आरडीटी जाँच हुदै, किटको अभाव

  मूलधारपोष्ट  63 पटक हेरिएको

जिल्लाका नौ वटै स्थानीय तहका क्वारेन्टाइनमा बसेकाहरुको आजबाट आरडीटी जाँच सुरु गरिने भएको छ । जिल्लाका १ सय ५ वटा क्वारेन्टाइनमा बसेका ३ हजार ८ सय ३४ जना मध्ये १४ दिन पुरा भएकाहरुको आरडीटी जाँच गरिने भएको हो ।

क्वारेन्टाइनमा बसेकाहरुको संख्यालाई पुग्ने गरि आरडीटी किट नभएपनि १४ दिन पुगेकाहरुलाई जाँच सुरु गर्न लागिएको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभएको छ ।

जिल्लामा हाल २ हजार १ सय आरडीटी किट रहेका छन् । यी किटले ३ हजार ३ सय ९१ ज्नाका लागि पुग्ने र बाँकीका लागि प्रदेश सरकारसँग माग गरिएको छ । १४ दिन सबैको नपुगेकोले सबैले एकै पटक गर्न नपर्ने स्वास्थ्य कार्यालयले बताएको छ ।

१० हजार बढी किट आवश्यक परेको भन्दै माग गरिएपनि सोमबारमात्र २ हजार १ सय किट पठाइएको थियो । स्वास्थ्य कार्यालयले ३२ वटा किट जिल्लाम राखेर बाँकी सबै संख्याको अनुपातमा नौ वटै स्थानीय तह पठाउने तयारी गरिएको छ ।

धुरालसैन माविको क्वारेन्टाइनमा बसेका १ सय ८७ जना बाहेक अरु सबैको आरडीटी जाँच गरिने भएको छ । उनीहरुको पीसिआर जाँचका लागि स्वाब संकलन गरि धनगढी पठाइएको छ ।

जिल्लामा लागि स्वाब संकलन गर्नका लागि आवश्यक पर्ने भिटिएम टिकहरु र १० हजार आरडीटी किट माग गरिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभएको छ । जिल्ला बाहिरबाट आउनेको संख्या वृद्धीभएसँगै किटको आवश्यकता बढेको हो ।

क्वारेन्टाइनमा ३ हजार ८ सय बढी,
जिल्लाका १ सय ५ वटा क्वारेन्टाइनमा ३ हजार ८ सय ३४ जना बसिरहेका छन् । नौ वटै स्थानीय तहमा जिल्ला बाहिरबाट आएका ३ हजार ८ सय ३४ जना क्वारेन्टाइनमा बसिरहेको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।

क्वारेन्टाइमा सबैभन्दा बढी त्रिवणी नगरपालिकामा बसेका छन्, भने सबैभन्दा कम बुढीनन्दा नगरपालिकामा रहेका छन् । जसमा हिमाली गाउँपालिकामा १ सय ६२ जना, स्वामिकात्र्तिक खापर गाउँपालिकामा २ सय ३३ जना रहेका छन् ।

यस्तै जगन्नाथ गाउँपालिकामा १ सय १७, बुढीनन्दा नगरपालिकामा १०१ जना, बडिमालिका नगरपालिकामा ३०८ जना, गौमुल गाउँपालिकामा ३ सय जना, खप्तड छेडेदह गाउँपालिकाका ६ सय ६१ जना, बुढीगंगा नगरपालिकामा ९ सय ३३ र त्रिवेणी नगरपालिकामा १ हजार १९ जना बसोबास गरिरहेका छन् ।

जिल्ला बाहिर रहेका र भारतमा कामको शिलशिलामा गएकाहरु फर्किएसँगै क्वारेन्टाइनमा बस्नेको चाप बढेको हो । क्वारेन्टाइनमा बसेका मध्ये ९ सय २१ जना महिला र २ हजार ९ सय १३ जना पुरुष रहेका छन् । जिल्लामा २ जना आइसोलेशन कक्षमा बसीरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार