दोस्रो लहरको कोरोना बढ्न सक्छ

  पत्रपत्रिका खबर  77 पटक हेरिएको

पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहँदा नेपालमा पनि खतराको संकेत देखिन थालेको छ । मंगलबारमात्रै भारतमा थप ४७ हजार २ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मंगलबार भारतमा थप २ सय ७६ जनाको मृत्यु भएको छ ।

महामारीको जोखिमलाई बेवास्ता गर्दै भीडभाड, जुलुस, सभा–सम्मेलनलगायत गतिविधि बढ्नु, बजार, कलकारखानालगायत सबै क्षेत्र निर्वाध रुपमा सञ्चालन हुनुले पनि संक्रमणको दर बढ्दै जान सकिने देखिएको छ । फ्रान्स, इटली, स्कटल्यान्ड, युक्रेन ,जर्मनी लगायतले संक्रमण बढेको भन्दै लकडाउन पुन: सुरु गरिसकेका छन् । चैत ११ गते नेपाल सरकारले गरेको देशव्यापी लकडाउनको एक वर्ष पुगिरहँदा पुन: महामारी फैलिने संकेत देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्ने हो भने गत सोमबारदेखि १२ हजार ४६६ पीसीआर परीक्षणमा ४८३ पुष्टि भएकोमा २६६ संक्रमित डिस्चार्ज भएका छन् । बुधबार ३ हजार ९६३ पीसीआर परीक्षणमा १४५ जना कोरोना पुष्टि भएका छन् भने १ हजार १८२ सक्रिय संक्रमित रहेका छन् ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी नाकामा एकदम कडाइ गर्नुपर्ने र नाकामा परीक्षण गरेर क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्था भए नेपालमा संक्रमण रोक्न कठिन नभएको बताउँछन् । डा. मरासिनी भन्छन्–‘संक्रमित कम भयो भन्दैमा अहिले धेरैले सावधानी अपनाएका छैनन् तर त्यो होइन ।’ उनले खोप लगाएका व्यक्तिले पनि हेल्चेक्र्याइँ गरिरहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाउँछन् ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन भन्छन्–‘हामीले फेरि कोरोनाको संक्रमण धेरै बढ्न नदिन के गर्ने भन्नेमा ज्ञान भइसकेको छ । भाइरसको प्रकृति कस्तो रहेछ भनेर लगभग थाह भइसकेको अवस्था छ ।’ उनले पहिलाको कमजोरीलाई सुधार्नु पर्ने भन्दै भयावह स्थिति आउन नदिन सर्तकता अपनाउनुपर्ने बताए ।

त्यसैगरी संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी पनि स्वास्थ्य संयन्त्र चुस्त भए कोरोना संक्रमण धेरै फैलिन रोक्न सकिने बताउँछन् । डा सुवेदी भन्छन्–‘पहिलो पटक भाइरस आउँदा विश्वभर नै अन्योल थियो नेपाल पनि अप्ठ्यारो अवस्थामा थियो । अहिले हाम्रो परीक्षण तथा प्राविधिक दक्षता छ । कसरी महामारी नियन्त्रण गर्न सकिन्छ भने धेरै थाह भइसकेको अवस्था छ ।’

उनले क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापन बलियो पार्नका लागि सरकारसित विकल्प रहेको बताउँदै महामारीले भयावह नै हुने र लकडाउन नै गर्नुपर्ने अवस्था नआउने जिकिर गर्छन् ।

काठमाडौं विश्वविद्यालयको जनस्वास्थ्य विभागमा कार्यरत डा. अर्चना श्रेष्ठका अनुसार भारतमा कोरोना संक्रमितको संख्या बढेकाले नेपालमा पनि केही हप्तामा नै संक्रमणको संख्या बढ्दै जान सक्ने आंकलन गर्न सकिन्छ । भन्छिन्,‘दोस्रो चरणको कोरोना महामारी न्यूनिकारण लागि सबै सतर्क हुनुपर्छ । विशेषगरी दीर्घ रोग भएका व्यक्तिले सावधानी अपनाउने र शंका लागेमा तुरुन्त जचाउनुपर्छ ।’

कोरोना नियन्त्रणका लागि सरकारले आइसोलेसन र क्वारेन्टाइनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिसकेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ ।कान्तिपुरमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार