२० वर्षपछि मार्तडी कोल्टी सडकमा कालोपत्रे हुने

  मूलधारपोष्ट  204 पटक हेरिएको

बाजुरा । मार्तडी कोल्टी सडकखण्ड कालो पत्रेका लागि ९८ करोड ७६ लाख १२ हजारको बोलपत्र आह्वान गरिएको छ । पुर्वाधार विकास कार्यालय अछामले यसै आर्थिक वर्ष भित्र नै निर्माण कार्य सुचारु गर्ने गरी बोलपत्र आह्वान गरेको हो । मार्तडी कोल्टी सडकको ४१ किलोमिटर बाटो कालोपत्रे गर्ने गरी संघीय र प्रदेश सरकारको सयुक्त सहकार्यमा सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको आयोजना कार्यालय अछामले बताएको छ ।

बैशाख २१ गतेदेखि लागु हुने गरी ३० दिने अवधी सहीत आइतबार बोलपत्र आह्वान गरिएको हो । सडक कालोपत्रे गर्न१ अर्ब ५७ करोड ७५ लाख १२ हजार कुल अनुमान लागत गरिएपनि पहिलो चरणमा ९८ करोड ७६ लाख १२ हजारको बोलपत्र ठेका आह्वान गरिएको छ ।

३ वर्षभित्र कालोपत्रे कार्य सम्पन्न गर्ने गरी बजेट विनियोजन सहीत बोलपत्र आह्वान गरिएको प्रदेश सभा सदस्य बल्देव रेग्मीले बताएका छन् । कुल लागत रकममा ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारले बजेट व्यवस्था गर्ने सांसद बल्देव रेग्मीले बताएका छन् ।

निर्माण सुरु गरिएको २० वर्षपछि मार्तडी कोल्टी सडकमा कालोपत्रे हुने गरी बजेट विनियोजन गरिएको हो । कामका लागि खाद्यन्न कार्यक्रम अन्र्तगत तत्कालिन जिल्ला विकास समितिले मार्तडी कोल्टी सडक २०५६ सालबाटै निर्माण सुचारु गरिएको हो ।

सडकलाई सुदूरश्चिम प्रदेश सरकारले प्रदेश गौरवको बहुबर्षीय योजनामा यस अघि नै पारेको थियो । त्यस अन्र्तगत नै १५ किलोमिटर सडक निर्माणको काम सञ्चालन भईरहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि प्रदेश सरकारबाट ५८ करोड बजेट विनियोजन गरेर काम समेत सञ्चालन भईरहेको पुर्वाधार विकास कार्यलय अछामका प्रमुख जंग बहादुर थापाले बताएका छन् ।

४१ किलोमिटरको अन्तिम केन्द्र बुढीनन्दा नगरपालिका २ कोल्टी बजारसम्म रहेको पुर्वाधार विकास कार्यलयले जनाएको छ । सांसदको कार्यकालसम्म पीलुचौरसम्मको बाटो कालोपत्रे गरि सक्ने लक्ष्य अनुसार नै कोल्टीबाट पीलुचौर सम्मकै लागि बजेट व्यवस्थापन गर्न पहल भईरहेको सांसद रेग्मीले बताएका छन् ।

मार्तडी कोल्टी सडक जिल्लाको दुइ क्षेत्र जोड्ने प्रमुख मार्ग भएकोले पनि बिशेष पहल गरिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बताएका छन् । गौरवको योजनाका रुपमा नै सडकलाई प्रदेशले अघि बढाएको मन्त्री शाहको भनाई छ ।

प्रदेश र संघ सरकारको सयुक्त सहकार्यमा तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी मार्तडी कोल्टी सडकको काम गरिने प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले बताएका छन् । थापाले बाम गठबन्धनले जारी गरेको चुनावी घोषणा पत्र अनुसार नै सडक निर्माण कार्य अघि बढेको बताएका छन् ।

कोल्टी क्षेत्रमा चार वटा स्थानीय तह छन् । भने हुम्ला, कालिकोट र मुगुका सर्वसाधारणको आवात जावत पनि यतैबाट हुने गरेको छ । कर्णाली करिडोरसम्म जोड्न पनि मार्तडी कोल्टी सडक कालोपत्रे आवश्यक रहेको थियो ।

२० वर्षको अवधीमा ३५ करोड बढी बजेट खर्च भईसकेको छ । जिल्ला विकास समिति, गाविस देखि अन्य कार्यक्रमबाट बाटोका लागि रकम खर्च भएपनि अझै नियमित सुचारु हुने गरेको छैन् । बर्षाद र हिउँ पर्दा बाटो अझै बन्द हुने गरेको छ । जसका कारण स्थानीयले सास्ती भोग्दै आएका छन् । २०६० साल भित्र कोल्टीमा सडक पुर्याउने लक्ष्य सहीत सडकको २०५६ फागुन ७ गते तत्कालिन जिल्ला विकास समितिका सभापति लाल बहादुर थापाले शिलान्यास गरेका थिए ।

हालसम्म कामका लागि खाद्यन्न कार्यक्रम बाट २७ करोड ४० लाख, जिविस बाजुरा बाट ८ लाख, कर्णाली वरीपरीको कार्यक्रम बाट ३६ लाख र उत्तरी क्षेत्रका गाबिस बाट २१ लाख र सड्क बिभाग बाट ५ करोड गरि ३३ करोड ५४ लाख ५ हजार, बडिमालिका र बुढीनन्दा नगरपालिकाबाट १ करोड भन्दा बढी रकम खर्च भईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार