिक गरेको छ । सरकारले बनाएको मापदण्ड अनुसार नै ५ नम्बर बुँदा संसोधन गरि सबै ९ वटै वडाको आवश्यकता र औचित्यताका आधारमा राहतको पुनः प्याकेजिग गरि वितरण गर्न बाधा नपुग्ने बाक्यकै आधारमा नगरकार्यपालिकाले कुल राहतलाई आर्थिक हैसियत हेरर वितरण गर्ने गरी नीतिगत निर्णय गरेर वितरण गरिएकोले अनियमितताको आरोप गलत र तथ्यहिन भएको नगरपालिकाले बताएको छ ।

७ केजी भन्ने कुरा नै झुटो भएको र २२ सय ८२ परिवार मध्ये ८४२ परिवारलाई २० केजी र अरु सबैलाई १० केजीका दरले वितरण गरेकोले समाचार नै झुटो भएको नगरपालिकाले बताएको छ । नीतिगत रुपमा अनियमितता नभएको र सबैलाई समेट्न र उनीहरुकै सहमतिमा सबैलाई समान व्यवाहार गर्न खोज्दा आरोप लगाउनु गलत हुने बडिमालिका २ का वडाध्यक्ष डम्मर महतले बताउनुभएको छ ।

प्रक्रिया नपुर्याएरै रुपैंयाको बार्गेनिग गर्ने र भने अनुसार पैंसा नपाएपछि उजुरी प्रक्रिया देखि व्यवाहारिक विषयलाई अनियमितताको ट्याग लगाउनु स्वयम पत्रकारकै गलत र पूर्वाग्रही नियत भएको पत्रकार सम्मेलनमा बडिमालिका ८ का वडाध्यक्ष प्रकाश रावलले बताएका छन् ।
असल नियतका साथ राहत वितरण गर्दा मापदण्डमा नपरेकाहरुले राहत नपाएपछि रिसमा विरोध गर्दा जनप्रतिनिधीलाई कुनै फरक नपर्ने र जुनसुकै निकायमा पनि सत्य सावित भएरै छा्ेड्ने बडिमालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकको भनाई छ । नगरपालिकाले पत्रकार निमेन्द्र शाही तर्फ लक्षित गर्दै स्वार्थ सिद्धीका लागि खोज अनुसन्धान गर्नेकै व्यक्तिगत सम्पत्ती अनुसन्धान गर्न विज्ञप्ती मार्फत माग गरेको छ ।

नीतिगत रुपमा कमजोरी भएको स्वीकार गर्नु हुन्छ नि भन्ने पत्रकारको प्रश्नमा भने नगर प्रमुखले व्यवाहारिक विषयलाई लिएर भ्रष्टाचार गरेको आरोप लगाउने र असल नियतका साथ गरिएको काममा बाधा सिर्जना गर्ने कार्य नगरपालिकालाई स्वीकार्य नहुने घुमाउरो जवाफ दिनुभयो । राहत वितरणमा आफ्नो संलग्नता नरहेको भन्ने समाचारमा जवाफ दिएको विषयमा नगर उपप्रमुख कविता विष्टले आफ्नो कुरालाई बङ्ग्याएर लेखिएको दुखेसो गरेकी छन् । मेयर साब र म वितरणमा गएका छैनौ, वडाध्यक्षलाई नै अधिकार छ, उहाँहरुले प्रक्रिया मिलाएर बाँडीरहेको भन्ने विषयलाई उल्टो बनाएर लेखिएको प्रति आपत्ती रहेको बताएकी छन् ।

नगरपालिकाले राहत वितरण देखि, क्वारेन्टाइन व्यवस्थापन, आइसोलेशक कक्ष निर्माण, व्यवस्थापन र उपचार, आरडीटी जाँच देखि अन्य सबै कामका लागि हालसम्म ६८ लाख, ८७ हजार, ७ सय १४ रुपैया खर्च भएकोले यसमा सबैलाई भ्रष्टाचारीको बिल्ला भिराएर तथ्यहीन समाचार प्रति विरोध जनाएको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख पदम बडुवालले जनप्रतिनिधीको चरित्र ह त्याको जिम्मेवारी कस्ले लिने भन्दै आक्रोश पोखेका छन् । सिंगो नगर कार्यपालिका परिवारसँग कुनै विमती र असमझदारी नरहेको र स्वास्थ्य कृषि र रोजगार केन्द्रीत बजेट ल्याउने गरी सहमति भएको समेत जानकारी गराईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार