भारतका १८ राज्यमा नयाँ प्रकारको काेराेना भाइरस भेटियाे

  पत्रपत्रिका खबर  106 पटक हेरिएको

भारतका १८ राज्यमा काेराेना भाइरसकाे नयाँ प्रकार भेटिएकाे त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य मन्त्रालयले अहिलेसम्मको तथ्याङ्कको आधारमा भारतको बढिरहेको सङ्क्रमण र नयाँ प्रकारको ‘डबल म्यूटेन्ट’ भाइरसबीच कुनै सम्बन्ध नभएकाे बताएकाे छ ।

काेराेना भाइरसकाे याे नयाँ प्रकार विभिन्न देशमा देखिइसकेकाे छ । पछिल्लाे केही समयदेखि विश्वका विभिन्न देशसहित भारतमा काेराेना सङ्क्रमण फेरि एक पटक तीव्र गतिमा फैलिरहेकाे छ । नयाँ प्रकारको कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको नमुनाका १५ देखि २० प्रतिशतमा पाइएको र ती बढी सङ्क्रामक रहेको भारतले जनाएको छ ।

भारतमा सङ्क्रमण बढेपछि राजधानी दिल्लीका विमानस्थल, बस स्टप र रेल स्टेशनहरूमा यात्रुलाई कोरोना भाइरसको परीक्षण गरिने भएको छ । लगातार कोरोना भाइरस सङ्क्रमण बढेर दोस्रो लहर देखिएपछि दिल्ली सरकारले याे निर्णय गरेको हो । गएकाे हप्ता मुम्बईले पनि व्यस्त ठाउँहरूमा अनिवार्य परीक्षण गर्ने निर्देशन दिएको थियो ।

भारतीय सरकारले अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा लगाएको प्रतिबन्धलाई अप्रिल ३० सम्म लम्ब्याएकाे छ ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताउनुभएको छ । बुधवार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताउनुभएको हो ।

यद्यपि अहिले भयावहको स्थिति नभएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले खोप लगाएर कोभिड–१९ को सङ्क्रमण निर्मूल पार्न सजिलो नभएको पनि बताउनुभयो । पूर्णरूपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दुरी कायम राख्नुपर्नेमा उहाँले जाेड दिनुभयाे ।

उहाँले भन्नुभयो, ‘तीन दिनदेखि लक्षणहरू फेरि नकारात्मकतातिर जान खोज्या हो कि भन्ने देखिएकाे छ, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ । अहिले स्थिति भयावह छैन । यसको अर्को जेनेरेशन चाहिँ अझ बढी खतरनाक ढङ्गले अर्कै प्रकृतिमा पैदा भएको छ । हिजोको कोभिड–१९ लाई हेरेर तयार गरेको खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन त्यो पनि थाहा छैन । एक पटक कडाइका साथ नियन्त्रण गरेर निर्मूल गर्नुपर्ने । खोप लगाएर निर्मूल हुन सजिलो छैन । पूर्णरूपमा नियन्त्रण नगरेसम्म खतरा भइरहन्छ । पूर्णरूपमा नियन्त्रण गर्न सामाजिक दुरी, सङ्क्रमण हुने स्थितिबाट बच्ने/बचाउने । सङ्क्रमण हुने स्थिति नहोस् ।’

प्रधानमन्त्री ओलीले अन्य देशको तुलनामा नेपालमा कोभिड–१९ सङ्क्रमणको असर कम परेको भन्दै फेरि पनि असर कम पर्ने बताउनुभयो । सङ्क्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीकहाँ यसको असर कम पर्‍याे । फेरि पनि कम पर्छ र बाहिर अन्यत्रजस्तो यसलाई हामी सङ्क्रमित हुन दिँदैनौँ । दिनु हुँदैन ।

विभिन्न तरिका अवलम्बन गर्नुपर्छ । हामीले नियम, आदेशको पालना गर्नुपर्छ । स्वास्थ्य मन्त्रालय, सीसीएमसीले जारी गरेको नियम मान्नुपर्छ । त्यसो गरे मात्रै हामी यसबाट जोगिन सक्छौँ ।’प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको र नियन्त्रण गर्न सकेको दाबी पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार