अोलीलार्इ प्रधानमन्त्री नबनाउने षडेन्त्र भइसक्यो : महासेठ

  मूलधार सम्वादाता  275 पटक हेरिएको

काठमाडाैं-  नेकपा एमालेका नेता रघुवीर महासेठले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन देशी तथा विदेशीहरुको षड्यन्त्र सुरु भएको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेता महासेठले भने, ‘हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नको लागि षड्यन्त्र भइरहेको छ, तर जनताले हामीलाई म्याण्डेट दिएका छन्, जनताको चाहना केपी ओली नै मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने हो ।’

उनले जनताको पहिलो रोजाइमा ओली नै परेको जिकीर गरे । उनले भने, ‘जनताले त ओलीकै नाममा वाम गठबन्धनलाई बहुमत दिएका हुन्, तर अहिले उहाँलाई रोक्नको लागि विभिन्न खाले षड्यन्त्रहरु सुरु भएका छन् ।’

धनुषा ४ बाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री समेत रहेका नेता महासेठले ओलीलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्रको प्रमुख गोटी भने निर्वाचन आयोग बनेको उनको आरोप थियो ।

महासेठले भने, ‘अहिले प्रत्यक्ष रुपमा निर्वाचन आयोगको भूमिका देखियो, आयोग गोटी बनेको छ, यो कुरा छर्लङ् भइसक्यो, प्रधानमन्त्रीको चयन र समानुपातिकको नतिजा प्रकाशनको लागि राष्ट्रिय सभाको गठन आवश्यक छैन, तर आयोगले संविधानको नै अपव्याख्या गरिरहेको छ ।’

त्यस्तै उनले प्रत्येक प्रदेशमा छुट्टाछुट्टै दिन निर्वाचन गर्ने भनेर तयारी गरिएकोप्रति टिप्पणी गर्दै भने, ‘२५ गते चुनाव गर्ने अनि सबै प्रदेशमा छुट्टाछुट्टै दिन निर्वाचन गर्ने भनिएको छ, यो पनि समय लम्ब्याउने खेल हो ।’

उनले निर्वाचन आयोग र प्रधानमन्त्री मात्रै नभएर मधेशवादी दलका नेताहरु पनि गोटी बनेको आरोप लगाए । उनले थपे, ‘उहाँहरुको बोली एकथरी हुन्छ अनि व्यवहार अर्कोथरी देखिएको छ, उहाँहरुको हेडक्वार्टर कहाँ छ ? यो आश्चर्य लागेको छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार