बाजुरालार्इ गरियो पूर्ण खोपयुक्त जिल्ला घोषणा

  मूलधार सम्वादाता  417 पटक हेरिएको

बाजुरा– बाजुरा जिल्लालाई  शुक्रबार देशकै ३२ औं जिल्लाका रुपमा  पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा बसोबास गर्ने २३ महिनासम्म सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पाएपछि पूर्ण खोपयुक्त घोषणा गरिएको जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताउनु भएको छ ।

घोषणा प्रतिनिधि सभा सांसद एवं एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले प्रतिवद्धता पत्र र जिल्ला समन्वय समिति संयोजक एवं खोप समन्वय समिति संयोजक नरेन्द्र कुमार रोकायाले घोषणा पत्र वाचन गरेर सयुक्त रुपमा घोषणा गरेका हुन् ।

सबै बालबालिकाले पाउनु पर्ने सबैप्रकारका खोपको मात्रा पाएको सन्देश सहीत औपचारिक कार्यक्रमका बीच पूर्ण खोपयुक्त घोषणा गरिएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिए । सन् २०१७ भित्र देशलाई नै खोपयुक्त घोषणा गर्ने सरकारी लक्ष्य अनुरुप नै जिल्लालाई घोषणा गर्न जिल्ला स्वास्थ्य सफल भएको छ ।

घोषणा प्रमाण पत्र स्वास्थ्य मन्त्रालय अन्र्तगत चिकित्सा महाशाखा प्रमुख डाक्टर भोलामान श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर राजेन्द्र पन्तले जिल्ला समन्वय समिति संयोजक नरेन्द्र कुमार रोकायालाई हस्तान्त्रण गरेका थिए ।

बाल मृत्युदर शुन्यमा ल्याउन र सक्षम सवल नागरिक निर्माण गर्न खोपयुक्त घोषणा कार्यक्रमले ठूलो सफलता मिल्ने स्वास्थ्य मन्त्रालय अन्र्तगत चिकित्सा महाशाखा प्रमुख डाक्टर भोलामान श्रेष्ठले बताउनु भएको छ ।
खोपको मात्रा नपाएर अकालमा ज्यान गुमाउनु पर्ने, अपाङ्गता हुनु पर्ने, अनेक प्रकारका संक्रमणको सामना गर्नु पर्ने समस्याको अन्त्य गर्न नेपाल सरकारले सञ्चालन गरेको अभियानलाई सफलता पूर्वक सम्पन्न गर्न जिल्ला स्वास्थ्यले खेलेको भूमिकाको स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर राजेन्द्र पन्तले प्रशंसा गरेका छन् ।

खोपयुक्त अभियान जिल्लाको टाँटे स्वास्थ्य चौकीबाट सुरु गरिएको थियो । बाजुरा स्वास्थ्यको सूचाङ्कमा देशकै छैटौ स्थानमा रहेको छ । स्वास्थ्य अवस्थामा भईरहेको सुधारले जिल्लालाई सबल र सक्षम बनाउन मद्दत पुग्ने र जिल्लाको परिचय नै बदलिनेमा विश्वास लिएको प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले बताउनु भएको छ ।

कार्यक्रममा स्थानीय कला सँस्कृति, देउडा, भुवा चाली, सडक नाटक देखि झाँकी समेत प्रस्तुत गरिएको थियो । जिल्लाले घोषणा कार्यक्रमलाई उत्सवका रुपमा मनाएको छ । घोषणाको अवसरमा बाजागाजा सहीतको र्याली, साँस्कृतिक झाँकीहरु पनि प्रर्दशन गरिएको थियो ।

घोषणा कार्यक्रममा बोल्ने बक्ताहरुले घोषणालाई मात्र उपलब्धी मान्न नसकिने बताएका छन् । दिगो व्यवस्थापन र निरन्तरता आवश्यक हुने भएकोले त्यस तर्फ सबैको सहकार्य र ध्यान जान जरुरी रहेको उनीहरुको सुझाव छ ।

घोषणा कार्यक्रममा स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयम सेविका, सञ्चार कर्मी र साझेदार निकायलाई सम्मान गरिएको छ । अशोक सिंहले सञ्चालन गरेको कार्यक्रमममा जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रुपचन्द्र विकले जिल्लाको खोप र स्वास्थ्य अवस्था सहीतको प्रतिवेदन प्रस्तुत गरेका थिए । भने जनस्वास्थ्य अधिकृत रमेश कुँवरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार