स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको प्रतिवद्धता

  मूलधारपोष्ट  163 पटक हेरिएको

गृह मन्त्रालयले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने बताएको छ । आज गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्न जोकोहीलाई तत्काल नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने बताउनुभएको हो । प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ।

‘२०७८ साल जेठ १३ गते राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्यु भएको घटनालाई लिएर उक्त वार्डमै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमण भएको भन्ने सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । कोरोना महामारीको विषम परिस्थितिमा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी माथि हातपात र दुव्र्यवहार हुनु निन्दनीय कार्य भएको पनि प्रवक्ता दाहालले बताउनुभएको छ ।

भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली रावतको मृत्यु भएपछि आफन्तहरूले हिजो राति कोभिड वार्डमा खटिएका चिकित्सक र नर्सिङ स्टाफलगायतलाई दुव्र्यवहार गरेको अस्पतालले जनाएको छ । घटनापछि भेरी अस्पतालमा तनाव सिर्जना भएको छ । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुव्र्यवहार हुनु खेदजनक भएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले आज ट्विट गर्दै विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै महामारीलाई परास्त गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । स्वास्थ्यकर्मि माथी भएको आक्रमणको चौतर्फि बिरोध भैरहेको छ ।

मानव अधिकार आयोगको आपति 
राष्ट्रिय मानव अधिकार आयोगले पनि बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि भएको आक्रमण प्रति विरोध जनाएको छ । आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले आज नै भेरी अस्पतालको स्थलगत अनुगमन पनि गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, यस प्रकारको कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै महामारीको सङ्कटपूर्ण अवस्थामा स्वास्थ्य जस्तो अत्यावश्यकीय सेवालाई कुनै पनि तवरले अवरोध हुने अवस्था सिर्जना हुन नदिन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य जस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार