कोरोनाको विषयलाइ लिएर कसरी चल्न सक्छ ची’नमाथि मु’द्धा

  पत्रपत्रिका खबर  167 पटक हेरिएको

चीनको वुहान शहरमा गत वर्षको डिसेम्बरमा देखिएको कोरोना भाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ३८ लाख २२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । कोरोना भाइरसका कारण वैश्विक अर्थ व्यवस्थामा ३ प्रतिशत गिरावट आउने र करोडौँ मानिसले रोजगारी गुमाउने अनुमान गरिएको छ । कोरोना संक्रमण फैलिन रोक्नका लागि पैसाको बन्दोबस्त गर्न कठिन भएर अमेरिकासहितका केही देशले ऋण लिइरहेका छन् । लाखौँ कम्पनी बन्द भएका छन् भने पर्यटन जस्ता उद्योगमा गम्भीर असर परेको छ । यस्तो अवस्थामा यसको जिम्मेवार को हो भन्ने निर्धारण गरिनुपर्ने आवाज उठिरहेको छ ।

अमेरिकासहित केही पश्चिमा देशले त सिधा चीनतिर औँला उठाएका छन् । गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा पत्रकार सम्मेलनका क्रममा भने, ‘यसको जिम्मेवारी तय गर्ने तरिका छन् । हामी यो दिशामा गम्भीरतापूर्वक काम गरिरहेका छौँ । जस्तो: तपाईंलाई थाहा होला- हामी चीनसँग खुसी छैनौँ ।’उनले कोरोना भाइरस सुरु भएको स्थानमा नै रोक्न सकिन्थ्यो भन्ने तर्कसमेत गरेका छन् । उनले चीनलाई जरिमाना तिराउनेबारेमा स्पष्ट केही नभने पनि उनको भनाइ चीनलाई अप्ठ्यारोमा पार्नेतर्फ लक्षित रहेको प्रष्ट थियो ।

आर्थिक नोक्सानीको हिसाब-जर्मन अखबार ‘बिल्ड’ले महामारीले जर्मनीलाई भएको आर्थिक नोक्सानीको हिसाबकिताब रहेको उल्लेख गरेको छ । अखबारले भनेको छ, ‘जर्मनीलाई कोरोना महामारीले १ सय ६० मिलियन डलरको नोक्सानी भएको र यसको जिम्मेवार चीन हो ।’संसारमा केही कम्पनीदेखि केही देशका मानिसहरू चीनबाट यो नोक्सानीको क्षतिपूर्ति पाउने बाटो खोजिरहेका छन् । सबैले चीनले महामारीको सुरुमा नै कुनै कदम नउठाएको र संसारमा महामारी फैलिएको उनीहरूको आरोप छ । यस्तै, मानिसमध्ये एक हुन्, फ्रेङ्कलिन अर्डोनेज । पेसाले वकिल र नेतासमेत रहेका ६२ वर्षीय फ्रेङ्कलिन इक्वेडरका नागरिक हुन् । मार्चमा उनका दाजुको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।

कसैको त जिम्मेवारी होला ?-इक्वेडरमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित गुआयाक्विल शहरबाट फ्रेङ्कलिनले भने, ‘संसारमा यति धेरै मानिसको मृत्यु भएको छ, कसैको त जिम्मेवारी होला ?’गुआयाक्विलमा कोरोना फैलिएपछि अस्पताल ठप्प भएका थिए भने चिहानमा समेत ठाउँ पाउन कठिन भएको थियो । लकडाउनका कारण फ्रेङ्कलिन घरमै सीमित छन् । उनी चीनको प्रयोगशालामा नै कोरोना भाइरस बनेको दाबी गर्छन् ।

उनी भन्छन्, ‘चीनको जुन प्रान्तबाट संक्रमणको सुरुवात भएको थियो, त्यसको छिमेकी प्रान्तमा महामारी फैलिएन तर संसारभर फैलियो । आफ्नो सुरक्षाका लागि सबै कुरा भएको अमेरिका यो महामारीबाट बच्न सकेन ।’उनी थप्छन्, ‘जसले कोरोनाबाट आफन्त गुमाएको छ, उसले चीनबाट क्षतिपूर्ति चाहन्छ ।’‘मिसन इम्पोसिबल ?’नयाँ कोरोना भाइरस नियन्त्रणका लागि चीन कहाँ चुक्यो ? यसबारे अन्दाज गर्नु कति सजिलो कुरा हो ?

बेलायती थिङ्क ट्याङ्क च्याटम हाउसमा इन्टरनेसनल लका विम मुलर भन्छन्, ‘यसका लागि त अन्य देशले नै कदम चाल्नुपर्छ । यस्तो कानुन र प्रावधान पत्ता लगाउनुपर्छ, जुन चीनले उल्लङ्घन गरेको होस् ।’ ‘यसपछि अर्को कुरा भनेको यस विषयमा सुनुवाइको अधिकार भएको अदालत खोज्नुपर्छ । अन्तर्राष्ट्रिय कानुनमा यो सधैँ कठिन हुन्छ किनकि कुनै पनि देश आफ्नो आचरणबारे अदालतले फैसला सुनाउने अधिकार होस् भन्ने चाहँदैन’, उनले भनेका छन् । उनी भन्छन्, ‘उदाहरणका लागि हेगमा अन्तर्राष्ट्रिय न्यायालय छ तर यहाँ कुनै मुद्दाको सुनुवाइका लागि देशको तत्परताको आवश्यकता हुन्छ । यस कारण चीनले कुनै पनि बाहिरी अदालतमा पेसी अस्वीकार गर्न सक्छ ।’

के सम्भावना हुन्छ ? विम मुलरका अनुुसार चीनमाथि कानुनी कारबाहीका लागि जति पनि तरिका सुझाइएको छ, त्यसमा इन्टरनेसनल ‘कोर्ट अफ जस्टिस’मा चीनलाई उभ्याउनका लागि विश्व स्वास्थ्य सङ्गठनको विधानको अनुच्छेद ७५ को प्रयोग उपयुक्त सम्भावना हो । यसमा भनिएको छ, ‘विश्व स्वास्थ्य सङ्गठनको विधानका कुनै प्रावधानलाई लिएर कुनै विवाद उठेमा र विवाद वार्ता र ‘हेल्थ एसेम्बली’मा समाधान नभएमा कुनै देश इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे)मा जान सक्छ ।’

उनका अनुसार यस विवादमा चीनले आफ्नो जिम्मेवारी निर्वाह गरेन भन्ने विषयमा विवाद छ । ‘तर, फेरि पनि चीनलाई आईसीजेमा लिएर जान चाहने देशले पहिले ऊसँग कुरा गर्न कोसिस गर्नुपर्नेछ । विश्व स्वास्थ्य सङ्गठनको ‘हेल्थ एसेम्बली’मा लैजानुपर्नेछ ।’स्पेनको युनिभर्सिटी अफ सेभियामा पब्लिक इन्टरनेसनल लका प्राध्यापक जोआक्विन एलकेड भन्छन्, ‘यदि चीनलाई आईसीजेमा लैजाने हो भने त्यसअघि जिम्मेवारी तय गर्नुपर्ने आवश्यकता छ । उसको इलाकामा के भयो र अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने कुन कुरा उसको जिम्मेवारी हो भन्ने तय गर्नुपर्ने आवश्यकता छ ।’यहाँ त संसारभरमा जे भइरहेको छ, त्यसका लागि चीनलाई जिम्मेवार ठहर गर्ने अनौठो कोसिस भइरहेको छ ।

कूटनीतिक बाटो-प्राध्यापक जोआक्विनका अनुसार सबैभन्दा व्यावहारिक बाटो भनेको कूटनीतिक समाधान हो । उनी भन्छन्, ‘कूटनीतिक माध्यमबाट आफ्ना विषय राख्न सकिन्छ । कानुनको आधारमा तथ्य प्रस्तुत गर्न सकिन्छ । चीनसँग क्षतिपूर्ति वा आफ्नो गल्ती स्वीकार गर्न माग गर्न सकिनेछ ।’ यद्यपि, फ्रेङ्कलिन आर्डोनेज पीडितले व्यक्तिगत रूपमा पनि चीनसँग सिधै क्षतिपूर्ति माग गर्न सक्ने र कुनै देशको कुनै पनि अदालतको ढोका ढक्ढक्याउन सक्ने दाबी गर्छन् ।त्यस कारण उनी चीनविरुद्ध मुद्दा हाल्न नयाँ अनुसन्धानको परिणामको पर्खाइमा छन् । उनी अमेरिकी ल फर्म ‘बरमन ल ग्रुप’का तर्फबाट ल्याइएको ‘क्लास एक्नस ल सुट’मा आबद्ध छन् ।

‘क्लास एक्सन ल सुट’को अर्थ यस्ता मुद्दासँग छ, जहाँ एक पक्ष कुनै व्यक्ति नभएर व्यक्तिको समूह हुन्छ । बरमन ल ग्रुपका प्रवक्ता जेरेमी अल्टर्स भन्छन्, ‘चीन प्रमाण लुकाउनका लागि परिचित छ । त्यस कारण त्यहाँ के भएको हो भन्नेबारे हामीले जतिसक्दो छिटो जानकारी हासिल गर्नुपर्ने आवश्यकता छ ।’यस ल फर्मले २ अलग अलग मुद्दा अमेरिकी अदालतमा दायर गरेको छ । यी मुद्दामध्ये टेक्सासको अदालतमा चीनले एक जैविक हतियारका रूपमा कोरोना भाइरस तयार गरेको दाबीसहित मुद्दा हालिएको छ ।

मिजुरी र मिसिसिपीको अदालतमा दायर गरिएको मुद्दामा भने चीनमाथि कोरोना रोक्नका लागि पर्याप्त कोसिस नगरेको र यसबारे जानकारी दिन ढिलाइ गरेको आरोप लगाइएको छ । ‘बरमन ल ग्रुप’को ‘क्लास अफ एक्सन ल सुट’मा ४६ देशका १४ हजार जना सहभागी छन्, जसमा कम्पनीहरू सामेल छन् तथा कोरोना भाइरसबाट मृत्यु हुनेका आफन्तसमेत छन् । नित्साना डारशान लिटनर इजरायलको एक गैरसरकारी सङ्गठन ‘सुरत हाडिन’का अध्यक्ष हुन् । उनको सङ्गठन पनि चीनविरुद्ध मुद्दा हाल्ने तयारीमा छ ।

उनी भन्छन्, ‘सबैभन्दा ठूलो बाधा भनेको चीनको त्यो दलिल हो, जसमाथि मुद्दा चलाउनका लागि कुनै अदालतसँग क्षेत्राधिकार नै छैन । हामी यसलाई काट्ने दलिल खोजिरहेका छौँ ।’‘इम्युनिटी ज्युरिसडिक्सन’-‘इम्युनिटी ज्युरिसडिक्सन’ त्यस्तो न्यायिक सिद्धान्त हो, जसअनुसार कुनै पनि सम्प्रभु राष्ट्रमाथि उसको भूमिबाहिर मुद्दा चलाउन सकिँदैन । युनिभर्सिटी अफ सिकागोमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक टोम गिन्सबर्ग भन्छन्, ‘तपाईं कुनै पनि सम्प्रभु राष्ट्रमाथि केही अपवादलाई छाडेर कुनै अरू राष्ट्रमा मुद्दा चलाउन सक्नुहुन्न ।’

चीनविरुद्ध अमेरिकामा ल्याइरहेको यस्तो ‘क्लास एक्सन ल सुट’ अर्थात् साझा मुद्दा सफल हुने सम्भावना कति छ ? यो प्रश्नको जवाफमा उनी भन्छन्, ‘साँच्चै भन्ने हो भने रत्तिभर केही गर्न सकिदैन ।’अमेरिकाको एफएसआई कानुन-यूएस ज्युरिसडिक्सन इम्युनिटिज एक्ट (एफएआईए) अनुसार कुनै देशलाई प्राप्त हुने छुट केही मामलामा अन्त्य गर्न सकिन्छ । प्राध्यापक टोम गिन्सबर्ग भन्छन्, ‘यदि कुनै विदेशी सरकार कुनै व्यावसायिक गतिविधिमा सामेल छ, जस्तो कुनै सरकारी कम्पनी अमेरिकामा केही बेच्छ भने यो मुद्दाको आधार बन्छ । अर्को आधार भनेको कुनै गल्तीले दुर्घटनावस कुनै नोक्सान भयो भने हुन्छ । यस्तो नोक्सानी पनि अमेरिकी भूमिमा गरिएको हुनुपर्छ ।’

उनी भन्छन्, ‘चीनविरुद्ध ल्याइएका धेरैजसो मुद्दा यस्तै अपवादलाई आधार बनाएर ल्याइएको छ । तर, यसका दलिलहरूलाई ध्यानपूर्वक पढ्ने हो भने त्यसमा त्यस्तो शक्ति र मुद्दा जित्ने आधार नै हुँदैन ।’तर, बरमन ल ग्रुपका एक प्रमुख अधिवक्ता म्याथ्यु मरे अमेरिकी भूमिका नोक्सान भएको दाबी गर्छन् । चीनविरुद्धका प्रमाण-म्याथ्यु मुरे भन्छन्, ‘चीनलाई डिसेम्बरको अन्त्यमा नै कोरोना मानिसबाट मानिसमा संक्रमण भइरहेको जानकारी थियो । यो भाइरस खतरानाक छ । तर, यसका बाबजुद उसले वुहानबाट संसारभर यात्राका लागि स्वीकृति ।

‘यी मानिसहरू वास्तवमा भाइरस बम जस्ता थिए । उनीहरू कुनै पनि बेला संक्रमण फैलाउने अवस्थामा थिए । वास्तविक कुरा त के हो भने उनीहरूलाई वुहानबाट जतिबेला बाहिर जाने अनुमति दिइयो, त्यसैबेला चीन सरकारको एजेन्ट बने र उनीहरूले अमेरिकामा भाइरस फैलाइरहेका छन् । त्यस कारण अमेरिकामा नोक्सान भइरहेको छ,’ उनको तर्क छ ।

म्याथ्यु मरेको अर्को दलउल के छ भने, कोरोना भाइरस सुरुमा कुनै ल्याब या बजारबाट फैलिएको हो भने दुवै स्थान व्यावसायिक गतिविधिमा सामेल छन् । त्यस कारण अदालतमा दोस्रो कारण पनि स्वीकार्य हुनेछ ।उनी भन्छन्, ‘चिनियाँ कम्युनिस्ट पार्टीलाई विपक्षी बनाएर मुद्दा हाल्नेछौँँ । यो कुनै देश नभएर सङ्गठन हो । यसको अर्थ ‘इम्युनिटी ज्युरिसडिक्सन’को नाममा चिनियाँ कम्युनिस्ट पार्टीलाई कुनै छुट मिल्नेवाला छैन ।’

सफलताको सम्भावना-तर, म्याथ्यु मरेको दलीलमा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता विम मुलर सहमत छैनन् । उनी भन्छन्, ‘उदाहरणका लागि तपाईं सी चिनफिङलाई कसुरदार ठहर गर्न चाहनुहुन्छ भने पनि मुद्दा जित्न सक्नुहुन्न किनभने उनी एक राष्ट्र प्रमुख हुन् । उनलाई पनि ‘इम्युनिटी ज्युरिसडिक्सन’अनुसार छुट छ र उनका तल्ला अधिकारीहरूलाई पनि ।’

विम मुलर र टोम गिन्सबर्ग दुवै जना यस्ता मुद्दाको नाममा ल फर्म र सरकारी वकिल केवल प्रचार गराउन चाहन्छन् भन्नेमा एकमत छन् । तर, प्राध्यापक टोम गिन्सबर्ग भन्छन्, ‘क्लास एक्सन ल सुट दायर गर्ने वकिलसँग एकै समयमा केही मुद्दाहरू हुन्छन् । त्यसमध्ये कतिपय मुद्दा जित्ने सम्भावना हुँदैन तर उनीहरूले जिते भने ठूलो रकम हात पार्न सक्छन् ।’उनी थप्छन्, ‘सम्भावना कम भए पनि एक ट्रिलियन डलरको मुद्दा हो भने कोसिस गर्दा के बिग्रिन्छ र ?’

अमेरिकामा रहेको चीनको सम्पत्ति-बरमन ल ग्रुपका प्रवक्ता जेरेमी अल्टर्स भन्छन्,‘हाम्रा २४ देखि २५ जना दैनिक यस मुद्दाबारे काम गरिरहेका छन् । हामी यो मुद्दामा पैसा खर्च गर्न जारी राख्नेछौँ । यदि हामीलाई मुद्दामाथि भरोसा थिएन र जीतको आशा थिएन भने हामी यो जोखिम उठाउने थिएनौँ ।’

बरमन ल ग्रुप जस्ता पक्षलाई वित्तीय सहायता प्राप्त हुने र त्यो अमेरिकामा रहेको चिनियाँ सम्पत्तिबाट प्राप्त हुने विश्वास छ । जेरेमी अल्टर्स जसको ज्यान गयो, उनीहरूलाई फकाएर ल्याउन नसके पनि उनीहरूको नोक्सानमा थोरै भरपाई गर्न सक्ने दाबी गर्छन्, जुन सहज छैन ।(बीबीसीका लागि स्टेफानिया गोज्जरको रिपोर्टको केशरमणि कटुवालले गरेको भावानुवाद)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार