कम्युनिस्टको सामान्त अवतार

  पत्रपत्रिका खबर  361 पटक हेरिएको

बिमल पोखरेल-विगत तीस वर्ष संसदीय प्रजातान्त्रिक अभ्यास गरेका राजनीतिक पार्टीहरूमा अहिले सामन्ती संस्कारको जगजगी देख्न सकिन्छ । राजनीतिक र राजकीय शक्ति हत्याउनका लागि नेताहरू निरंकुश बन्दै गएका छन् । राजाले पञ्चायतमा जुन संस्कार बसालेका थिए, अहिले त्यही संस्कार राजनीतिक दलका मुख्य नेतामा देख्न सकिन्छ । राजतन्त्रको समाप्तिपछि राजनीतिक दलका मुख्य नेताहरूले सामन्त अवतारको धारण गरेका छन् । अगुवापछुवा गाडी, बाटोमा साइरनको आतंक, सय किलोका माला, लहरै आसनग्रहण सामान्य भइसकेको छ ।

सामन्त अवतार धारण गरेका नेताहरूको व्यवहार यतिसम्म मात्रै सीमित छैन, जनताको सर्वाेच्च निकाय संसदले गर्ने निर्णयसमेत यिनीहरूकै आदेश र निर्देशनमा हुने गर्दछन् । कांग्रेस, एमाले र माओवादीका मुख्य नेताले चाहेमा संसद बैठक बस्छ, यिनीहरूले चाहेनन् भने बैठकै बस्दैन । संसदका कार्यसूची दलका नेताले आँखा झिम्क्याएकै भरमा तहसनहस हुन्छन् ।

राजनीतिक दलको हरेक तहमा सामन्त अवतार छ । पार्टीका बैठकहरूमा छलफल नगरीकनै आफूले गरेको निर्णय सबैले मान्नुपर्ने फैसला गरिदिन्छन् । सके ठूलै सामन्त बन्ने, नसके मझौला सामन्त बन्ने, त्यो पनि नसके सानो गुटमा राज गर्ने सामन्त बन्ने ध्याउन्न सबैजसो राजनीतिक पार्टीका केन्द्रदेखि स्थानीय तहसम्म विद्यमान छ । प्रस्तुत लेखमा कम्युनिस्ट पार्टीमा दीर्घरोगको रूपमा विकास भएको नवसामन्त अवतारका बारेमा विस्तार गर्न खोजिएको छ ।

नेपालमा मात्रै होइन, विश्वमै कम्युनिस्टहरू तहसनहस भएको सिद्धान्तलाई तिलाञ्जलि दिँदै बदलिएको अवतारको कारणले हो । रुसमा समाजवाद स्थापना भएको ४० वर्षपछि कम्युनिस्ट पार्टीले पुँजीवादी अवतार लिएको थियो । चीनमा क्रान्ति सम्पन्न भएको २७ वर्षमै पुँजीवादी अवतार लियो । नेपालमा कम्युनिस्ट पार्टीले समाजवाद कस्तो हुन्छ भन्ने कुनै एउटा नमुना पनि पेस गर्नै सकेनन् । यिनीहरू पुँजीवादी व्यवस्थामा पौडी खेल्दै सामन्ती अवतारमा रमाइरहेका छन् ।

चिनियाँ सामन्त अवतार-चीनमा सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न भएपछि देशव्यापी खुसियाली छायो । बेइजिङ र देशभर कम्युनिस्ट पार्टीको झण्डा फहराइयो । फलामे अनुशासनबाट आएको कम्युनिस्ट पार्टीले सत्ता सम्हालेपछि देशको विकासका लागि कैयौँ योजना बनाउन र कार्यान्वयन गर्न थाल्यो । तर, त्यो अवस्थामा विस्तारै परिवर्तन आउन थाल्यो । सत्ता सम्हालेको केही वर्षपछि कम्युनिस्ट पार्टीमा सामन्ती तथा पुँजीवादी व्यवहार प्रकट हुन थाले ।

सुरुमा चीनको ग्रामीण इलाकामा कम्युनिस्ट पार्टीमा भर्ना हुनका लागि कडा प्रावधानका कारण अवसरवादी, पदलोलुप र सामन्ती प्रवृत्तिका मान्छेहरूको प्रवेश निषेध हुन्थ्यो वा अत्यन्तै कम हुन्थ्यो । त्यसले कम्युनिस्ट पार्टीलाई मजबुत बनाएको थियो ।

क्रान्ति सम्पन्न भएको केही समयपछि कम्युनिस्ट पार्टीका नेताहरूमा उत्ताउलोपन, भ्रष्ट, सहरमुखी, सुविधाभोगी प्रवृत्ति बढ्दै गयो । नेताहरू भ्रष्ट र सुविधाभोगी बन्न थालेपछि माओले भन्न थाले, ‘सरकारी नेताहरूलाई जनताको निगरानीमा राखेपछि मात्रै ती सरकारी नेताहरूले आफ्नो इमानदारितालाई बचाएर राख्नेछन् ।’नेपाली कम्युनिस्ट नेताहरू कम्युनिस्टमा हुनुपर्ने आचरण, गुण, सिद्धान्त, व्यवहार आदिबाट च्यूत भइसकेका छन् । त्यसैले कम्युनिस्ट पार्टीका मुख्य नेताहरूमा सामन्त अवतार प्रकट भएको हो । व्यवहारमा त्यस्तो भएन । कम्युनिस्ट पार्टीका नेताहरू नवसामन्त बन्न थाले । भ्रष्टाचारमा मुछिन थाले । अकुत पैसा जम्मा गर्न थाले । विदेशमा पैसा थुपार्न थाले । आफ्ना छोराछोरी युरोप, अमेरिका पठाउन थाले । चीन भ्रष्टाचारको दलदलमा फस्न थाल्यो ।

भ्रष्ट नेताहरूका लागि माओ अभिशापजस्तै बनेका थिए । उनले भ्रष्टाचारविरुद्ध थुप्रै अभियानहरू चलाए । चिनियाँ अध्येता डोङ पिङ हान आफ्नो अपरिचित सांस्कृतिक क्रान्ति पुस्तकमा लेख्छन्, ‘कम्युनिस्ट विजयभन्दा अगाडि शोषण, भ्रष्टाचार र शक्तिको दुरुपयोग समाजमा जसरी व्याप्त थियो, त्यसरी नै कम्युनिस्ट युगमा पनि गाउँका नेताहरूले गरेको शक्तिको दुरुपयोगको एउटा प्रमुख कारण गाउँलेहरूसँग राजनीतिक नियन्त्रण नहुनु थियो ।’

हान अगाडि लेख्छन्, ‘चिनियाँ गाउँहरूमा कुनै जनप्रिय सुपरीवेक्षण संयन्त्र नभएकाले गाउँलेहरूको आलोचनालाई गाउँका नेताहरूले सहन सक्दैन थिए । अधिकारीहरूको थिचोमिचोबाट आहत भएर निकासका लागि केही गाउँलेहरूले आत्महत्याको बाटोसमेत रोजे । ’

यसरी के देखिन्छ भने चिनियाँ गाउँहरू कम्युनिस्ट पार्टीका नयाँ सामन्तहरूबाट आजित भएका थिए । कम्युनिस्ट पार्टीका नेताहरू आफूभन्दा माथिका नेताहरू रिझाउन र छिटो परिणाम हात पार्न गाउँ र कम्युनका अधिकारीहरू दास–मालिकजस्ता भइदिए । माओले कर्मचारीतन्त्र, आदेशवाद, अनुशासन र कानुन उल्लंघन, भ्रष्टाचार, जुवातास, फजुल खर्च, गुटवादका विरुद्ध अभियानहरू चलाएका थिए ।

ओली अवतार-प्रधानमन्त्री केपी शर्मा ओलीको उदय आशाको रूपमा भएको थियो । भारतीय नाकाबन्दीको कडा प्रतिकारपछि ओली देशपक्षीय र जनपक्षीय देखिएका थिए । त्यही लोकप्रियताबाट उनले नेकपा (एमाले)लाई संसदमा सबैभन्दा ठूलो पार्टी बनाए भने माओवादीसँग पार्टी एकता गरी संसदमा झण्डै दुईतिहाइ बहुमत प्राप्त गरे । नाम कम्युनिस्ट भए पनि नेकपा (एमाले) र माओवादी पुँजीवादी प्रजातान्त्रिक पार्टी हुन् । प्रधानमन्त्री बनेपछि उनले प्रजातान्त्रिक संस्कार देखाउन सकेनन् । एकीकृत भएको पार्टी कम्युनिस्ट नभएको हुनाले कम्युनिस्ट संस्कारको आशा गरिएको थिएन ।

बहुमतको सरकारबाट जनअपेक्षबमोजिम काम गर्न नसकेपछि उनी विस्तारै देशव्यापी रूपमै आलोचित हुन थाले । जब उनी लगातार आलोचित हुन थाले, त्यसपछि आत्मप्रचार गर्न थाले । आफ्नो समूहमार्फत प्रचार गर्न लगाए । आलोचना बढ्दै गएपछि उनको समूहले ओलीको गुणगान थाउन थाल्यो । देशको राजनीतिलाई आफ्नो मुट्ठीमा राख्न सक्छु भन्ने उनको मानसिकता नै ओली अवतार हो ।

संसद् विघटनपछि केपी शर्मा ओली ध्वंसका अवतार बन्न थाले । त्यसो त राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर उनले पार्टीहरू ध्वंस गर्नतिर लागेका थिए । ओलीले जुन शैली अपनाएर काम गरिरहेका छन्, उनका शैली र उनले गरेका धेरै कामहरूको निरन्तर आलोचना भइरहेको छ ।

जननिर्वाचित संसद् विघटन केपी ओलीको असंवैधानिक कदम थियो भन्ने कुरा सर्वाेच्च अदालतको फैसलाले पुष्टि भइसकेको छ । विगत केही महिनाका घटनाहरूले प्रस्ट गरेका छन् कि नेपालका कम्युनिस्ट पार्टीमा नवसामन्तवर्गको उदय भइसकेको छ र त्यसको ज्वलन्त उदाहरण केपी शर्मा ओली हुन् । कम्युनिस्ट पार्टीको नामबाट देशमा सबै थोक भइसकेको छ । हुन बाँकी केही छैन ।

प्रचण्ड अवतार-माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षको नेता भएका कारण प्रचण्ड त्यसै पनि अवतारजस्तै थिए । माओवादीको २०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको ‘प्रचण्डपथ’बाट प्रचण्डअवतार उकालो लागेको हो । प्रचण्डपथ कुनै विचार वा वाद थिएन । त्यो सामन्तवादको रूपमा अगाडि सारिएको प्रचण्डअवतार थियो । प्रचण्डको त्यही अवतारका कारण प्रचण्ड करिब ३० वर्ष लगातार नेतृत्वमा बसेका छन् ।

प्रचण्डले नेतृत्वमा टिकिरहनका लागि मोहन वैद्य, सीपी गजुरेल, बाबुराम भट्टराईलगायत दर्जनौँ आफ्ना सहकर्मीहरूलाई एक/एक गरेर पार्टीबाट गलहत्याउनु उनको दोस्रो अवतार हो । पदप्रतिको चरम मोह, लगातार शक्तिमा रहन खोज्ने उनको चालबाजी उदेकलाग्दो छ । उनी आफू नभए पार्टी सकिन्छझैँ प्रस्तुत हुन्छन् । वास्तविकता यस्तो भएको छ कि उनकै कारण माओवादी संकटमा परेको छ ।

जनतालाई मुक्तिको सपना देखाएर जीवनमरणको लडाइँमा होमेका प्रचण्डले लडाकु, घाइते र बेपत्ताका परिवारलाई अलपत्र अवस्थामा छोडेर सत्ताको खेलमा मात्रै सीमित भएका छन् । जसको बलमा उनले शक्ति र सत्ता आर्जन गरे, तिनीहरू अलपत्र अवस्थामा छन् । धोखाधडीको अर्काे नाम प्रचण्ड हो । जो हजारौँ घाइते, अपाङ्ग, लडाकु र बेपत्ताका समस्यामा मौन छन् । घाइते, अपाङ्ग, बेपत्ता र पूर्व लडाकुहरूले प्रचण्डकै विरुद्धमा संघर्ष गरिरहेका छन् ।

देशको राजनीतिमा गलत एजेण्डा ल्याएर अस्थिरतामा खेल्न खोज्नु प्रचण्डको तेस्रो अवतार हो । जातीयता, क्षेत्रीयता, संघीयताजस्ता एजेण्डाले देशको स्थायित्वमा संकट पैदा भएको छ । प्रचण्डका लागि कम्युनिस्टको मूल्य, सिद्धान्त र आचरणविपरीतका कार्य गर्नु सामान्य भइसकेको छ । राजर्षि र तडकभडकपूर्ण जीवनशैली, वर्गीय मुक्तिका नाराहरूलाई तिलाञ्जलि दिएर सत्ताको खेलमा रमाउनु प्रचण्डको दैनिकी बनेको छ । आफ्नो स्वार्थका लागि विद्रोहको धम्की दिनु सामान्य भइसकेको छ ।

माधव अवतार-कम्युनिस्ट आन्दोलनमा सबैभन्दा कमजोर अवतार माधव नेपालको छ । यिनी हेर्दा सादगी देखिन्छन् । यिनको समस्या के हो भने यिनी जहिल्यै विचारविहीनताबाट गुज्रिरहेका हुन्छन् । निर्णायक घडीमा गलत निर्णय गर्नु यिनको नियती नै बनिसकेको छ । माधव नेपालले नेतृत्व गरुञ्जेल नेकपा (एमाले) लिङ्ग नछुट्टिएको पार्टी भन्ने गरिन्थ्यो । उनले कहिल्यै प्रस्ट रूपमा विचार प्रकट गर्दैन थिए ।

मदन भण्डारीले विरोध गरेको महाकाली सन्धि पारित गर्नु, लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाउनु, राजा ज्ञानेन्द्रलाई पैसा चढाउनु, प्रधानमन्त्री बन्नका लागि दरबारमा निवेदन हाल्नु, प्रतिगमन आधा सच्चिएको भन्दै दरबार पस्नु यिनका खराब निर्णयहरू थिए ।

गत वर्षदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कडा टक्कर गरिरहेका माधव नेपाल सर्वाेच्चको एउटा निर्णयकै आधारमा ओलीसँग फर्किएका छन् । बारम्बारको आफ्नो असफल अवतारको नाम नै माधव नेपाल हो । विचार र सिद्धान्तमा लडाइँ गरिरहेका छैनन् । सत्ता स्वार्थको लडाइँले माधव नेपाललाई कति फाइदा भएको छ, उनले आफैँ मूल्यांकन गरिरहेका होलान् । देश र जनताका लागि एमालेभित्रको आन्तरिक किचलो र झगडाले कुनै योगदान गर्दैन ।

कम्युनिस्ट अवतारको स्खलन -जुन सामन्त अवतारको चर्चा गरियो, त्यो कम्युनिस्ट आन्दोलनमा नसुहाउने चरित्र हो । नामको कम्युनिस्ट भए पनि व्यवहारमा सबै जसो पार्टीका नेतृत्वले पुँजीवादी जीवनशैली अपनाउँदै सामन्त अवतार धारण गरेका छन् ।

चिनियाँ सामन्त अवतारबारे माथि चर्चा भइसकेको छ । तैपनि चिनियाँ नेताहरूले कम्युनिस्ट पार्टीलाई सामन्त अवतारबाट बचाउन निरन्तर संघर्ष गरेका थिए । चिनियाँ नेता चाउ एन लाइले असल नेतामा निम्न गुणहरू हुनुपर्ने बताएका छन् : जीवनबारे क्रान्तिकारी दृष्टिकोण, सिद्धान्तप्रति निष्ठा, जनताको तागतमा आस्था, अध्ययनप्रति समर्पण, दरो जुझारु भावना र अनुशासनको उच्च भावना ।

मओत्सेतुङले नेतामा हुनुपर्ने यी पाँच कुरामा जोड दिएका छन्: महत्त्वपूर्ण कुरामा जोड दिनु, राजनीतिक चनाखोपनलाई तिखार्नु, आफ्नो सैद्धान्तिक स्तर उठाउनु, पार्टीभित्र र बाहिर विचारधारात्मक संघर्षलाई तीव्र पार्नु र पार्टीका नीति र उपलब्धिहरूलाई सक्रिय रूपमा जनतामा प्रचार गर्नु ।

चाउ एन लाईले भनेका छन्, ‘गल्तीहरू सच्याउँदा विश्वास कमजोर हुँदैन, बरु बलियो मात्र हुनेछ । घमण्डी र लाज बचाउन चाहने मानिसहरू मात्र गल्तीको पर्दाफास होला भनेर डराउँछन् ।’ उनले अगाडि भनेका छन्, ‘जनताको बीचमा जाऊ, नेताले जनसाधारणलाई सिकाउने मात्रै होइन, उनीहरूबाट सिक्नु पनि पर्छ ।’ नेपालमा भने ठीक यसको उल्टो छ । कम्युनिस्ट पार्टीका नेताहरू जनताबाट टाढिँदै गइरहेका छन् ।

दुवै चिनियाँ नेताका भनाइहरू नेपाली नेताहरूका लागि बिर्सिएको साहित्य भइसकेका छन् । आफ्नो पद, प्रतिष्ठा, सुविधा आदिलाई केन्द्रमा राखेर कम्युनिस्ट पार्टीका नेताहरू प्रस्तुत भइरहेका छन् । नेपाली कम्युनिस्ट नेताहरू कम्युनिस्टमा हुनुपर्ने आचरण, गुण, सिद्धान्त, व्यवहार आदिबाट च्यूत भइसकेका छन् । त्यसैले कम्युनिस्ट पार्टीका मुख्य नेताहरूमा सामन्त अवतार प्रकट भएको हो ।

कम्युनिस्ट सिद्धान्त, विचार र व्यवहारबाट च्यूत हुँदै गएपछि सामन्ती तथा पुँजीवादी व्यवहार हावी हुँदै गएको छ । त्यसले कम्युनिस्टहरूप्रति जनतामा व्यापक भ्रम पैदा भएको छ । सच्चा कम्युनिस्टहरूले कम्युनिस्ट पार्टीमा मौलाउँदै गएको पुँजीवादी भद्दा जीवनशैली र सामन्तअवतारको विरुद्ध संघर्ष गर्नुपर्छ । त्यसरी नै कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकिन्छ । बिमल पोखरेलले सिलापत्रमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार