एकै दिन ४७९ बनमा डढेलो

  पत्रपत्रिकाखबर  413 पटक हेरिएको

काठमाडाैं । बिहीबार एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो लागेको छ । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जाल संयोजक डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बिहीबारको डढेलो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताए । गत वर्ष यही दिन एक ठाउँमा मात्र डढेलो लागेको थियो । ‘बिहीबार धेरैतिर डढेलो लागेको देखिन्छ,’ नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्बिर विश्लेषण गर्दै शर्माले भने, ‘यति डढेलो विगतमा कहिल्यै लागेको थिएन ।’

मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । हिमाली क्षेत्रमा कात्तिकमै डढेलो लाग्न सुरु हुन्छ । यो वर्ष रसुवा, ताप्लेजुङ, मनाङ, गोरखा, लमजुङलगायतका हिमाली जिल्लामा मंसिरदेखि डढेलो लागेको हो । केही हिमाली जिल्लामा अझै डढेलो नियन्त्रणमा आएको छैन । अघिल्ला ५ वर्षको कात्तिकदेखि चैतसम्मका डढेलोको तथ्यांकलाई विश्लेषण गर्दा पनि बिहीबारको डढेलो संख्या उच्च हो । अघिल्लो वर्ष कात्तिकदेखि चैत १२ सम्म १ सय ६५ स्थानमा डढेलो लागेको थियो । यो वर्ष यही अवधिमा २ हजार ८७ स्थानमा डढेलो लागेको देखिन्छ । ‘डढेलो लाग्ने मुख्य सिजन त अझै बाँकी छ,’ शर्माले भने ।

देशभर डढेलोको प्रकोप बढेपछि शर्मालाई बिहीबार गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा डढेलो विज्ञका रूपमा खटाइएको छ । उनका अनुसार प्राधिकरणले सबै किसिमका प्रकोपसम्बन्धी तथ्यांक एकीकृत गरिरहेको छ । मंसिर–पुसमा उच्च हिमाली क्षेत्रमा मात्र डढेलो लागेकामा फागुनपछि मध्य पहाडी क्षेत्र र तराईका निकुञ्ज–आरक्षसहित सरकारी र सामुदायिक वनमा डढेलो बढेको छ ।

सन् २०१६ अप्रिलमा ५ हजार ३ सय ९६ स्थानमा डढेलो लागेको थियो । यो संख्या एक महिनामा रेकर्ड गरिएको अहिलेसम्मकै धेरै हो । त्यही वर्षको मार्चमा १ हजार २ सय ७९ स्थानमा डढेलो लागेको थियो । गत वर्ष मार्चमा भने १ सय २२ र अप्रिलमा ५ सय १५ स्थानमा डढेलो लागेको थियो । शर्माका अनुसार नेपालमा ६४ प्रतिशत डढेलो नियतवश र ३२ प्रतिशत असावधानीवश लाग्छ । ४ प्रतिशत डढेलोको कारण भने थाहा हुन सकेको छैन । सामान्यतया नयाँ पालुवा र घाँसको लोभमा गोठालो गएका व्यक्ति वा जंगल जानेले डढेलो लगाउने गरेको पाइन्छ ।

कहिलेकाहीँ भने घरछेउ र बारीमा आगो लगाउँदा हावाले उडाएर जंगलमा पनि डढेलो सल्किने गरेको छ । फागुनदेखि वैशाखसम्म गर्मी, सुक्खापन र हावाहुरीका कारण पनि डढेलोले ठूलो आकार लिने गरेको भेटिएको शर्मा बताउँछन् । सन् २००५ देखि सन् २०२१ (मार्च) सम्म डढेलोले १ सय ६ जनाको ज्यान लिएको छ । सबैभन्दा बढी सन् २००९ मा ४९ जनाको मृत्यु भएको थियो । सन् २०१७ मा डढेलोले कुनै मानवीय क्षति गरेको थिएन । गत वर्ष डढेलोमा परी १ जनाको मृत्यु भएको थियो । यो वर्ष पनि बिहीबारसम्म १ जनाको मृत्यु भइसकेको छ ।

डढेलोले अत्यधिक क्षति गर्न थालेपछि त्यसको निराकरणका लागि वन मन्त्रालयले २०६७ मा डढेलो व्यवस्थापन रणनीति ल्याएको थियो । रणनीतिमा जनचेतना फैलाउने र डढेलो नियन्त्रणका लागि जनशक्ति तयार पार्ने र प्रविधिको विकास गर्ने उल्लेख छ । रणनीतिले भनेजस्तो जनशक्ति भने तयार हुन सकेको छैन । अझै पनि स्याउला र पानीकै भरमा डढेलो नियन्त्रणको प्रयास गर्ने गरेको देखिन्छ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाश लम्साल सीमित स्रोत र साधनका कारण उल्लेख्य मात्रामा जनशक्ति तयार पार्न र उपकरण परिचालन गर्न नसकिएको स्विकार्छन् ।

‘क्षमताअनुसार प्रदेश र सामुदायिक वनहरूमा केही संख्यामा डढेलो निभाउने उपकरण वितरण गरिएका छन्,’ उनले भने, ‘जलवायु परिवर्तनले पृथ्वीमै तापक्रम बढाएकाले नियन्त्रण गर्नै नसकिने गरी डढेलोलगायतका प्रकोप पनि बढिरहेका हुन् ।’ संघीयता कार्यान्वयनसँगै निकुञ्ज–आरक्ष र संरक्षित क्षेत्रबाहेक वनका सबै संरचना प्रदेशमा गएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार