यो बर्ष यी राशिलाई हुदैछ भाग्योउन्नती

  बार्षिक राशिफल  285 पटक हेरिएको

मेष राशि : मेष राशि हुनेहरूका लागि मध्यमस्तरको फलका साथमा नयाँ वर्ष २०७८ को प्रारम्भ भएको छ । पहिलेदेखि देखिएका पारिवारिक समस्याहरू हल हुने सङ्केत छ । वर्षको अधिकांश समय बृहस्पति अनुकूल हुनाले धार्मिक स्थलहरूको भ्रमण, सन्तान सुखप्राप्ति, आकस्मिक लाभ, शिक्षामा सफलता जस्ता शुभ परिणाम मिल्नेछ । वर्ष प्रवेशको समयमा दोस्रो घरमा राशिस्वामी मङ्गलका साथमा राहुको युतिसम्बन्ध बनेको तथा आठौं घरमा केतु बसेको हुँदा रिस, घमण्ड र अहङ्कार हाबी हुने वर्ष छ ।

यसको प्रभावले स्वास्थ्यमा समस्या, मानहानि, खर्चबृद्धि, पापकर्ममा रुचि, हाडजोर्नी र नसासम्बद्ध रोग, घरका बृद्धबृद्धाको अवस्था कमजोर, मानसिक तनाव, वैरभाव, झुट्टा आरोप, धनहानि आदि नकारात्मक फल प्राप्ति हुने हुँदा सचेत र सतर्क रहनु पर्दछ । दशमेश शनिश्चर वर्षभरि दशमभावमा नै स्वगृही भई बस्ने हुँदा समग्रतामा मानसम्मानमा बढोत्तरी र व्यापारव्यवसायमा लाभ मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहने छ ।अध्ययन, अध्यापन र वैदेशिक प्रयोजनका काममा सफलता मिल्नेछ । यद्यपि जेठ ०५ गतेपछि असोज २२ गतेसम्म शनिको गतिमा बक्रता आउने हुँदा यस अवधिमा धार्मिक, सामाजिक र सांस्कृतिक काममा बाधा पुग्ने देखिन्छ ।

स्थान परिवर्तनको योग हुनुका साथै आवश्यक निर्माण कार्यमा रकम लगानीको सम्भावना पनि देखिन्छ । त्यस्तै यस बीचमा मनमा आशान्ति, काममा ढिलासुस्ती, अनावश्यक झमेलामा फँस्नुपर्ने, अनावश्यक आर्थिक भार आइलाग्ने, निरर्थक भ्रमण हुने सङ्केत छ, साथै उक्त समयमा घरका बृद्धसदस्यको स्वास्थ्यस्थितिमा बाधा, दुर्घटना र चोटपटकको सम्भावना पनि छ समग्रमा मेष राशि हुने जातकहरूका लागि वैशाख, असार, आश्विन, माघ र फाल्गुन महिनाहरू सहज रहने छन् । मेष राशिदेखि जगल्लग्न बाह्रौं घरमा अर्थात् व्ययस्थानमा रहेकाले काम गर्दा सोचेभन्दा राम्रै परिणामहरू प्राप्त हुनेछन्, तर याद गर्नुहोला, हरेक काममा चिताएको बजेटले पुग्दैन, खर्चको मात्रामा बृद्धि हुने वर्ष हो । त्यस्तै वर्षप्रवेशका समयमा राशिस्वामी मङ्गल र राहुको युति रहेकाले आँट हिम्मत र साहसमा त बृद्धि नै हुन्छ, तर रिस, घमण्ड र स्वेच्छाचारिताले बनेको काम पनि बिग्रन सक्छ, सचेत हुनुपर्छ भाग्येश बृहस्पति र कर्मेश शनि जेठदेखि असोजसम्म बक्री रहेकाले यस अवधिमा विवाद र कलहबाट टाढा रहनु राम्रो हुन्छ । यस वर्षलाई अझ शुभ फलदायी बनाउनका लागि मेष राशिका सबै जातकले दैनिक हनुमान् चालिसा वा गणेश अथर्वशीर्षको पाठ गर्नु मुनासिब हुनेछ ।

बृष राशि : बृष राशि हुनेहरूका लागि नयाँवर्ष २०७८ को जगल्लग्न लाभ भावमा परेको हुँदा समग्रमा हर्ष, उमङ्ग र उत्साह लिएर उपस्थित भएको छ । व्यापारबाट सामान्यतया लाभ नै हुनेछ । वैदेशिक प्रयोजनका काममा शुभ फल प्राप्त हुनेछ । धार्मिक, सांस्कृतिक र पर्यटकीय यात्राको सम्भावना छ । सन्तति तथा भाइबहिनीका तर्फबाट प्रसन्नता मिल्नेछ । वैदेशिक प्रयोजनका काममा सफलता मिल्नेछ । तर वर्षप्रवेशको समयमा शिरमा मङ्गल र राहुको उपस्थिति तथा राशिस्वामी बाह्रौं भावमा रहेकाले केही झिनामसिना समस्या र झैझमेला भने देखा पर्न सक्छन् शिरमा बसेको राहुको प्रभावले काममा ढिलासुस्ती, स्वास्थ्यमा बाधा, झुट्टा आरोप आदिको सम्भावना छ । सवारीसाधन हाँक्दा र हातहतियार चलाउँदा होस राख्नुपर्छ । जग्गाजमिन र जायदातसम्बद्ध समस्या बल्झिने वा मुद्दामामिला हुनसक्ने सङ्केत छ ।

त्यस्तै दाम्पत्य जीवनमा समस्या पर्नुका साथै बन्दव्यापारमा पनि नोक्सानीको सङ्केत देखिन्छ । सामाजिक कामबाट खिन्नता हुनेछ । कम बोलेको जाति हुन्छ । वर्षको अरु समय राम्रै भए पनि खासगरी जेठ, असोज र माघ महिना कष्टप्रद रहने छन् समग्रमा बृष राशि हुने जातकहरूका लागि यस वर्षमा ज्येष्ठ, श्रावण, कात्तिक, फाल्गुन र चैत्र महिना सार्थक रहने छन् । अचल सम्पत्ति र पैतृक सम्पत्तिमा लाभ हुनेछ । घुमघाम, मनोरञ्जनात्मक क्षेत्र, तीर्थयात्रा र वैदेशिक कार्यक्रम सफल हुनेछन् । खासगरी असार ६ गतेदेखि असोज २२ गतेसम्म शनिको बक्रताका कारण जन्मकुण्डलीमा समेत शनिको नकारात्मक स्थिति भएमा कार्यमा शिथिलता र स्वास्थ्यमा नकारात्मता देखिने सम्भावना भएकाले बृष राशिका सबै व्यक्तिले प्रत्येक शनिबार पीपलमा जल चढाउनु, काला चिजबिज र छायापात्र दान गर्नु र भगवान् विष्णु र लक्ष्मीको आराधना गर्नु श्रेयस्कर हुनेछ ।

मिथुन राशि : नयाँ वर्ष २०७८ मिथुन राशिका जातकका लागि मिश्रित परिणामका साथमा उपस्थित भएको छ । वर्षारम्भमा राशिस्वामी बुध जगल्लग्नमा र कर्मक्षेत्रमा मीन राशिमा तथा बृहस्पति र केतु तपाईंको अनुकूल रहेको हुँदा मानसम्मान बढ्नेछ । परिवारमा माङ्गलिक कृत्य सम्पादन हुनेछ । आर्थिक उन्नतिका निमित्त नयाँनयाँ मार्गहरू प्राप्त हुनेछन्, गरेका प्रयासमा सफलता पाइनेछ नोकरी, व्यवसाय र सामाजिक काममा मानसम्मान मिल्नेछ । सन्ततिपक्षबाट प्रसन्नता हुनेछ, तिनका उन्नति, प्रगतिका समाचार सुन्न पाइनेछ । भूमि, वाहन र भौतिक सुखसुविधाका वस्तु जुटाउने अवसर मिल्नेछ । नचिताएको ठाउँबाट अचानक लाभ पाइनेछ ।

शैक्षिक र प्राज्ञिक उन्नयनका दृष्टिले वर्षको उत्तरार्द्धमा सफलता पाइनेछ । तर वर्षभरि नै आठौं शनिको अढैया दशा रहने तथा बाह्रौं भावमा राहुको उपस्थिति भएकाले पुर्ख्यौली सम्पत्ति र लेनदेनको कारोबारमा झैझगडा, झुट्टा आरोप, शरीरमा आलस्य, मनमा अशान्ति, बन्धनको स्थिति, धनहानि, शत्रुबृद्धि, हाडजोर्नी र नसासम्बन्धी रोगजस्ता अशुभ फल प्राप्त हुनेछ । द्वादश भावको राहुको प्रभावले महत्त्वाकाङ्क्षा फलीभूत हुने छैनन्, फजुलका विवाद र कलहमा फँस्ने भय छ ।समग्रमा मिथुन राशि हुने व्यक्तिका लागि आगामी २०७८ सालको वैशाख, भदौ, मंसिर र चैत्र महिना सहयोगी रहने छन् । जगल्लग्न कर्मक्षेत्रको राशि मीन रहेकाले अत्यधिक आशावादी बन्ने समय हो ।

तर हिजोआज आठौं भावमा बसेको शनिको अढैयाको प्रकोप रहेकाले यस वर्ष हरेक काम गर्दा प्रशासनिक झमेला, मुद्दामामिला र झैझगडाको सिर्जना हुन्छ कि भनी सतर्क भएर काम गर्नुपर्ने समय हो । अझ जेठदेखि असोजसम्म शनिको गतिमा बक्रता आउने हुँदा सवारी हाँक्दा, बाटो काट्दा, हातहतियारको प्रयोग गर्दा सावधान र सतर्कता अपनाएको राम्रो हुन्छ । यो वर्षलाई अझ राम्रो बनाउन तपाईंले भक्तिभावपूर्वक बुध र शनिको मन्त्रजाप, छिन्नमस्ता एवं काली भगवती र वटुकभैरवको पूजा–उपासना गर्ने तथा जन्मोत्सव मनाउने क्रममा शनिको स्वस्तिशान्तिको आयोजना गर्नाले विघ्नविनाश गर्न धेरै सहयोग पुग्नेछ ।

कर्कट राशि : कर्कट राशिका जातकका लागि नयाँ वर्ष २०७८ केही राम्रा र केही नराम्रा परिणामका साथमा उपस्थित भएको छ । पशुपालन र बन्दव्यापारबाट लाभ मिल्नेछ । भूमि, वाहन र भैतिक सम्मृद्धिका प्रयास सफल हुनेछन् । शत्रुहरू पराजित हुनेछन् । नोकरीमा मानसम्मान पाइने छ । सामाजिक कामबाट प्रशंसा पाइने छ । सन्तति र भाइबहिनीले खुसी दिनेछन् । वर्षारम्भमा आँखासम्बद्ध रोगव्याधिको प्रकोप छ भने जेठदेखि असोजसम्म शनिश्चरमा बक्र गति हुने तथा प्रायः वर्षभरि बृहस्पति प्रतिकूल रहनाले पारिवारिक कलह, दाम्पत्य किचलो र कुबुद्धिको प्रबलता बढ्ने सम्भावना छ । अनावश्यक वादविवाद र बहसले तनाव सिर्जना गर्नसक्छ ।

लेनदेनको विषयले आफन्तका बीचमा मनमुटाव र कलह हुनेछ । मानसिक व्यथा र खिन्नता बढ्ने स्थिति आउनेछ । वैदेशिक प्रयोजनका कामबाट फाइदा लिन सकिंदैन । खर्चको मात्रामा बृद्धि हुनेछ । तर असोजपछि सप्तमेश शनिको अनुकूलताले घरपरिवारमा खुसीको वातावरण बन्नेछ । माङ्गलिक कर्मको आयोजना हुनसक्छ । एकादश भावमा उपस्थित राहुले तपाईंलाई वर्षभरि शुभ परिणाम दिलाउनेछ, त्यस्तै पञ्चम भावमा बसेको केतुको प्रभावले सन्ततिपक्षबाट प्रसन्नता दिलाउनेछ ।

सामान्यतया यस वर्षको वैशाख, जेठ, असोज र पुस महिना तपाईंका लागि अनुकूल महिना हुनेछन् समग्रमा कर्कट राशि हुने व्यक्तिका लागि आगामी २०७८ सालको वैशाख, जेठ, असोज र पुस महिना फलदायक रहने छन् । जेठदेखि असोजसम्म शनिदेवको बक्रताले पारिवारिक सम्बन्ध, दाम्पत्य जीवन र प्रेमसम्बन्धमा नकारात्मक प्रभाव पार्नेछ । व्यवहारिक र घरायसी खर्चमा बृद्धि हुनेछ । दाजुभाइ र साझेदारहरुका साथमा आर्थिक झमेला हुनसक्छ । जेजस्तो भए पनि नववर्ष प्रवेशका दिन कर्मक्षेत्रमा चन्द्रमा रहेका कारण यो वर्ष व्यस्त दिनचर्याका साथमा व्यतीत हुनेछ । कर्कट राशिका जातकले सम्पूर्ण दृष्टिले यस वर्षको शुभफल प्राप्त गर्न वर्षको प्रारम्भमा नै अरिष्ट निवारण र निर्विघ्न कार्यसिद्धिका लागि लघुरुद्राभिषेक कार्य गर्ने वा वर्षभरि हरेक सोमवारका दिन शिवालयमा दुग्धधाराको अभिषेक गर्ने अथवा भगवान् शङ्करको पूजा–आराधना गर्दा समयलाई फलदायी बनाउन मद्दत पुग्नेछ ।

सिंह राशि : सिंह राशिका जातकका लागि यस वर्षको सुरुवातमा राशिमा दशम भावमा राहु र सप्तम भावमा बृहस्पति ग्रहको उपस्थिति रहेको र शनिदेवले छैटौं भावको यात्रा गर्ने हुँदा यो वर्ष अत्यन्त सकारात्मक र शुभ परिणामका साथमा उपस्थित भएको छ । यो वर्ष तपाईंको घरमा विवाह, व्रतबन्ध, पुराण वा कुनै माङ्गलिक उत्सव सम्पन्न हुनेछ । माया मारेको सम्पत्तिको हातलागी हुने समय छ । आम्दानीका नयाँ मार्गको पहिचान हुनेछ । नोकरी र सामाजिक क्षेत्रमा मानसम्मान पाइनेछ । बन्दव्यापार र खेतीपातीबाट पनि लाभ मिल्नेछ । शत्रुहरू वशमा रहनेछन् वैदेशिक प्रयोजनका कामबाट लाभ हुनेछ । दाम्पत्यसम्बन्ध सुमधुर रहने छ । वर्षारम्भमा चतुर्थ भावमा केतु रहेकाले बाध्यात्मक कामका लागि ऋण काढ्नु पर्ने हुन्छ । पेटसम्बन्धी रोगले दुःख दिनेछ, मोटर÷वाहनका कारण खर्च बढ्ने परिस्थिति बन्नसक्छ ।

तर विदेशमा बस्नेहरूका लागि केतुको प्रभावले महत्त्वाकाङ्क्षा फलीभूत हुनेछ समग्रमा सिंह राशिका जातकका लागि यो वर्ष गज्जबको समय छ । विवाहयोग्य युवायुवतीको वैवाहिक प्रस्ताव प्राप्त हुने योग हो र विवाहका माध्यमबाट विदेश जाने सपना छ भने यस अवधिमा पूरा हुनसक्छ, प्रयास गर्नुहोला । प्रेम जीवनले दाम्पत्य जीवनमा प्रवेश गर्नेछ । पेसा, व्यवसाय र कामधाममा उन्नति हुने तथा सम्मान र प्रभाव बढ्नेछ । तर सप्तमेश शनिदेवको बक्र अवधि (जेठदेखि असोजसम्म) पारिवारिक व्यवधान र शत्रुबाधा उत्पन्न रहेकाले उन्नति प्रगतिमा केही बाधा हुनसक्छ । त्यसैले ग्रहजन्य दुष्टफल निवारणका लागि यस वर्षको प्रारम्भमा नै शनिमृत्युञ्जय र राहुसूक्तको पाठ वा वर्षभरि शनि र राहुको विशेष आराधना वा विधिपूर्वक वटुक भैरव तथा काली भगवतीको पूजा–उपासना गर्नाले यस वर्षलाई उन्नत र सार्थक तुल्याउन मद्दत पुग्नेछ ।

कन्या राशि : कन्या राशिका जातकहरूका लागि नयाँ वर्ष २०७८ सामान्य वर्ष रहनेछ । यो वर्ष बृहस्पति र राहु अशुभ फलदायी रहेकाले स्वास्थ्यसम्बन्धी समस्या, चिन्ता, धनहानि, शत्रुबाधा, पापकर्मको रूचि, सन्तानसम्बन्धी समस्या आदि अशुभ फलप्राप्ति भए पनि केतु अनुकूल रहनाले सुखबृद्धि र धनलाभ हुनेछ । परिवारमा माङ्गलिक कार्य हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । वर्षान्तमा आकस्मिक धनलाभ हुनेछ । पशुव्यवसाय र जग्गाजमिन तथा मोटर गाडी जस्ता कारोबारबाट विवाद र हानि ब्यहोर्नुपर्छ वर्षको उत्तरार्द्धबाट अध्ययन÷अध्यापनमा सुधार आउनेछ । खासगरी पाँचौं भावमा बसेको शनिश्चरको जेठदेखि असोजसम्म बक्र गति रहेकाले यस अवधिमा आर्थिक सङ्कट र काममा ढिलासुस्तीका लक्षणहरू देखिनेछन् । उक्त अवधिमा पठनपाठन र ज्ञानगुनका क्षेत्रमा मन जानेछैन ।

नोकरीमा जति खटे पनि अपजस ब्यहोर्ने परिस्थिति बन्नेछ । दाम्पत्य सम्बन्धमा विश्वासको सङ्कट हुनेछ । वर्षारम्भमा राशिस्वामी बुधले सप्तम भावमा उपस्थिति जनाएको तथा यही भाव जगल्लग्नसमेत परेको हुँदा पदोन्नति हुनेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ र पारिवारिक समस्या हल हुनेछन् । वैवाहिक जीवन, सन्तानसुख, पेसागत स्थिरताका लागि प्रतीक्षा गर्दै गरेका जातकले इच्छा पूर्ण गर्ने अवसर आउने छ । शुभचिन्तक एवं सहयोगीहरूले साथ दिनेछन् । धार्मिक, सामाजिक र सांस्कृतिक काममा संलग्न भइने छ । वैदेशिक यात्राबाट लाभ मिल्नेछ ।

समग्रतामा कन्या राशिका जातकका लागि चतुर्थेश र सप्तमेश मानिने बृहस्पति ग्रह छैटौं भावमा रहेकाले मुद्दामामिला, झैझगडा र विवादबाट टाढा रहने समय हो । खुट्टा तान्ने, खिसीट्युरी गर्ने र पछाडि बसेर अवरोध सिर्जना गर्ने शत्रुहरूको हरेक क्रियाकलापलाई निगरानी गर्नु बेस हुन्छ । कुनै झगडा वा विवाद कोर्ट वा थानामा पुग्नुअघि नै मिलाउने प्रयास गर्नुहोला, नत्र अत्यधिक दौडधूप र माथापिच्ची गर्ने परिस्थिति बन्नेछ । कुनै पारम्परिक काममा चिताएको बजेटभन्दा बढी खर्च हुने योग छ । शैक्षिक वा रोजगारीको प्रयोजनले विदेश जाने योजना सफल हुन्छ । वैदेशिक प्रयोजनको ग्रिनकार्ड, नागरिकता वा आवासीय स्वीकृति लिन सकिने छ । यो वर्ष देखापर्ने अशुभ फल निवारण होस् र शुभफलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले जन्मकुण्डलीमा रहेका ग्रहहरूको स्वस्तिशान्ति गरिदिने तथा कुलपितृसम्बद्ध काममा दिलचस्पी राख्नु राम्रो हुन्छ ।

तुला राशि : छैटौं भावमा जगल्लग्न परेको तथा सप्तम भावमा राशिस्वामी शुक्र अस्तावस्थामा रहेकाले तुला राशिका जातकहरूका लागि यो वर्ष मध्यम प्रभाव भएको वर्ष हुनेछ । अर्काको हातमा गएको धन फिर्ता आउने छ । घरपरिवारमा माङ्गलिक कृत्य सम्पन्न हुनेछ । प्रशंसकहरू बढ्नेछन् । वैदेशिक क्षेत्रका कामहरू सफल हुनेछन् । व्यापार, कृषिक्षेत्र र पशुपन्छीबाट फाइदा लिन सकिने छ । नोकरीमा पदोन्नति हुनेछ । यो वर्ष चतुर्थ भावमा बसेको शनिदेवको अढैयाको पूर्ण प्रभाव रहने तथा दोस्रो भावमा केतु र अष्टम भावको मङ्गल र राहुले अशुभ फल प्रदान गर्ने समय हो । यसको प्रभावले प्रेम तथा वैवाहिक जीवनमा विवाद र कलह हुने तथा व्यक्तित्वको टक्करको परिस्थिति बन्नेछ स्थायी सम्पत्तिको बेचबिखन गर्नु पर्नेछ । ऋणभार बढ्नसक्छ, जसले गर्दा आर्थिक पक्ष पेचिलो बन्ने छ, आफन्तसँग वैरभाव सिर्जना हुनसक्छ ।

व्यक्तिगत र पारिवारिक स्वास्थ्यमा धन खर्चको योग छ । चोटपटकको भयसमेत देखिन्छ । नोकरी र सामाजिक कार्यमा अपजस व्यहोर्नु पर्छ । मनमा अशान्ति, आर्थिक सङ्कट, काममा ढिलासुस्तीको योग छ । अभिभावकको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नसक्छ । धनखर्च गराउने नयाँनयाँ समस्याहरू सिर्जना हुनेछन् । तर देवगुरु बृहस्पतिको चतुर्थ र पञ्चम भावमा उपस्थिति हुने हुँदा केही शुभ परिणाम पाउन सक्नुहुन्छ समग्रमा समग्रमा तुला राशिका जातकका लागि यस वर्षको साउन, भदौ, पुस र चैत्र महिना अनुकूल रहने छन् । जेठदेखि असोजसम्म चतुर्थ भावमा बक्र अवस्थामा रहने शनिले धनसञ्चयमा बाधा पुर्याउने छ । पुर्ख्यौली सम्पत्तिको विवाद चुलिन सक्छ । दोस्रो भावको केतुले उच्चाकाङ्क्षा उत्पन्न गर्ने र धन जोखिममा पार्ने समय हो । वर्षभरि बृहस्पतिको शुभफल पाइने छ, शैक्षिक उन्नतिका लागि चालेको हरेक कदम सफल हुनेछ । जागिरमा पदोन्नति हुने वा चाहेको कार्यालय वा फाँटमा सरुवा गर्न सकिने छ हस्थीहरूले छोराछोरीका समस्याबाट मुक्ति पाउने छन्, अनि तिनले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नाले खुसी हुने अवसर पाउनेछन् । किशोर÷किशोरीको प्रेमभाव सिर्जना हुने वा नयाँ प्रेमसम्बन्ध सुरु हुने समय हो । नयाँ दम्पत्तिले बच्चा बनाउने योजना बनाउन सक्छन् । यो वर्ष अझ राम्रो होस् भन्ने उद्देश्यले जन्मकुण्डलीमा कमजोर ग्रहहरूको प्रतिकूल स्थिति छ भने शिवजी, वटुक भैरव र बगलामुखीको पूजा–आराधना गर्ने तथा राहु र मङ्गल ग्रहको मन्त्रजाप गर्ने त्यस्तै हरेक मङ्गलवार व्रत, तीर्थ, दानादि गरेमा यो वर्षलाई बलियो बनाउन मद्दत पुग्नेछ ।

बृश्चिक राशि : बृश्चिक राशिका जातकहरूका लागि शनिश्चर ग्रह शुभ फलदायी रहेको तथा बृहस्पति, राहु र केतु अशुभ फलदायी रहेकाले मध्यम स्तरको समयका रूपमा नयाँ वर्ष २०७८ सालको आगमन भएको छ । शिक्षाक्षेत्रमा सफलता मिल्नेछ । सामाजिक कार्य र नोकरीमा थुप्रै तनावका बाबजुद मानसम्मान र प्रतिष्ठा पाइनेछ । पशुव्यवसाय, जग्गाजमिन, मोटरवाहन आदि कारोबारबाट सामान्य लाभ हुनेछ सातौं भावमा राशिस्वामी मङ्गल र राहुको युतिसम्बन्ध रहेकाले साझेदारीको काम र दाम्पत्य जीवनमा कलह र वैमनस्यको वातावरण बन्नेछ । प्रेमी÷प्रेमिकाको आपसी सम्बन्धमा धमिलोपन देखिनाले मानसिक पीडा हुनेछ । दोस्रो भावको मालिक बृहस्पतिको चतुर्थ भावमा उपस्थिति रहेकाले वैदेशिक प्रयोजनको काम वा विदेशयात्राबाट लाभ पाइने छ । सुविधासम्पन्न जीवन यापन हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ, साथै बन्दव्यापारको विकासमा पनि धनव्यय हुनेछ । अचानक अयाचित लाभ मिल्नेछ समग्रमा बृश्चिक राशिका जातकका लागि वर्षभरि शनिको अनुकूलता नै हुनेछ, साथै चतुर्थ भावमा रहेको बृहस्पतिको पनि शुभफल मिल्नेछ । यो वर्ष गृहनिर्माणको समय हो । राम्रो घरघडेरीको खरिद हुनेछ वा पुरानो घरको मरम्मत सम्भार गर्ने मनस्थिति बन्नेछ । अंश पाउने वा पैतृक सम्पत्ति बाँडफाँड हुने समय पनि हो । सम्पत्ति बेचबिखनको प्रयास सफल हुनेछ । ऋणभार कम गर्न वा साटफेर गरी ऋणसापटी मिलाउन अनुकूल समय छ । यो भौतिक सम्मृद्धिको समय हो मोटर वाहन प्राप्तिको योग पनि छ । तर यस अवधिमा पारिवारिक कलह र मानसिक अशान्तिको सम्भावना भएकाले झैझगडा र विवादबाट टाढा रहने प्रयत्न गर्नुहोला । बाधाव्यवधानबाट सुरक्षित रही शुभफल प्राप्तिका लागि वर्षारम्भमा सम्बद्ध ग्रहको मन्त्रजप, काली, वटुकभैरव र वगलामुखीको आराधना तथा हरेक मङ्गलवारका दिन गणेशजीको उपासनामा जोड गरेमा ग्रहका अरिष्ट पक्षको शमन हुनेछ । समग्रतामा यस वर्षको वैशाख, भदौ, असौज र फागुन महिना शुभ रहने छन् भने असार, कार्तिक र फाल्गुन महिना कमजोर देखिएका छन् ।

धनु राशि : धनु राशिका जातकहरूमा यस वर्ष अन्त्य साढेसातीको पूर्ण प्रभाव रहनेछ । अनावश्यक दौडधूप, मानसिक चिन्ता, चोटपटकको भय, आर्थिक सङ्कट र पेटका रोगको प्रकोप ब्यहोर्नु पर्ने वर्षका रूपमा नयाँ वर्ष २०७८ को आगमन भएको छ । शनिश्चरको साढेसाती र जेठदेखि असोजसम्मको पाँच महिना शनि तथा राशिस्वामी बृहस्पतिको बक्रताका कारण एकपछि अर्को समस्याले पिरोल्न सक्छ । पारिवारिक समस्यामा रुमल्लिनु पर्नेछ । वैदेशिक प्रयोजनका काममा फाइदा लिन सकिंदैन निकटतम व्यक्तिसँग विछोडको सम्भावना र प्रेमसम्बन्धमा मनमुटावको योग छ । पिताको स्वास्थ्यस्थिति वा पैत्रिक सम्पत्तिका विषयमा केही समस्या देखिन सक्छन् । प्रायः वर्षभरि नै तृतीय भावमा राशिस्वामी बृहस्पतिको उपस्थिति रहने हुँदा नोकरी र व्यवसायमा चुनौती र तनावका बावजुद सफलता मिल्नेछ ।

वर्षको पूर्वार्द्धका तुलनामा उत्तरार्द्धमा पशु व्यवसाय, जग्गाजमिन र मोटरवाहनादिका क्षेत्रमा लाभ हुनेछ । अध्ययन÷अध्यापन र ज्ञानगुनका कर्ममा सफलता पाइनेछ । अधुरा रहेका काम पूरा हुनुका साथै नयाँ कामको थालनी हुने सङ्केत छ । सन्ततिसुखको योग छ । व्यापार र पशुव्यवसायबाट सामान्यतया लाभ नै मिल्ने समय छ समग्रमा धनु राशिका जातकका लागि यस वर्षको जेठ, असोज, कार्तिक र फागुन महिना तुलनात्मक रूपमा सहज र आनन्दप्रद रहने छ । सामाजिक क्रियाकलापमा व्यस्त रहने समय हो । राजनैतिक र सामाजिक अभियन्ताहरूका लागि व्यक्तित्व विकासको अवसर मिल्नेछ । विदेश यात्राको सम्भावना छ, त्यस्तै विदेशी कम्पनीहरुमा काम गर्नेले आयस्तरमा बृद्धि गर्ने अवसर पाउने छन् । पराक्रम, साहस र सामर्थ्यमा वृद्धि हुनेछ । विद्यार्थीहरूले शैक्षिक प्रतियोगितामा सफलता प्राप्त गर्नेछन् । धर्म र अध्यात्ममा गहिरो चासो हुनेछ । शनिदेवको अन्तिम साढेसातीको समय भएकाले आर्थिक पक्ष भने कमजोर बनाउन सक्छ, काममा बाधा र मानसिक तनाव भने झेल्नु पर्ने हुन्छ । जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई विभिन्न बाधा आइपर्ने सम्भावना छ । त्यसैले यस राशिका जातकले वर्षभरि कुलपितृको आराधना गर्ने र सुरुवातमा नै १०० आवृत्ति शनिमृत्युञ्जय स्तोत्र वा हनुमान चालिसाको पाठ गराउनु तथा शनिदेवको प्रियताका लगि हरेक शनिवार पीपलमा पानी चढाउनु राम्रो हुन्छ ।

मकर राशि : मकर राशिका जातकहरूका लागि यो वर्ष मिश्रित फलदायी समय हुने सङ्केत छ । हुन त तपाईंको राशिस्वामी शनिको तपाईंको आफ्नै राशिमा उपस्थिति रहेको समय भएकाले बलवान् र आशावादी समय छ भन्दा फरक पर्दैन, यद्यपि यो शनिदेवको मध्य साढेसातीको प्रभावको समय भएकाले झुट्टा आरोप ब्यहोर्नु पर्ने, बन्धनमा पर्ने, धनको नाश हुने, शत्रु बढ्ने र मानसिक तनाव हुने परिस्थिति बनाउने समय पनि हो भन्ने बिर्सनु हुँदैन ।यस वर्ष तपाईंको आफ्नै राशिमा र धनभावमा गुरु बृहस्पतिको उपस्थिति रहने छ, त्यसैले केही राम्रा परिणाम पनि हात पर्नेछन् । यश र कीर्ति बढ्नेछ, आर्थिक पक्षमा उल्लेखनीय सुधार आउनेछ, बोलीमा सिद्धि प्राप्त हुने र मुख बिक्ने समय हो । त्यस्तै कुनै माङ्गलिक र परोपकारी काममा धन लगानी हुनसक्छ । तीर्थाटन र पर्यटनका अवसर मिल्नेछन् । जग्गाजमिन र पशुधनबाट लाभ मिल्ने समय छ । बन्दव्यापारबाट राम्रै लाभ मिल्नेछ । ज्ञान र बुद्धिको क्षेत्रमा सफलता र सम्मान पाइने छ । नोकरीमा पदोन्नतिको सम्भावना छ ।

वैदेशिक क्षेत्रको कामबाट राम्रै फाइदा मिल्नेछ । भौतिक सुख–सुविधा प्राप्त हुनेछ । तर जेठदेखि असोजसम्म शनिदेवको प्रतिकूल फल पाइने समय भएकाले उल्टो फल पाउन सक्नुहुन्छ समग्रमा मकर राशिका जातकका लागि यो वर्ष चुनौती र परीक्षामा खरो उत्रेर सफलता आर्जन गर्नुपर्ने समय हो । घरायसी र पारिवारिक अस्थिरता एवं असन्तुष्टिले प्रभावित पार्न सक्ने भए पनि वर्षभरि नै बृहस्पतिको अनुकूलता हुनाले प्रतिस्पर्द्धी परास्त हुनेछन् । लेनदेन, अंशवण्डा र साझेदारीको समस्या निराकरण गर्न सकिन्छ । जिम्मेवारी र सामाजिक प्रतिष्ठाका लागि गरिएको प्रयास सफल हुनेछ । कुनै जग्गा वा सम्पत्ति जोड्ने योग छ । खुट्टा तान्ने र पछाडि बसेर ब्याक बाइटिङ गर्नेले अनेकानेक प्रयास गरिरहने परिस्थिति छ, त्यसैले हरेक काममा सतर्क रहनुहोला, नत्र षडयन्त्रको शिकार बन्नसक्नुहुन्छ । पेट र पाचनतन्त्रीका रोग देखिनसक्छन्, स्वास्थ्यस्थितिप्रति सतर्क रहनु होला अझ शुभफलको मात्रा बढाउन वर्षको सुरुमा नै कुलदेवताको पूजाआराधना गर्दै महाङ्काल तथा काली भगवतीको नियमित आराधना र प्रत्येक शनिबार पीपलमा जल चढाउँदा फाइदा हुनेछ ।

कुम्भ राशि : कुम्भ राशिका जातकहरूका लागि उतारचढावले युक्त वर्षका रूपमा नयाँ वर्ष २०७८ को सुरुवात भएको छ । राशिपति शनिश्चरको बाह्रौं भावमा उपस्थिति रहनेछ, यसको प्रभावले एउटै काम धेरैपटक दोहोर्याउनुपर्दा मन खिन्न हुनेछ । अझ जेठदेखि असोजसम्म शनिको गतिमा बक्रता रहेकाले यस अवधिमा काममा विलम्ब हुनेछ । आर्थिक पक्ष पेचिलो बन्नेछ, ऋणभार बढ्न सक्छ । शत्रुहरूको चलखेल बढ्नाले मनमा निराशाभाव उत्पन्न हुनेछ । विनाकाम झमेलामा फँस्नु पर्नेछ चोटपटक तथा नसा, जोर्नी वा गुप्ताङ्गसम्बन्धी समस्याले आक्रान्त बनाउने छ । यी केही अशुभ फल प्राप्त भए पनि यस वर्षको अधिकतम समय तपाईंको आफ्नै राशिमा बृहस्पति बस्ने हुँदा सकारात्मक र शुभफलहरू पनि प्राप्त हुनेछन् । यसको प्रभावले सरकारी काम÷कारबाहीबाट लाभ लिन सकिने छ । प्राज्ञिक क्षेत्रमा सफलता पाइनेछ । सन्तानसुख पाइनेछ । गुमेको धन हात लाग्नेछ । पछि लाभ हुने नयाँ कामको थालनी हुनसक्छ । वैदेशिक प्रयोजनका कामबाट फाइदा जुटाउन सकिन्छ ।

नोकरीमा पदोन्नति र सम्मान मिल्नेछ । बन्दव्यापार र खेतीपातीबाट लाभ उठाउन सकिनेछ ।समग्रमा कुम्भ राशिका जातकका लागि यस वर्षको वैशाख, साउन, मंसिर र पुस महिना सकारात्मक रहनेछन् । बृहस्पति अत्यधिक अनुकूल भएको वर्ष हो । यो वर्ष विद्यार्थीले राम्रो रिजल्ट निकाल्नेछन् । युवायुवतीको विवाह सम्पन्न हुनेछ । जागिर र प्रतिष्ठाको खोजीमा रहेकाले चाहेको पद प्राप्त गर्नेछन् । गृहस्थीहरूको घरमा माङ्गलिक कार्य सम्पन्न हुनेछ । बृद्धबृद्धाले तीर्थयात्रा गर्ने वा विदेश यात्राको अवसर पाउनेछन् । प्रायः वर्षभरि राशिस्वामी शनिदेवको आद्य साढेसातीको प्रभाव रहेकाले झुट्टा आरोप, आफन्तसँगको वियोग, आर्थिक सङ्कट, स्वास्थ्यमा बाधा, भय र त्रासको अवस्था र कष्टजस्ता अशुभ फल पाउने भएकाले घरिघरि वैराग्य र निराशाको भावना जाग्न सक्छ त्यसैले कार्यसिद्धिमा कुनै व्यवधान नआओस् भन्ने उद्देश्यले वर्षको सुरुमा शनि मृत्युञ्जय स्तोत्रको यथायोग्य पाठ गर्ने÷गराउने वा जन्मकालमा बृहस्पति प्रतिकूल हुनेहरूले बृहस्पतिको मन्त्रजप गरी कुलपितृको पूजाश्राद्धादि र भगवान् शिवको उपासना गरी अघि बढेमा नवीन उपलब्धी, नयाँ कार्यशैली र आयआर्जनको मार्ग प्रशस्त हुनेछ ।

मीन राशि : मीन राशिका जातकहरूका लागि राशिपति बृहस्पतिको प्रतिकूलता रहने वर्ष हो, नयाँ वर्ष २०७८ । बाह्रौं भावमा बृहस्पति रहेकाले यो वर्ष व्यर्थको काममा समय र पैसा बरबाद हुनसक्छ । अर्काका लागि काम गर्नुपर्ने हुन्छ । खर्च धेरै हुनेछ । शत्रु र प्रतिस्पर्धीले तनावको सिर्जना गर्नेछन् ।स्वास्थ्यप्रति ध्यान पुर्याउन नसक्नाले विविध समस्या उत्पन्न हुन सक्छन् । घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् । वैदेशिक प्रयोजनको काम वा विदेश यात्राबाट लाभ पाइने छ । धार्मिक, पारम्परिक र सांस्कृतिक क्रियाकलापप्रति लगाव बढ्ने छ । यो अत्यधिक दौडधूप गर्ने तथा निरर्थक लगानी र खर्चको समय हो । यस अवधिमा रोगव्याधिको सामान्य प्रभावसमेत देखिने छ । आँखा र पेटसम्बन्धी रोगले दुःख दिनेछ । तर यो वर्ष तृतीय भावमा बसेको राहु र एकादश भावको शनिले शुभ फल प्रदान गर्नेछन् समग्रमा मीन राशिका जातकका लागि द्वादश भावमा बसेको राशिस्वामीको शुभफलमा कमी रहेकाले सधैं असुरक्षाको भावना विद्यमान रहने वर्ष हो, नयाँ वर्ष २०७८ ।

तर पनि एकादश भावमा बसेको शनिश्चर र तृतीय भावको राहुको प्रभावले शुभफल पाउन सकिन्छ, यसको प्रभावले सामाजिक सम्मान प्राप्त हुनेछ । आत्मविश्वास बढ्ने छ । सामाजिक क्षेत्रमा वर्चस्व स्थापित हुनेछ । ससाना यात्राबाट सफलता मिल्नेछ । पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूर्ण कार्य गर्न प्रयास गरिने छ ।वैवाहिक जीवन वा प्रेमप्रसङ्ग सुखद हुनेछ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । जेठ, भाद्र, पौष र माघ महिना सकारात्मक रहने देखिन्छ । तर जेठपछि असोजसम्म राशिस्वामी बृहस्पति बक्रीसमेत हुने हुँदा उक्त अवधि अझ बढी कमजोर छ । त्यसैले कार्यसिद्धिमा कुनै व्यवधान नआओस् भन्ने उद्देश्यले वर्षको सुरुमा सुरुमा बृहस्पतिको मन्त्रजाप, भाग्यभावको मालिक मङ्गलको शुभताका लागि श्री गणेशको उपासना, कुलपितृका कार्यहरू र बटुकभैरवको पूजा–आराधना गर्नाले तपाईंलाई राम्रो नतिजा हात पार्न मद्दत गर्नेछ । कृष्ण प्रसाद काेइराला ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार