कोरोना महामारीमाथि नै मजाक !

  पत्रपत्रिका खबर  374 पटक हेरिएको

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार रहने कि नयाँ सरकार बन्ने छिनोफानो हुने भनिएको दिन बुधबार गण्डकी प्रदेशसभामा एकपछि अर्को नाटकीय घटना देखियो । मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल सकेर बुधबार मतदान गर्ने भनिएको थियो ।

शुरुमा सत्तापक्ष मतदानलाई पर धकेल्न खोजेको देखिन्थ्यो । तर मतदान गर्ने समयमा आइपुग्दा अविश्वासको प्रस्ताव ल्याउनेहरु मतदानमा जान तयार भएनन् । तीन दलको मागअनुसार बोलाइएको विशेष अधिवेशनको दोस्रो बैठक अवरुद्ध गरेको सत्तारुढ नेकपा एमालेकाे मागपछि मंगलबार नै प्रदेशसभा सदस्यहरुको स्वाब संकलन गरिएको थियो ।

बुधबार बिहानै तीन जनामा संक्रमण देखिएको पुष्टि भयो । तर संक्रमित भए पनि मतदान गर्न पाउने भनिएका कारण अविश्वासको प्रस्ताव दर्ता गर्ने दलहरु ढुक्क देखिन्थे । दिउँसो १ बजेपछि प्रदेशसभा बैठक सुरु भयो, अविश्वासको प्रस्तावमाथि छलफल भयो ।

सत्तारुढ एमालेका सांसदहरु बोलिरहेका थिए । मतदानलाई केही समय टार्न सबै सांसदलाई बोल्ने समय दिने जुक्ति लगाएको एमालेले बुधबार भने बोल्ने सूचीबाट नाम हटायो । इन्द्रधारा विष्ट र महेन्द्र थकालीले बोल्ने सूचीबाट नाम हटाउन चाहेको सभामुखले उल्लेख गरे ।

१८ जना सांसदले बोल्ने कार्यसूची हुँदा जतिसक्दो चाँडो मतदानमा जाने सत्तारुढ दल एमालेको चाहनाले विपक्षीलाई शंका उत्पन्न गरायो । बैठकमा आउन ढिला हुने जानकारी गराएका जनमोर्चाका सांसद शाहीको खोजी भयो । उनको त फोन नै अफ भइसकेछ ।

माओवादीका सांसद दीपक कोइराला बैठक चलिरहेकै बेला बाहिर निस्किए । उनको खोजीमा फोन घुमाए, तर पत्ता लागेन । यसको सूचना प्रदेश सभा सचिव हरिराज पोखरेल हुँदै सभामुख अधिकारीसम्म पुग्यो । माओवादी केन्द्रबाट सभामुख बनेका अधिकारीले छलफल चलिरहेकै बेला २० मिनेट संसद बैठक स्थगित गरिदिए ।

लगतै केही सांसद शाहीको कोठासम्म पुगे । कांग्रेस संसदीय दलका उपनेता मेषलाल श्रेष्ठ, जनमोर्चाकी पियारी थापा र जनता समाजवादी पार्टीकी सांसद धनमाया पोखरेल लामा, शाहीलाई खोज्न उनको डेरामा पुगेका थिए । पोखरा जिरो किलोमिटर नजिकै रहेको डेरा पुग्दा घरबेटीले शाही मंगलबारबाटै कोठामा नआएको जानकारी गराए ।

शाही कोरोना संक्रमण भएर आईसीयूमा भर्ना भएको सूचना र अर्को सूचना नभएसम्सका लागि प्रदेशसभा बैठक स्थगित गरेको सूचना झण्डै एउटै समयमा आयो । अनलाइनखबरबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार