एमालेको विधान संशोधन प्रस्ताव पारित

  पत्रपत्रिकाखबर  72 पटक हेरिएको

नेकपा एमालेको संसदीय दलको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संशोधित् विधान पारित गर्दै विधानलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो । तीन सदस्यीय कार्यदलले तयार पारेको विधान संशोधन प्रस्ताव पारित भएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

यस्तै नेकपा एमालेको संसदीय बोर्डको बैठकले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको बैठकले गुटगत भेला र गतिविधि गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

अस्ति पाँच गते बसेको खनाल–नेपाल समूहका नेताहरु अनुपस्थित भए पनि बैठकले संसदीय बोर्ड गठन गरेको थियो । आज बसेको संसदीय दल र संसदीय बोर्ड दुवै बैठकमा खनाल–नेपाल समूहका नेताहरु भने सहभागी भएनन् । तर बैठकमा वामदेव गौतम भने सहभागी हुनुभएको छ ।

संसदीय बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाईसमेत राखिएको छ । यसैबीच, खनाल–नेपाल समूहले प्रधानमन्त्री निवास बालुवाटार पुगेर लिखित पत्र बुझाएको छ । लिखित पत्र बोकेर खनाल–नेपाल समूहका सांसदहरु जीवनराम श्रेष्ठ, सोम पाण्डे र यज्ञराज सुनार बालुवाटार पुगेका थिए । बैठक र निर्णयहरु विधान र विधिसम्मत हुनुपर्ने भन्दै खनाल–नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलको नेता केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएको हो । यो समूहले आजको बैठक पनि बहिस्कार गरेको छ ।

संसदीय बोर्डमा नबस्ने खनाल र नेपालको घोषणा,
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले संसदीय बोर्डमा बस्न अस्वीकार गरेका छन् । संसदीय दलको अघिल्लो बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको थियो, जसमा खनाल र नेपाल पनि थिए । शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बोर्डमा नबस्ने बताए ।

‘म र झलनाथ खनाल दुई जना बबुरोहरुलाई कृपादृष्टि पुर्याएर ठाउँ दिनु भएछ’ उनले भने, ‘हामीले हुन्छ प्रभु भने भनेनौं, त्यो बोर्डमा हामीलाई बस्दैनौं ।’बोर्ड गठन बैधानिक हुनुपर्ने भन्दै उनले छलफल गरेर अगाडि बढे आफूहरु तयार रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार