नेपालमा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ कहाँ थपिए विवरण सहित हेर्नुहोस्

  मूलधारपोष्ट  206 पटक हेरिएको

नेपालमा थप दुई सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या दुई हजार ९९ पुगेको छ। मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै दुई सय ८८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिममा आज एकैदिन थप २७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ७३ पुगेको छ।

धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो। कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टिमा रहेका २०, ३५ र ६३ बर्षीय पुरुष र १८ बर्षीय युवतीमा कोरोना पुष्टि भएको छ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को त्रिभुवन माविको क्वारेन्टिमा रहेका ३२ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

यस्तै कञ्चनपुरको पुनरवास नगरपालिकाका ३३, ३५, ३६ र ५२ बर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ बर्षीय पुरुष, कञ्चनपुरको आईविआरडीमा रहेको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

उता सुर्खेतमा गरीएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिला सहित ८ जना र मंगलसैन नगरपालिकाका एक जना गरी नौँ जनामा कोरोना पुष्टि भएको हो। अछाम जिल्लाकै चौरपाटी गाउँपालिकाका एक जनामा हिजो साँझ मात्रै सुर्खेतमा गरीएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।

सुदूरपश्चिमका ७३ जना संक्रमित मध्ये ७१ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ। एक जना संक्रमितको मृत्यु भईसकेको छ भने ६ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन्।

सबैभन्दा बढि कैलालीका ३३ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका पाँच, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ। उनीहरु सबै सम्बन्धित जिल्लामा भने छैनन्। डोटी र बैतडीका चार÷चार र अछामका दुई जनाको सेती अस्पतालमा उपचार भईरहेको छ।

यता कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या २६२ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार अछामका सातसहित कर्णाली प्रदेशमा थप २९ सङ्क्रमित पहिचान भएका हुन् । यो सँगै सङ्क्रमितको सङ्ख्या २६२ पुगेको हो ।

महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतको वीरेन्द्रनगर वडा नं १ का आठजना, वडा नं ३ का तीनजना, सल्यानको दार्मा गाउँपालिकाका नौजना, सुदूरपश्चिम प्रदेश अछामको मङ्गलसेन नगरपालिका–४ का एकजना र मल्लेख गाउँपालिका–४ का ६ पुरुष र दुई महिला गरी थप २९ जना पहिचान भएको हो । अछामको स्वाबको परीक्षण पनि सुर्खेतस्थित प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा हुँदै आएको छ । नयाँ पहिचान भएका सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

भारत सरकारले लकडाउनकै बीचमा रेल तथा बस सेवा सञ्चालन गरेपछि रोजगारीका लागि त्यहाँका विभिन्न स्थानमा रहेका कर्णालीवासी फर्कने क्रम जारी छ । कर्णालीमा पहिचान भएका सबै सङ्क्रमित भारतबाट फर्किएका हुन् । हाल प्रदेशका सबै जिल्लामा आरडिटी परीक्षण र पिसिआरका लागि स्वाब सङ्कलन कार्य भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेशन र १७ भेन्टिलेटर रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार