कुमारी आमा

  पत्रपत्रिकाखबर  114 पटक हेरिएको

जानु काम्बाङ्ग लिम्बू-त्यो रात जीवनकै पीडादायक रात थियो मेरा लागी । म र सरमान एउटै ओछ्यानमा दुई विपरीत दिशातर्फ फर्किएर सुतेका थियौँ । साइनोले ऊ अझैसम्म मेरो श्रीमान नै थियो । तर, मेरो अन्तरमनले अब उसलाई कदापी श्रीमान स्वीकार्न सम्भव थिएन । किनकि हाम्रो सम्बन्धको ऐना कहिल्यै नजोडिने गरी फुटिसकेको थियो । ऊ प्रतिको मेरो श्रद्धा र प्रेमको हिमाल अब पुनः नचुलिने गरी गर्ल्यामगुर्लुम्म ढलिसकेको थियो । म फुटेको ऐना नै सही तर ममा अझैसम्म विश्वासका रङ्गीन तस्बिरहरु कैद थिए ।

अब बाँकी जीवनयात्रा म एक्लै छिचोल्न सक्छु । चाहे त्यो जति नै विकट र कष्टकर किन नहोस् । सङ्घर्षका हजार पहाड आफै चढ्न सक्छु । दुःखका अनन्त नदीहरु एक्लै तर्न सक्छु । चाहे म भोकै प्यासै किन न हुँ । परन्तु अब सरमानको माया र साथ कुनै सर्तमा मन्जुर छैन मलाई । मनमनै यस्तै निर्णय गर्दै सुस्तरी मुन्टो मात्रै फर्काएर सरमानलाई हेरेँ । ऊ अझै निदाएको थिएन । बरू चिसो निःश्वास छाड्दै थियो । जुन निःश्वास ग्लानीको थियो या हीनताको ? घृणाको थियो या प्रेमको ?अनुमान लगाउन सकिनँ मैले । मतबल पनि गरिनँ । बरू चाहेकी भए मैले त्यही पल हजार प्रश्नहरुको शूलले एकसाथ घोचेर उसलाई थिल्थिलो पारिदिन सक्थेँ उसलाई । जुन प्रश्नहरुको कुनै पनि जवाफ हुने थिएन ऊसित । तर, त्यसो पनि गर्न चाहिनँ मैले ।

सोचेँ, उसलाई बिथोल्नु भनेको मैले म स्वयंलाई बिथोल्नु हो । यसो गर्नुभन्दा त बरू अबका बाटाहरु हामी दुवैले आआफ्नै तरिकाले हिँड्नु श्रेयस्कर हुनेछ । कुनै मोडमा भेटिए पनि हामीले एकअर्काेलाई चिन्ने छैनौ अब ।
लामो स्वास तान्दै मैले झ्यालबाट बाहिर देखिएका दृश्य नियालेँ । दृश्यमा, रातको मध्य प्रहर बीच वरपर याउमातेइ, मङ कक र सामसुइपो लगायतका सहरहरु झलमल्ल बलेका थिए । सहरमाथिको शून्य आकाशमा ताराहरु तिर्मिराइरहेका थिए । ती सबै दृश्य देख्दा यस्तो लाग्यो कि तीहरु सबै फुटेकै ऐना हुन्, मैजस्ता । त्यही हेर्दाहेर्दै अघिसम्म आँखामा जमिबसेको आँसुको मूल फुटेर सिरानी पूरै चिसो भएपछि पो थाहा पाएँ ।

जसलाई म आफूलाई भन्दा ज्यादा विश्वास गर्थें । आज उसैले मेरो विश्वास मात्रै होइन नर्माको सपनालाई समेत कुठाराघात गरेको थियो । इन्डोनेसियाली युवती नर्माको कोमलतासित मन लाग्दो खेल खेलेर फरार भएको एक अभियुक्त यस बेला मेरै ओछ्यानको कुनापट्टि निदाउन अथक् प्रयास गर्दै थियो । मभित्र प्रश्न–प्रश्न र फेरि प्रश्नको द्वन्द्व चलिरह्यो । अनेकन तर्क वितर्कहरु तँछाड–मछाड गर्दै मस्तिष्कमा आइरहे गइरहे छिः जागिर पनि मैले कस्तो ठाउँमा खाएछु । मनमनै स्वयंलाई धिक्कारेँ। सोचेँ, ‘यै जागिरका कारण आज यति घृणित परिस्थितिको सामना गर्नुपरयो मैले, थुइक्क मेरो जागिर ।

अर्काे मनले तुरून्तै सोच्यो, ‘होइन होइन जे भयो बरू ठीकै भयो । यो जागिरकै कारण म यति भयानक रहस्यको जरासम्म पुग्न सफल भएँ । यदि यहाँ नभएर अन्तै जागिर खाएकी थिएँ भने मैले कसरी थाहा पाउँथेँ यो सब ? साँच्चै मैले थाहा नपाएकी भए एउटा जघन्य रहस्य सदालाई रहस्यमै विलाएर जान्थ्यो । अहो ! धन्य छ यो संयोग र मेरो जागिरलाई । जसले मलाई अरु सम्भावित दुर्घटनाहरुबाट जोगाएको छ । म मात्र होइन विशेष गरी नर्मालाई बचाएको छ । त्यस विकट परिस्थितिको सबैभन्दा पीडित पात्र त नर्मा नै थिइन् ।

यो रहस्योद्घाटनपछि नर्मालाई अरु गलत कार्य गर्नबाट जोगाउँदै मैले कुनै न कुनै तरिकाले केही न केही न्याय दिलाउनुपर्छ भनेर एउटा सोच बनाएँ । रातभरि मानसपटलमा नर्मा सल्बलाइरही । घरी मायालाग्दो रुपमा आउँथी घरी दिग्मिगलाग्दो रुपमा आउँथी । कल्पनामा ऊ घरी मेरो काँधमाथि टेकेर अट्टाहाँस गर्थी घरी मेरो पाउमा शिर राखेर मसित याचना गर्थी । यसरी कल्पना र सम्झनाको पर्दामा ऊ जुन रुपमा जसरी आई यथार्थमा ऊ मेरी अवैध सौता थिई । जसको पेटमा मेरै पति अर्थात् उसको धोकेबाज प्रेमी सरमानको नाजायज सन्तान हुर्किंदै थियो । हङकङमा डोमेष्टिक हेल्परमा कार्यरत प्रायः फिलिपिनो रइन्डोनेसियन युवतीहरु कुनै न कुनै युवकको मायाजालमा सजिलैसँग परिहाल्छन् । मायाजाल बुन्दाबुन्दै जब युवतीहरुको गर्भमा मायाको टुसा टुसाउन थाल्छ तब अपवादमा बाहेक प्रायःजसोका प्रेमी भनाउँदाहरु फेरि कहिल्यै नभेटिने गरी बेपत्ता भइहाल्छन् ।

त्यसपछि ती युवतीहहरु एक्लै के गरुन् ? उनीहरुले आफ्नो गर्भको भ्रुण हत्या गर्नु सिवाय अर्को विकल्पै देख्दैनन् । अन्ततः उनीहरु ड्युटी छोडेरै धाउँछन् अस्पताल । महँगो शुल्क प्राप्त गरेपछि डाक्टरहरुले पनि ती कुमारी आमाहरुको पेट सफा गरिदिनुलाई अत्यन्त सहज रुपमा लिन्छन् । तर, आमाहरुले आफ्नो गर्भमा रहेको अवैध भ्रुणको जति पटक हत्या गराउँछन् उति नै पटक फेरि उस्तै हालत आइपर्छ । त्यसले मेरो कलेजो जलाउँछ ।
म त्यही अस्पतालमा दसौँ वर्ष अघिबाट कार्यरत थिएँ । जुन अस्पतालमा त्यस्तो अवैध काम हुन्थ्यो । त्यस्तै दर्दनाक सत्यलाई एकदम नजिकबाट नचाहेरै नियाल्न विवश थिएँ । हुन त त्यस अस्पतालमा मेरो मात्रै जागिर न थियो । तथापि उक्त जागिरबाट विरक्तिएर म पहिल्यै भाग्न खोजेकी हुँ । तर, तत्कालै भनेजस्तो अर्काे जागिर नभेटिएकोले त्यहीँ अल्झिरहनु बाहेक दोस्रो उपाय थिएन । काउन्टर खोल्नु, पेसेन्टसका फाइलहरु मिलाउनु । त्यसमा पनि खासगरी कुमारी आमाहरुको विवरण टिप्नु र पेसेन्टहरुले नबुझेका कुराहरु बुझाइदिनु मेरो ड्युटिभित्र पर्थ्यो। यसै सिलसिलामा त्यही बिहान मेरो नर्मासित चिनजान भएको थियो ।

उसले आफ्नो पेटको बच्चाको बाबुबारे बताइरहँदा विवरण लेखिरहेको मेरो हात थरर कामेको थियो । यद्यपि आफ्नो ड्युटी भएकोले आँखा चिम्लेर लेखेको थिएँ मैले सरमानको नाम । विवरण टिपेपछि मैले उसलाई राम्ररी नहेरीकनै अर्काे हप्ता एभोर्सनको डेट दिएर पठाएकी थिएँ । बेलुका मेरो ओछ्यानको भित्तापट्टि फर्केर घुरिरहेको व्यक्ति उही सरमान थियो । भोलिपल्ट बिदाको दिन परेकोले म सबेरै काउलुन पार्कतर्फ लागेँ । म त्यहाँ पुग्दा नर्माले पर्खिरहेकी थिई पार्कमा मलाई । किन हो ऊ हिजोभन्दा खुसी देखिएकी थिई आज । मैले उसलाई उसको लापत्ता प्रेमी खोजेर बच्चा एभोर्सन गर्दा लाग्ने खर्च लगायत अन्य कानुनी अधिकार दिलाउन सहयोग गर्ने आश्वासन दिएर त्यहाँ बोलाएकी थिएँ । मलाई देख्नासाथ मुस्कुराएकी ऊ त्यसबेला झस्की जब मैले कागजी विवरण टिपेपछि दुवैको फोटो मागेँ। ऊ अलि डराई । तर, मैले सम्पूर्ण कागजी प्रक्रिया पूरा गर्नु पर्ने सर्त राखेपछि उसले अप्ठ्यारो मान्दै आफ्नो र प्रेमीको फोटो झिकेर मलाई थमाई । मैले सरमानको फोटो हेर्न सकिनँ ।

बस यति सोधेँ, “यो मान्छे अहिले कहाँ बस्छ ? के काम गर्छ ? तिमीलाई थाह छ नर्मा ?” उसले भनी, “अहँ केही थाह छैन । प्रेमको नाटक रचेर उसले मेरो शरीरसित पटक–पटक खेल्यो, जब पछि उसले म प्रेग्नेन्ट भएको कुरा चाल पायो, त्यसै दिनबाट बेपत्ता भएको ऊ अहिलेसम्म सम्पर्कविहीन छ ।”नर्माको कुरा सुनिरहँदा मलाई छातीमाथि ढुङ्गाले थिचेजस्तो भइरहृयो । भनेँ, “तिमी नआत्तिनू हामीसित अझै छ दिन समय छ ।” “धन्यवाद दिदी ।” यति भनेर नर्मा मसित छुटी । अस्पताल जानु पर्दैनथ्यो त्यो दिन । मलाई रूम फर्किन मन लागेन किनकि रूममा सरमान थियो । जसलाई मैले अपनाउन त सक्दिनँ थिएँ तैपनि समाजको आँखामा भने ऊ अझै मेरो पति थियो ।
यसर्थ भावनात्मक रुपमा ऊसित जोडिन सम्भव नभए पनि सामाजिक रुपमा तत्काल सम्बन्ध टुक्र्याउन समस्या थियो । साना साना दुई बच्चाको भविष्यको खातिर पनि हतारमा ऊसँग नाता तोड्न असमर्थ थिएँ म ।

नर्मासित छुटेपछि म सिधै वकिलकहाँ पुगेँ । वकिलसँग लामो परामर्शपछि मैले नर्मालाई फोन गरेँ । फोनमा मैले ऊसलाई त्यो पेटको बच्चा एभोर्सन नगर्न अनुरोध गरेँ । तर, नर्माले मेरो प्रस्ताव स्वीकार गरिनँ । ऊ बिना बाबुको आफ्नो पेटको बच्चा जतिसक्दो चाँडो फालेर हलुका हुन चाहन्थी । मैले घरी चर्काे भाषामा घरी नम्र भाषामा उसलाई उही आग्रह गरिरहे । ऊ आफ्नै निर्णयमा अडिग रही । म निकै तनाबग्रस्त भइसकेकी थिएँ । आधा दिन बितिसक्दासम्म मैले मुखमा पानी समेत लाएकी थिइनँ।

अब ममा सहन सक्ने क्षमता क्षीण हुँदै गइरहेथ्यो । नर्माको जिद्धी देखेर मैले आफूलाई सम्हाल्नै सकिनँ र चिच्याएर फोनमै भनेँ, “तिमीलाई थाह छैन नर्मा ! तिमीलाई धोका दिने प्रेमी मेरै श्रीमान हो । तिमीले मेरो श्रीमानको पेट बोकेकी छौ र, अब त्यो बच्चा तिमी एक्लैको खुसीले एभोर्सन गर्न पाउँदैनौ बुझ्यौ ? ” म कति साह्रो रिसाएकी थिएँ भन्ने कुरा मेरो अनुहारको राप र आवाजको कम्पनबाट मापन गर्न सक्थ्यो जोकोहीले । वकिलकै सामु म निरीह बालक जसरी आँसु झारिरहेकी थिएँ । उता मेरो कुरा सुनेर नर्मा अवाक भई । बिना प्रतिक्रिया फोनमा निकैबेर नर्मा सुकसुकाई रही । मलाई कता–कता उसको माया लागेर आयो । भनेँ, “नर्मा, त्यो बच्चालाई तिमीले कुनै पनि हालतमा जन्माउनुपर्छ, कहीँ पनि गएर जन्माऊ तर जन्मिएपछि उसलाई हुर्काउने जिम्मा मेरो हो । मलाई विश्वास गर तिमी ।”

त्यसपछि उसले नम्र स्वरमा भनी, “दिदी, म भोलि नै इन्डोनेसिया जान्छु । यो बच्चालाई आफ्नै माइती देशमा गएर जन्म दिन्छु । अब म एउटी कुमारी आमा हुँ ।” खै के सोचेर नर्माले अचानक यसो भनी । जे होस्, उसको यो तत्कालको निर्णयले कपासझैँ हलुङ्गो भएँ म । मैले केही भन्नै सकिनँ मात्र आँखाबाट आँसु झरिरह्यो । अर्काे दिन बिहानै म काउलुन पार्क अघिल्तिरको बस स्टेसनमा पुगेँ । नर्मा आइपुगेकी थिइन । किन हो त्यस क्षण म सदाभन्दा बढी अधीर थिएँ । स्टेसन छेउको प्रतीक्षालयमा उभिएर एक्लै के–के सोचिरहेँ । नर्मासित चिनजान भए यताका एक–एक घटना हृदयमा शूल भएर गढिरह्यो । सकेसम्म अरुले नचिनून् भनेर मैले सलले पूरै मुख छोपेकी थिएँ ।

म त्यहाँ पुगेको लगभग आधा घन्टापछि एउटा रातो सुट्केस गुडाउँदै नर्मा आइपुगी । पश्चातापको आगोले जलिरहे जस्तो उसको मुहारलाई पढेर अनुमान लगाउन सकिन्थ्यो कि ऊ रातभरि निदाएकी छैन । हामी दुवै छिरयौँ एउटा ट्याक्सीमा । ट्याक्सी सुस्तरी चिम्सा चुई होङ हुँदै काइतकतर्फ हुइँकियो । ट्याक्सी गुडिन्जेल मैले उसलाई जीवन, जगत, सङ्घर्ष, प्रेम, सम्बन्ध, विश्वास, कर्तव्य आदिका बारेमा सम्झाएँ, आफूले बुझेका कुरा शेयर गरेँ । उसले चुपचाप मेरा कुरा सुनिरही । मानौँ, एउटी साधिका गुरुको अगाडि बसेर गुरुको प्रवचन सुनिरहेकी छ।

अन्त्यमा, हर्षको आँसु बगाउँदै उसले भनी, “दिदी, तपाई मान्छे होइन, ईश्वर हो ।” मैले नर्मालाई हेरेँ । ऊ आँसु पुछ्दै थिई । हामी चढेको ट्याक्सी काइतक एयरपोर्टमा पुगेर रोकियो । ट्याक्सीबाट उभिएर हामी इन्डोनेसियन एअरलाइन्सको काउन्टरमा लामबद्ध भयौँ । आफ्नो पालो आउनसाथ सामान जोखाएर बोर्डिङ पास लिएपछि नर्माले मलाई रूँदै अङ्कमाल गरी । अङ्कमाल गर्दा उसको बढिरहेको पेट मेरो पेटसित ठोक्कियो । नर्मा अर्थात एउटी कुमारी आमा । मसित छुटिएर बिदाईको हात हल्लाउँदै गइरहेकी थिई । मूर्तिवत उभिएकी मैले थरर काम्दै मनमनै भनेँ, “नर्मा, तिमी फुटेको ऐना हौ । तर, एउटा रङ्गीन सपना सुरक्षित छ । जसलाई आफूसँगै बचाएर राख । शुभयात्रा तिमीलाई । एकैछिन् पर…धावनमार्गबाट इन्डोनेसियन एअरले जमिन छोड्यो र माथि–माथि आकाशियो……।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार