बालकोट छिर्न नयाँ शक्तिका बावुरामको हारगुहार !

  मूलधार सम्वादाता  608 पटक हेरिएको

काठमाडाैं-  पछिल्लो समय नेपाली राजनीतिको शक्ति केन्द्रको रुपमा स्थापित बालकोट निवास छिर्न नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ठूलो पापड पेल्नुपरेको छ ।

आफ्ना सहयोगीमार्फत समय मागेका बाबुरामले ओलीको भेट पाउन पालो नै कुर्नुपर्यो । गोरखा छँदै समय मागेका बाबुरामले सोमबार मात्रै बालकोट निवास छिर्न पाए ।

ओलीको निजी सचिवालय स्रोतका अनुसार सोमबार बिहान बालकोट पुगेर बाबुरामले चुनावी जितका लागि ओलीलाई बधाई दिएका थिए । करिब ४५ मिनेट लामो भेटवार्तामा बाबुरामले ओलीलाई स्थिर सरकार र आर्थिक समृद्धिको एजेन्डाका लागि आफ्नो आवश्यकता खड्किए आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको सन्देश सुनाएका थिए । अर्थात अबको वाम सरकारमा आफू अर्थमन्त्री बन्न तयार रहेको उनको संकेत थियो ।

हुन त बाबुरामले आफू पूर्वप्रधानमन्त्री भएपनि देशका लागि पोर्टफोलियो मास्न पनि तयार रहेको बताउने गरेका छन् । यसअघि बाबुरामले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिईओ बन्ने चाहना समेत व्यक्त गरेका थिए । र, अहिले ओलीको नेतृत्वमा वाम सरकार बन्ने भएपछि बाबुरामले बालकोट पुगेर आफ्नो सन्देश सुनाएका हुन् ।

यद्यपी बाबुरामले ओलीसँग भेटमा यसबारे कुनै कुरा नभएको दाबी गरेका छन् । उनले आफू ओलीलाई चुनावी जितका लागि बधाई दिन मात्रै बालकोट गएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार