नगरपालिकाले भाडामा लिएको जिपमा नगर प्रमुखको मनपरी

  मूलधारपोष्ट  167 पटक हेरिएको

बाजुरा । लक डाउनको समयमा अति आवश्यकीय कामका लागि बुढीनन्दा नगरपालिकाले भाडामा लिएको जिपलाई दुरुपयोग गर्ने गरेको पाइएको छ । लक डाउनको नियम विपरित नगर प्रमुख पदम कुमार गिरीले भाडामा लिएको जिपलाई आफू अनुकुल प्रयोग गर्ने गरेको खुलेको छ ।

पारिवारीक काम र आफ्ना निकटका मान्छेहरुलाई बोक्नका लागि जिप प्रयोग गर्ने गरेको बुढीनन्दा नगरपालिका ४ का वडा अध्यक्ष राजन कुमार रोकायाले बताएका छन् । स्वास्थ्य उपचार, सुत्केरी तथा विरामी बोक्न र अति जरुरी क्षेत्रमा सुरक्षा सामाग्री पुर्याउने गरि नगर कार्यपालिकाले जिप भाडामा लिने निर्णय गरेको थियो ।

नगर कार्यपालिकाले मासिक शुल्क तिर्ने गरि जिप भाडामा लिने निर्णय अनुसार स्थानीय दिपेन्द्र मल्लको जिप प्रयोग गरिएको छ । जिपलाई विदेशबाट आएका, जिल्ला बाहिर अलपत्र परेका नगरबासीकको उद्दारका लागि प्रयोग गरिनुको साँटो नगर प्रमुखले आफ्नै योजनाको सामान ढुवानीमा प्रयोग गर्ने गरेका छन् ।

लक डाउनको समयमा एक गाउँबाट अर्को गाउँमा मान्छे बोक्ने, सुरक्षा सावधानी नअपनाउने र पास विना आवत जावत गर्न नपाईने प्रावधान छ । तर बुढीनन्दा नगरपालिकाको हकमा त्यो नियम नै लागु भएको अवस्था छैन । सीमा क्षेत्रमा क्वारेन्टाइनमा बसेर घर फर्किएका बुढीनन्दा नगरपालिकाका ७ जना आज मात्र मार्तडी आएका थिए ।

उनीहरुलाई भाडा तिर्न समेत पैसा अभाव थियो । तर ती स्थानीयको उद्दारका लागि समेत नगरले भाडामा लिएको गाडी नआएको उनीहरुको गुनासो छ । भारतबाट घर फर्किएका सातै जनालाई लामो समन्वय र छलफल पछि नगरपालिकाले नै भाडा बेहोर्ने गरी मार्तडीबाट पठाईएको छ । नगर प्रमुखको सिमेन्ट बोक्न, नजिकका मान्छे ओसार पोसार गर्न प्रयोग गरिएपनि सर्वसाधारण बोक्न प्रयोग गरिएको छैन् ।

स्थानीय र केही जनप्रतिनिधीले विरोध गरेपनि नगर प्रमुखले बेवस्ता गरेको बताईएको छ । नेकपा बुढीनन्दा नगर कमिटीले लक डाउनमा राज्यको रकमलाई दुरुपयोग गर्ने अधिकार कसैसँग नभएकोले गतिविधी रोकिनु पर्ने माग गरेको छ । नगर प्रमुख निकट श्रोतले भने नगरपालिकाकै काम बाहेक प्रयोग नगरिएको दाबी गरेको छ । योजना निर्माण, बजेट विनियोजन र अन्य आर्थिक गतिविधीमा बुढीनन्दा नगरपालिका विवादमा आइरहने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार