ओलीलाइ प्रधानमन्त्री छोड्नुहुन्न भने हामी हटाउँछौँ-रामचन्द्र पौडेल

  पत्रपत्रिकाखबर  479 पटक हेरिएको

काठमाडाैं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले सत्ता परिवर्तनका लागि अठोट लिएको बताएका छन् । शनिबार राजधानीमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री केपी ओलीजीले सांसदलाई तिरस्कार गर्नुभएको छ । संसद र संविधानलाई प्रधानमन्त्रीको प्रहारबाट जोगाउनु छ। केन्द्रीय समितिको बैठकबाट उहाँलाई हटाउने अठोट लिएका छौं ।’

पौडेलले प्रधानमन्त्रीबाट राजीनामा दिन पनि ओलीलाई आग्रह पनि गरे । उनले, भने, ‘उहाँले छोड्नुहुन्न भने हामी हटाउँछौँ। प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन हामी बाध्य हुनुपरेको छ।’शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र वैकल्पिक सरकार निर्माणका लागि अग्रसर हुने निर्णय लिएको थियो । तर काँग्रेसले सत्ताभन्दा व्यवस्थालाई बढी महत्व दिएको पौडेलको भनाइ छ ।

‘सत्ताभन्दा व्यवस्थालाई हामीले बढी महत्व दिएका छौं,’ उनले भने, ‘व्यवस्था बचाउनका लागि हामी सत्ता बदल्न चाहन्छौं ।’७० वर्ष लामो संघर्षपछि प्राप्त भएका उपलब्धिहरुलाई ओली नेतृत्वको सरकारले जोखिमतर्फ धकेलेको पौडेलको आरोप छ । उनले मुलुकलाई जोखिमबाट जोगाउन काँग्रेसले सरकार परिवर्तनको अठोट लिएको बताए । ‘

हामी यो सरकारको विकल्प चाहन्छौं । ७० वर्षदेखि जुन प्रणाली, जुन सभ्यताका लागि हामीले कष्ट उठायौँ, त्यसमाथि प्रहार भएको छ, त्यसलाई जोखिमतर्फ लगिँदैछ । त्यस कारण हामीले सरकार परिवर्तन गर्छौं भनेर अठोट गरेका छौं,’ उनले भने । पौडेलले काँग्रेसले सत्ता परिवर्तनका लागि लिएको अठोटलाई सत्तामा जान खोजेको रुपमा भने नलिन पनि आग्रह गरे ।‘सत्ता परिवर्तनको अठोटलाई सत्तामा जानुभन्दा पनि राष्ट्रलाई जोगाउने प्राथमिकता हो,’ पौडेलले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार