बल्ल जोडियो ‘मेची पारिको नेपाल’

  पत्रपत्रिकाखबर  54 पटक हेरिएको

सदरमुकाम आउन मेची नदीले रोक्छ । गाउँमा न विद्युत् छ न त बाटो नै । गाउँसम्म सुरक्षाकर्मी पनि पुग्दैनन् । मेची नदीवारि आउँदा आफ्नै देशमा विदेशीको जस्तो व्यवहार खेप्नुपर्छ । यो समस्या केहीअघिसम्म झापा भद्रपुर–३ मेचीपारि महेशपुरका नागरिकले भोगेका थिए । अहिले उनीहरूको यो समस्या बिस्तारै सामाधान हुँदै छ । मेचीपारिको बस्तीमा करिब १५० घर–परिवार छन् । यसअघि यो बस्ती राज्यको नजरबाहिरै थियो । आफ्नै देशमा ‘विदेशी’ भएर बसेका मेचीपारिका जनता राज्यको नजरमा पर्न थालेका छन् । सामान्यतः पूर्वमा भारतसँगको सिमाना मेची नदीलाई लिने प्रचलन छ । तर, मेचीपारि पनि नेपालको ठूलो बस्ती छ । यो बस्ती वषौँदेखि राज्यबाट उपेक्षित छ । जिल्लाको सदरमुकाम रहेको नगरपालिकामा भएर पनि विकासमा पछि परेको छ, मेचीपारि । बर्खामा मेची नदी ओर्लेर आउँदा भारतीय बजारकै भर पर्नुपर्थ्यो ।

तर, एक वर्षअघि मेची नदीमा झोलुंगे पुल बनेसँगै उनीहरू भद्रपुर बजारसँग जोडिएका छन् । ‘बर्खामा त नदी उर्लेर आउँथ्यो । नाउमै चन्द्रगढी बजार जानुपथ्र्यो । त्यहाँ जोखिम मोलेर जानुभन्दा त भारतको बजारमा जानुनै ठीक हुन्थ्यो,’ मेचीपारिका सचिन राजवंशी भन्छन्, ‘हिउँदमा पनि बाइक तार्न सकिँदैनथ्यो । अब त झोलुंगे पुल बन्यो । बर्खा र हिउँदमै आफ्नै देशको बजार जान पाएका छौँ ।’वर्षौँदेखि देशको ‘जंगेपिलर’का रूपमा बसेका मेचीपारिका वासीलाई चन्द्रगढी बजार आउँदा नेपाली नै होइन कि भनेर शंका गर्ने गर्थे । तर, अब बिस्तारै उनीहरूले पनि सम्मान पाउन थालेका छन् । ‘चन्द्रगढीतिर जाँदा धेरै केरकार गर्थे । घर मेचीपारि भन्दा इन्डियन हो कि क्यो हो भन्थे । नागरिकता बनाउन जाँदा पनि शंका मात्र गर्थे,’ राजवंशी भन्छन्, ‘अब त सुरक्षाकर्मी यहीँ आउनुभएको छ । हामीले बल्ल सम्मान पाउन थालेका छौँ ।’

पुल, सडक पुगेसँगै ‘नेपाली’ महसुस-पुल, सडक, विद्युत् र सुरक्षाकर्मी पुगेसँगै मेचीपारिका नागरिकले ‘नेपाली’ महसुस गर्न थालेका छन् । ‘बाटो, पुल बन्यो, बिजुली आयो । सुरक्षाकर्मी पनि आएपछि त हामी अब पूरा नेपाली भयौँ,’ स्थानीय सूर्य गुप्ता भन्छन्, ‘पहिला त कर्मचारीले पनि यो ठाउँ नेपाल हो र ? भन्थे । बर्खामा नाउ कहिले खुल्ने हो थाहा हुँदैनथ्यो । सागसब्जी लिन पनि भारत जानुपथ्र्यो । अब त आफ्नै देश सजिलै जान सकिन्छ ।’ शिक्षाका लागि मेचीपारि आधारभूत तहको विद्यालय छ । आधारभूत तहको शिक्षा यहीँ पाउन थालेका छन्, उनीहरू ।

कोरोना महामारीका समयमा नाकामा बसेका सशस्त्र प्रहरी अहिले पनि त्यहीँ छन् । जसका कारण आफूहरूले सुरक्षा महसुस गर्न पाएको ७० वर्षीय वृद्ध जीवन राजवंशी बताउँछन् । ‘पहिला त चोरडाका लागेर बस्नै नसक्ने हुन्थ्यो । उता(भारत)पट्टी एसएसबी बस्यो । त्यसपछि चोर आउन छाडे,’ उनी भन्छन्, ‘अब त हाम्रा सशस्त्र आएर बसेका छन् । जसका कारण हामीलाई ढुक्क भएको छ । पहिलाको तुलनामा विकास धेरै भएको छ । पहिला जे गर्न पनि गलगलिया जानुपर्थ्यो । अब आफ्नै देश जान पुल, बाटो बन्यो ।’

विभेद अन्त्य हुँदै-विगतमा आफ्नै देशबाट हेपिएको अनुभव छ, मेचीपारिका वासीसँग । आफ्नै देशमा काम गर्न जाँदा पनि भारतीय भन्दै उनीहरू विभेदमा पर्ने गरेका थिए । तर, अब सुरक्षा निकाय नै आएपछि भने विभेद हटेको स्थानीय कपिलेश्वर महतो बताउँछन् । ‘अब त हामी नेपाली हौँ भनेर सरकारले चिन्यो । त्यसैले त यहाँसम्म सशस्त्र पनि पठायो,’ उनी भन्छन्, ‘अब त हामीलाई कसैले हेप्न सक्दैन । हेपेको पनि छैन ।’

विगतमा छोराछोरीलाई माथिल्लो तहको अध्ययनका लागि विद्यालय पठाउन पनि मुस्किल थियो । तर, अब पुल बनेपछि भने भद्रपुरसम्म बालबालिकालाई विद्यालय पठाउन पनि सहज भएको स्थानीय वृद्ध श्रीप्रसाद महतो बताउँछन् । ‘जति कष्ठ भोग्नु पहिल्यै भोगियो । अब त पहिलाको हेरेर धेरै सुख छ । यहाँ ८ कक्षासम्म स्कुल छ । त्यसपछि पढाउन भद्रपुर पठाउनुपथ्र्यो । बर्खामा खोलाको बाढीले गर्दा विद्यालय जान सक्दैनथे,’ उनी भन्छन्, ‘अब त खोलामा पुल बन्यो । केटाकेटीलाई राम्रो स्कुल पठाउन पनि सक्ने भयौँ ।’

तर, झोलुंगे पुलआसपास तटबन्धन नगर्दा बर्खामा समस्या हुने हो कि भन्ने चिन्ता छ, स्थानीयलाई । ‘अहिले बाटो भएको ठाउँसम्म खोला आउँछ । पुल त बनाए । हिँडडुल गर्न सुरु पनि भयो । तर, बर्खामा बाटो बगाएर हिँड्ने ठाउँ हुँदैन कि भन्ने चिन्ता छ,’ महतो भन्छन्, ‘यहाँ सरकारले तटबन्धन गरिदिए राम्रो हुने थियो । बर्खामा नाउ पनि चढ्नुपर्ने थिएन ।’

पक्की सडक र बाढीबाट सुरक्षाको माग-राज्यबाट सधैँ टाडा रहेका मेचीपारिका वासीले गाउँमा कालोपत्रे र बर्खाको बाढीबाट जोगिने उपयुक्त विकल्प सरकारसँग माग गरेका छन् । ‘गाउँमा विजुली आयो, पुल बन्यो, नयाँ बाटो पनि बनेको छ । तर, बर्खामा हिलोले गर्दा हिँड्नै नसक्ने हुन्छ,’ स्थानीय हावालाल राजवंशी भन्छन्, ‘यहाँ बाटो पिच गरिदिए हुने । बर्खामा खोलायता पस्छ कि भन्ने डर हुन्छ । यसलाई सरकारले हेरिदिए हुने ।’विकासका दृष्टिकोरणले पछि परेको मेचीपारिको महेशपुरलाई विकाससँग जोड्ने प्रयत्नमा लागेको सोही ठाउँबाट वडासदस्यमा निर्वाचित अरुण राजवंशी बताउँछन् । ‘विगतमा कसैको नजर परेन यस बस्तीमा । अब बिस्तारै विकासको काम सुरु भएको छ,’ उनी भन्छन्, ‘मेचीपारिको महेशपुर क्षेत्रमा पनि वारिजस्तै विकास गर्छौँ । त्यसका लागि मैले नगरपालिकासम्म कुरा पुर्‍याइरहेको छु ।’

सीमा सुरक्षाकाका निम्ति खासै प्रभावकारी भएन । कोरोना महामारीका वेला सशस्त्र प्रहरी पुगेपछि स्थानीयले सुरक्षित महसुस गरे । अहिले पनि त्रिपाल टाँगेर त्यहाँ सशस्त्र प्रहरी बसेको छ । सशस्त्र प्रहरी नहुँदा नेपाली बस्तीसम्म एसएसपी आउने गरेको स्थानीय हलसरी राजवंशी बताउँछिन् । ‘पहिला त भारतका एसएसबी हाम्रो घर भएतिर आउँथे । सशस्त्र प्रहरी आएपछि अहिले उनीहरू धेरै पर बस्छन्,’ उनले भनिन्, ‘अब सधैँ सशस्त्र बसेदेखि हामीलाई धेरै सहज हुन्थ्यो ।’ सशस्त्र प्रहरीलाई मेचीपारिको महेशपुर क्षेत्रमा राख्न स्थानीय आफैँ लागेका छन् । नयाँपत्रिका दैनिकबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार