कोरोना आशंकामा ४ जनालाई सेती अस्पतालको आईसोलेसनमा राखियो

  मूलधारपोष्ट  233 पटक हेरिएको

सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा चार जना शंकास्पद विरामी थपिएका छन् । दुई दिनको अवधीमा कैलाली, कञ्चनपुर र कालिकोटका चार जनालाई कोरोना आशंकामा अस्पतालाको आईसोलेसनमा राखिएको हो । कैलालीको जिल्लाको गौरीगंगा नगरपालिकाको मसुरीयाका ३२ बर्षीय पुरुष र उनकी ८ बर्षकी छोरीलाई पनि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

दुवैमा रुघाखोकी र ज्वरो आएपछि अस्पतालको आईसोलेसनमा राखिएको प्रादेशिक अस्पतालले जनाएको छ । दुबै जनाको आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको अस्पताल जनाएको छ । दुबै जनाको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाईएको छ ।

आईतवार कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाकी एक युवतीलाई पनि प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको थियो ।शुक्लाफाँटा नगरपालिकाकी १८ बर्षीय युवतीलाई आईसोलेसनमा राखेर थ्रोट स्वाब संकलन गरिएपनि अझै परीक्षण रिपोर्ट आएको छैन् ।

सोमबारदेखि २५ गतेसम्म कैलाली पूर्ण रुपमा बन्द,
कैलालीमा अपरान्ह ४ बजेदेखि लक डाउनमा कडाई गरिएको छ । अपरान्ह ४ बजेदेखि धनगढी लगायतका बजारहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । दुई दिनदेखि दैनिक दुई घण्टा लकडाउन खुकुलो पारेको स्थानीय प्रशासनले आज अपरान्ह ४ बजेदेखि पुनः कडाई गरेको हो । नेपालगञ्जमा ९ जनामा कोरोनाको संक्रमण पाईएपछि कैलालीमा समेत लकडाउनमा कडाई गरिएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जनजीवन सहज बनाउन दुई घण्टा खुकुलो पारिएको लकडाउनमा सर्वसाधारणहरु निस्फ्रिक्री भएर सवारी साधन र पैदल निस्किने र पसलहरु खुल्नेक्रम तिब्र भएपछि लकडाउन पूर्ववत कडाई गर्ने निर्णय गरिएको हो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडसंगको छलफलपछि प्रजिअ बोहराले आज अपरान्ह ४ बजेदेखि धनगढी बजार पूर्ण रुपमा बन्द गरिएको पश्चिम टुडेलाई बताएका छन् । मेयर वडले धनगढीका व्यवसायी र उद्योग वाणिज्य संघसंगको छलफलमा सम्पूर्ण पसलहरु २५ गतेसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको पश्चिम टुडेलाई बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार