आवश्यक परे जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्छु – सापकोटा

  पत्रपत्रिकाखबर  132 पटक हेरिएको

सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक परेको खण्डमा आफुले जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्नुपर्ने अवस्था आउने बताएका छन्। आज संविधानविदहरूसँग छलफलका क्रममा उनले जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पेको र संघीय संसदको हैसियतले त्यो अधिकार आफूबाट अभिव्यक्त हुने बताए। ‘

संविधान र प्रतिनिधि सभा नियमावली अनुसार म चल्नुपर्छ। नेपाली जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पिएका छन्। संघीय संसद्को नेतृत्वको र प्रतिनिधि सभाको सभामुखको हैसियतले त्यो अधिकार मबाट अभिव्यक्त हुनुपर्छ,’ उनले भने, ‘आवश्यक पर्दा देश, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले जनताले प्रदान गरेको अधिकार आवश्यक पर्दा प्रयोग गर्नुपर्छ।’

उनले संविधानमा सबै कुरा लेखिएको नहुने पनि बताएका थिए। संविधान राष्ट्र र राष्ट्रिय हितका लागि भएकोले त्यसलाई केन्द्रविन्दूमा राखेर अगाडि बढ्ने पनि बताए। संविधान र प्रतिनिधि सभा नियमावलीअनुसार आफू चल्नुपर्ने उनको भनाइ थियो। प्रतिनिधिसभाको दोस्रो विघटनले अदालतको आदेशको पालना नभएको पनि सभामुख सापकोटाको भनाइ थियो । त्यस्तै, सरकार गठनका विषयमा कसको पक्षमा बहुमत छ र कसकोमा छैन भन्ने कुराको निर्क्यौल संसद्ले गर्नुपर्नेमा राष्ट्रपतिले गरेको भन्दै उनले असन्तुष्टि पनि जनाए ।

उनले पूर्वसभामुखहरूसँग र संविधानका विज्ञसँग छलफल गरेकोले अब पार्टीहरू र पत्रकारलगायत सँग पनि छलफल गर्ने बताए। ‘योजना र कार्यक्रम म भन्न सक्दिनँ। पार्टीहरूसँग नै छलफल गर्ने हो। पार्टी शक्तिका संवाहक मात्र होइन पावरहाउस पनि हुन्। जनताको शक्ति पार्टीमा पनि हुन्छ,’ उनले भने। यसैबीच उनले सबैभन्दा धेरै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले संविधान पालना गर्नुपर्ने पनि बताएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार