क्षेत्रीय हुलाक कर्मचारी थापाको शव भारतमा भेटियो

  मूलधार सम्वादाता  362 पटक हेरिएको

 विराटनगर-  क्षेत्रीय हुलाक कार्यालय विराटनगरका लेखापाल कुलबहादुर थापाको शव भारतमा भेटिएको छ । विराटनगर–१ पोखरीया निवासी ५० वर्षीय थापाको शव भारतको सुपौल जिल्लामा भेटिएको हो ।

विराटनगरबाट हुलाक कार्यालय उदयपुरमा काज लिएर जाने क्रममा उहाँ गत मंसिर ९ गतेदेखि बाटैबाट बेपत्ता हुनुभएको थियो।

थापाको शव भारतको रतनपुर थानाबाट करिव १० किलोमिटर दक्षिणमा पर्ने सप्तकोशी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

डुंगा चलाउने माझीले एक महिनाअघि नै थापाको शव फेला पारेपछि रतनपुरा प्रहरीलाई खवर गरेका थिए । त्यसपछि भारतीय प्रहरीले शव पोस्टमार्टम गरेर गाडेका थिए ।

तर पछि सो शव नेपालबाट बेपत्ता भएका थापाको भएको खुलासा भएको छ । त्यसपछि मृतकका परिवारले शव जिम्मा लिएर दाहसंस्कार गरेका छन् ।

थापाको मृत्युको कारण भने खुल्न सकेको छैन । मोरङका प्रहरी उपरीक्षक अरुण विसीले लेखापाल थापाको शव एक महिनाअघि नै फेला परेकोबारे भारतीय प्रहरीले आफूहरुलाई कुनै जानकारी नगराएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार