जेठ महिनाको समय तपाइको लागि कस्तो छ

  मासिक राशिफल  197 पटक हेरिएको

मेष -स्वास्थ्यमा सामान्य समस्या देखिए पनि कामको नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसर जुट्नेछन्। आर्थिक स्थितिमा सुधार आउनुका साथै सामाजिक प्रतिष्ठा पाइनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। तर केही विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा व्यावहारिक चुनौती आउनेछन्। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले लेनदेनमा सजग रहनुहोला। यस महिनाको ग्रहयोगले शिर, आँखा वा दाँत सम्बन्धी समस्या निम्त्याउन सक्छ। स्वास्थ्यमा मौसमी समस्याबाट बच्न अलि सजग रहनुहोला।

वृष -टाउको दुखाइ, ज्वरो वा मौसमी समस्याले सताउने हुँदा स्वास्थ्य कमजोर बन्न सक्छ। खर्च र विवादले मन अशान्त रहनेछ भने केही चुनौतीसँग जुध्नुपर्ने देखिन्छ। समयमा काम गर्न नसक्दा अवसर गुम्ने डरले पनि सताउनेछ। आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ। तापनि, लगनशीलता एवं बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। साझेदारसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्। कृषि र पशुधनबाट फाइदा हुनेछ। अस्थायी पेसा पनि लाभदायी रहनेछ। संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। महिनाको उत्तरार्धकालमा नाम र दाम हासिल गर्न सकिनेछ।

मिथुन -भैपरी आउने समस्याले नयाँ योजना स्थगित हुन सक्छ। लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ। महत्त्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ। व्यापारमा मन्दी आउने, काम रोकिने र खर्च बढ्ने समय छ। स्वास्थ्यमा शिर र पाउसम्बन्धी समस्या देखापर्न सक्छ। प्रतिस्पर्धी बढ्ने हुँदा शुभचिन्तकहरूलाई साथमा लिएर अघि बढ्नुहोला। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। सरकारी निकायबाट हुने कडिकडाउको सिकार समेत भइएला। वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। मिहिनेत गर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। पहिलेको कामबाट राम्रो दाम प्राप्त हुनेछ। अनावश्यक दौडधुपले धन तथा समय खर्च गराउन सक्छ।

कर्कट -विभिन्न अवसरले पछ्याउनेछन्। खुसीको समाचार सुन्न पाइनेछ। रोकिएका काम बन्नुका साथै आकस्मिक लाभ हुने समय छ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ। भौतिक साधन जुट्नाले भविष्यप्रति आशा जाग्नेछ। आयआर्जनका स्रोतसमेत बढ्नेछन्। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। प्रतिस्पर्धी परास्त हुनेछन्। व्यापार, कृषि तथा पशुधनबाट पनि यथेष्ट लाभ मिल्ने ग्रहयोग छ। भोगविलासका सामानसमेत प्राप्त हुनेछन्। तर, महत्त्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ। आफन्तको स्वास्थ्य कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्नेछ। भैपरी आउने समस्याले खर्च बढाए पनि मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ।

सिंह -यो महिनामा विशेष स्रोत–साधन जुट्नेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। कीर्तिमानी कामले प्रतिष्ठा दिलाउनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा हुनेछ र थप लगानी बढाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। तारिफयोग्य काम गर्दै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

कन्या -परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि पुरुषार्थी काम गर्न सकिनेछ। आँटले लक्ष्यमा पुर्याउनेछ। अधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउन सक्छ। मौसम र वातावरणको प्रभावले स्वास्थ्यबाधा हुन सक्छ। सरोकार नभएका विषयमा चासो राख्नाले अनावश्यक झमेला पनि आइलाग्न सक्छन्। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। समय लागे पनि मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोगले विशेष काम बन्नेछन्। नयाँ व्यवसाय प्रारम्भ हुन सक्छ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

तुला -आयमूलक काममा मन्दी आउनाले अर्थअभावले सताउन सक्छ। आँटेका काममा अरूले हस्तक्षेप गर्न सक्छन्। मौसमी बाधा, कब्जियत तथा ढाड–कम्मर सम्बन्धी समस्याले स्वास्थ्य समेत कमजोर रहनेछ। नियमित काममा पनि सक्रियतापूर्वक जुट्न नसकिएला। वैधानिक हस्तक्षेपले व्यवसायमा समस्या आउन सक्छ। सञ्चित रकम खर्चनुपर्ने परिस्थिति देखापर्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ। सरोकार नभएका विषयमा चासो राख्नाले अनावश्यक झमेला पनि आइलाग्न सक्छन्। अध्ययनमा धेरै समय दिन नसकिएला। विश्वासपात्रले समेत आफ्ना कमजोरीबाट फाइदा उठाउन सक्छन्, गोपनीयतामा विशेष सावधान रहनुहोला।

वृश्चिक -अरूको भरपर्दा व्यर्थैमा काम बिग्रन सक्छ। समयको प्रतिकूलताले नयाँ आर्थिक कारोबार र लगानी सुरक्षित नहुन सक्छ। सरकारी कामकाजमा विलम्ब हुनेछ। अवसर आए पनि समयमा काम नबन्दा पछि परिनेछ। बलजफ्ती गर्दा थप समस्या आउन सक्छ। घरखर्च बढ्नेछ भने आयआर्जनमा कमी आउनेछ। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ। जीवनसाथीलाई पनि केही पीडा हुने ग्रहयोग छ। तापनि व्यवसायमा लगानी बढाउन सकिनेछ। नयाँ काम गर्न समय लागे पनि प्रयत्न गर्दा रोकिएको कामले निकास पाउनेछ। यात्राको साइत पनि जुर्न सक्छ। व्यापारमा फाइदा नभए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउने चेष्टा गर्नुहोला।

धनु -रोकिएका काम पुनः प्रारम्भ गर्ने समय छ। मिहिनेत गर्दा प्रतिस्पर्धाको दौडमा सजिलै अग्रस्थान हासिल हुनेछ। शत्रुहरू झुक्नेछन् तर औपचारिक सम्झौताले मात्र विवाद नटुंगिन सक्छ। मनको द्वन्द्वलाई पनि सम्झौतामा रूपान्तरण गर्ने प्रयास गर्नुहोला। भविष्यका लागि नयाँ काममा जग बसाउन सकिनेछ। प्रयत्न गर्दा विभिन्न अवसर पनि प्राप्त हुनेछन्। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। तर, परिवारजनको भावना समेट्न नसक्दा साथ, सहयोग नजुट्न सक्छ। मित्रताको बन्धन कसिलो हुनेछ तर प्रेमको बन्धन कमजोर बन्न सक्छ। अध्ययनमा प्रगति हुनेछ तर लगनशील बन्न नसकिएला। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नुहोला।

मकर -परिस्थिति अनुकूल नभए पनि केही अवसर पाइनेछ। तर, सामान्य अवसरमा अलमलिनु भन्दा दिगो अवसरका लागि प्रयत्न गर्नुहोला। अस्वस्थताले नयाँ काम र अध्ययनमा बाधा पुर्याउनेछ। तापनि मिहिनेत गर्दा प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। धेरै आर्जन गर्न नसकिए पनि दिगो स्रोत जुटाउन सकिनेछ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययन तथा रोजगारीका लागि यात्राको प्रक्रिया मिलाउने समय छ। केही दौडधुप गर्नुपरे पनि सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। स्वास्थ्यका लागि खानपान र व्यवहारमा सजग रहनुपर्ला। नयाँ काममा वैधानिक व्यवस्था विचार गरेर मात्र प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा जीवनशैलीमा केही परिवर्तन आउनेछ।

कुम्भ -यो महिनामा छाती तथा पेटको समस्याले सताउन सक्छ। घरेलु व्यवसाय र भूमिबाट केही लाभ मिले पनि घरपरिवारमा असमझदारी बढ्न सक्छ। सामूहिक भावना विखण्डित हुनाले सगोलको घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। निकटजनहरूसँग असमझदारी बढ्नेछ। उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा दिगो फाइदा उठाउन नसकिएला। तापनि सत्पात्रको संगतले व्यवहारमा सुधार आउनेछ। अप्ठ्यारो समयमा साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सकिनेछ। मिहिनेत गर्दा कृषि र व्यापारमा सामान्य फाइदा हुनेछ। लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। नयाँ काम थालनी गर्न केही समय प्रतीक्षा गर्नुहोला।

मीन -विभिन्न अवसर जुट्नाले यो महिना निकै लाभदायक रहनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। प्रतिष्ठित काम शुभारम्भ हुनेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुने ग्रहयोग छ। महत्त्वपूर्ण निर्णय लिने समय छ। शुभचिन्तकहरूले साथ दिनेछन् भने वैरभाव राख्नेहरूले हार खानेछन्। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरीमा पदोन्नति वा सुगम स्थानान्तरण हुन सक्छ। महिनाको अन्त्यतिर शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। आर्थिक पक्ष सबल बन्नेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले जीवनशैलीमा पनि परिवर्तन आउनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार