केपी ओलीका माधव नेपाल पक्षलाई तीन सन्देश

  पत्रपत्रिकाखबर  225 पटक हेरिएको

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ फागुनयता भएका निर्णयबाट पछि नहट्ने प्रष्ट सन्देश माधवकुमार नेपाल पक्षलाई दिएका छन् । २८ फागुनमा अध्यक्ष ओली पक्षले एकलौटी गरेको निर्णयको विरोध गर्दै केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेको नेपाल समूह शुक्रबार संसदीय दलको बैठकमा उपस्थित भएको थियो । बैठकमा नेपाल समूहका नेताहरुले २ जेठ २०७५ मा फर्किएर पार्टीलाई एकतावद्ध रुपमा अगाडि बढाउन अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।
तर अध्यक्ष ओली आफ्नो अडानमा टसकोमस देखिएनन् ।

२३ फागुन यताका निर्णय फिर्ता हुन्नन्-सर्वोच्च अदालतले २३ फागुनमा एमाले ब्युँताएपछि अध्यक्ष ओलीले २८ फागुनमा आफू निकट नेताहरुको बैठक राखेर नवौं महाधिवेशनबाट पास भएको विधान संशोधन गरे, महासचिव बाहेकका पदाधिकारी हटाए । नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्नुका साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरे ।

नेपाल समूहले यो निर्णय खारेजको माग राख्दै आएको छ । तर ओली आफू पछाडि नफर्किने बताएका छन् । ‘फागुन २८ गतेका निर्णयहरु र त्यसपछि ५ र ७ चैतमा संसदीय दलको बैठकले गरेका निर्णयहरुबाट ब्याक हुन सकिंदैन । बैठकमा केही साथीहरु अनुपस्थित हुनुभयो, तर पार्टीले विधिसम्मत तरिकाले निर्णय गरेको कारणले गर्दा फिर्ता हुन सकिंदैन’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले भने ।

संसदीय दलको विधान संशोधन गरेर नेतालाई सांसद निलम्बन गर्ने विशेषाधिकार समेत दिइएको छ । ‘हामीले पारित गरेको विधान केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको छ । आवश्यक पर्‍यो भने समयक्रममा कालान्तरमा संशोधन गर्न सकिन्छ । अपरिवर्तनीय र असंशोधनीय छैन । तर, अहिले विधानमा तलमाथि गर्न सकिंदैन’ प्रधानमन्त्रीले भने ।

सुरु भएको कारबाही अगाडि बढ्छन्-संसदीय दलको बैठक राखेर अध्यक्ष ओलीले पार्टीमा सुरु भएको कारबाही प्रक्रिया अगाडि बढ्ने प्रष्ट पारेका छन् । तर कारबाहीको प्रकृति कस्तो हुन्छ भन्ने चाहिं खुलाएका छैनन् । ओली पक्षीय नेताहरु मात्र सहभागी केन्द्रीय समितिको ७ चैतको बैठकले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरुमध्ये नेपाल र रावलले जवाफ दिएका छन् भने भुसाल र पाण्डेले दिन बाँकी छ ।

नेताद्वयले आफूमाथि नै प्रश्न उठाएर दिएको जवाफप्रति ओली असन्तुष्ट देखिएका छन् । चार जनामध्ये दुई जनाको जवाफ आएको छ, जवाफ अत्यन्त नकारात्मक छ । त्यो कारबाहीको भागीदार छ’ ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक भट्टराईले भने ।

गुटसँग डिल हुन्न-एमाले अध्यक्ष ओलीले गुटसँग डिल नगर्ने आफ्नो अडान दोहोर्‍याएका छन् । व्यक्तिगत रुपमा प्रत्येकका आलोचना र गुनासा सुन्न तयार रहेको भन्दै उनले भनेका छन्, ‘एमालेमा कुनै गुट वा समूहको अस्तित्व छैन, छ भने एउटै पार्टी छ । गुटगत वा समूहगत हिसाबले कुनै प्रकारको छलफल वा डिल नगर्ने उनले प्रष्ट पारेका छन् ।अनलाइनखबरबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार