यो बर्षको अन्तिम महिनाको राशिफल

  राशिफल  500 पटक हेरिएको

यो बर्षको अन्तिम महिना चैत्र महिनाको राशिफल । मेष -यो महिना केही खर्चिलो हुने देखिन्छ। अर्थ अभावका बीच दीर्घकालीन महत्त्वका काम गर्नुपर्ने समय छ। काममा पनि चुनौती देखापर्नेछन्। सुरुमा सहयोगको आशा देखाउनेहरूले अन्त्यमा बोली फेर्न सक्छन्। समय र नियमलाई पालना नगर्दा व्यवहारमा समस्या आइपर्नेछ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। ऋणको बोझ उठाउनुपर्ने हुन सक्छ। व्यावहारिक कठिनाइका बाबजुद यो महिनामा विभिन्न अवसर पनि प्राप्त हुनेछन्। खर्च लागे पनि प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। तत्काल फाइदा नभए पनि पछिका लागि लगानी गर्ने मौका छ। नोकरीमा स्थानान्तरणको बलियो सम्भावना देखिन्छ। आफन्तबाट टाढिनुपर्ने स्थिति भने आउन सक्छ।

वृष -हिम्मतले काम लिने समय छ। सानो प्रयत्नले उपलब्धि दिलाउनेछ, आम्दानी बढ्नेछ र खुसीको समाचार सुन्न पाइनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् भने दैनिकीले उचाइको बाटो समाउनेछ। व्यवसायमा उल्लेख्य सुधार हुनाले आयस्रोत सबल बन्नेछ। कृषि तथा पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नुका साथै अध्ययनमा प्रगति हुनेछ। नोकरीमा पदोन्नति वा अनुकूल स्थानान्चरण हुने बलियो सम्भावना देखिन्छ। तारिफयोग्य कामले समाजमा ख्याति दिलाउनेछ। राजनीतिक पहुँचले पनि आशा जगाउनेछ। तर, अल्पकालीन सोचाइले कमजोर बनाउन सक्छ। प्रतिशोधको भावना जागृत हुनेछ भने बेसुरको निर्णयले पछिलाई समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।

मिथुन -विभिन्न अवसर प्राप्त हुनाले यो महिना उत्साहवर्धक रहनेछ। प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने तारिफयोग्य काम सम्पादन हुनाले सामाजिक रूपमा ख्याति बढ्नेछ। नोकरी तथा राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। जिम्मेवारीअनुसार मानसम्मान प्राप्त हुनेछ। पेसातर्फ महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ। दिगो योजनातर्फ लगानी बढाउनुपर्ने समय रहेकाले खर्चको मात्रा भने बढ्नेछ। कर्मक्षेत्रमा राम्रो सुरुआत भए पनि आर्थिक पक्षमा केही समस्या आउन सक्छन्। देश–विदेश घुम्ने रहरले फजुल खर्च निम्त्याउनेछ। पुरानो कर्जा तथा उपकरणको मर्मत–सम्भारले पनि अधिक व्ययभार निम्त्याउन सक्छ। पेसा र व्यवसायका लागि भौतिक साधन जुटाउने समय छ।

कर्कट -व्यवहारमा केही समस्या देखिए पनि आयस्रोत सबल बन्नेछ। विगतको सञ्चित फल प्राप्त हुने समय छ। इच्छाशक्ति एवं लगनशीलताले कामका चुनौती पार लगाउन सकिनेछ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। नयाँ अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ। आस मारेको प्रतिफलले उत्साह जगाउनेछ। थोरै खर्चले नयाँ क्षेत्रमा लगानी गर्ने मौकासमेत पाइनेछ। केही समय अरूका काममा जुट्नुपरे पनि अन्ततः फाइदा आफैंलाई हुने समय छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। धार्मिक, सामाजिक र परोपकारी क्रियाकलापमा संलग्न भइनेछ।

सिंह -यवहारमा संघर्ष गर्नुपरे पनि खोजमूलक अध्ययनमा लाग्नेहरूका लागि यो महिना लाभदायक रहनेछ। परिवारजनले साथ दिनेछन्। तर, व्यवसाय र आयमूलक काममा मन्दी आउनुका साथै आर्थिक अभावले पनि सताउन सक्छ। खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका हुन सक्छ। समस्या पर्दा आफन्तले समेत साथ नदिने हुँदा बुद्धिविवेकले काम लिनुपर्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले अनीति र अन्यायविरुद्ध उत्रने आँट जाग्नेछ। स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्ला। राजनीतिक र सामाजिक प्रभाव कमजोर बन्नेछ। सामान्य चोटपटक वा हाड–जोर्र्नीमा समस्या देखिएकाले सवारीसाधन वा हातहतियारको उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।

कन्या -केही खर्च लागे पनि रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ। कृषि तथा व्यापारमा आम्दानी बढ्नुका साथै केही धन सञ्चय गर्न सकिनेछ। तर, समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ। स्वास्थ्यमा मौसमी समस्या आउने हुँदा आँटेका काममा केही विलम्ब हुनेछ। अरूको भरपर्दा काम रोकिन सक्छ। आफ्नै कमजोरीले आफन्त टाढिन सक्छन्। उत्तरार्धमा घरखर्च बढ्नेछ र व्यापारमा मन्दी आउनेछ। जीवनसाथीलाई पनि केही पीडा हुने ग्रहयोग छ। अप्रिय समाचारले मन खिन्न रहनेछ। चोटपटकको सम्भावना देखिएकाले जोखिमपूर्ण काममा अघि नसर्नुहोला। रोकिएका काम भने बिस्तारै सम्पादन हुनेछन्।

तुला -काममा प्रतिस्पर्धा गर्नुपरे पनि आर्थिक हिसाबले यो महिना लाभदायी रहनेछ। धन आर्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। लामो समयदेखि रोकिएका काम बन्नुका साथै नयाँ उद्योग वा व्यवसाय सुरु गर्ने मौका छ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। पारिवारिक सम्बन्ध भने अलि कमजोर बन्न सक्छ। तापनि टाढिएका आफन्तसँग पुनर्मिलन हुने सम्भावना छ। अरूको भरपर्दा काम बन्न भने व्यर्थैमा बढी समय लाग्नेछ। पर्याप्त श्रम र लगानी अभावले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। सामान्य चोटपटकको सम्भावना देखिए पनि महिनाको उत्तरार्ध उपलब्धिमूलक रहनेछ।

वृश्चिक -अवसरका लागि निकै प्रयत्न गर्नुपर्ने समय छ। स्वास्थ्यमा मौसमी समस्या देखापर्नाले आँटेका काममा केही विलम्ब हुनेछ। धेरै परिश्रमले मात्र उपलब्धि प्राप्त हुनेछ। तर शरीरमा आलस्य बढ्नुका साथै उत्साहमा कमी आउन सक्छ। बलजफ्ती गर्ने बानीले घर–गृहस्थीमा असमझदारी बढ्नेछ भने नजिकका नातेदार समेत टाढिन सक्छन्। व्यवहारमा आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने प्रयत्न गर्नेछन्। विद्यार्थीहरूमा अध्ययनतर्फ ध्यान केन्द्रित नहुने समस्या देखिन्छ। महिनाको उत्तरार्धमा स्थितिमा सुधार आउनेछ र अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। शुभचिन्तकको सहयोग जुट्नाले आर्थिक समस्या सुल्झनेछ भने मिहिनेतले स्वरोजगार बन्न समेत सफल भइनेछ।

धनु -अवसर र चुनौतीको संक्रमणले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा समयमा बुद्धि–विवेकले काम लिन नसकिएला। भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा वादविवाद आउन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण वादविवाद हुन सक्छ। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। कृषितर्फ पछि फाइदा हुने काम थालनी हुनेछ। साझेदारीमा विवाद र पारिवारिक मतभेद देखापर्ने हुँदा संयमतापूर्वक काम लिनुपर्नेछ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिगो योजना नहुँदा सुरुमा केही अलमल देखिए पनि विभिन्न अवसर जुट्नाले यो महिना लाभदायक हुनेछ। नसोचेका काम बन्नेछन् भने मिहिनेत गर्दा लक्ष्यप्राप्ति हुनेछ। उद्योग–धन्दा र व्यापारमा विशेष लाभ उठाउन सकिनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ हुनेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ हुनेछ। तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर प्राप्त गर्न सकिनेछ। अध्ययनतर्फ महिनाको उत्तरार्ध उपलब्धिमूलक रहनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने साथीभाइको सहयोगले देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। सानो प्रयत्नले दिगो अवसर प्राप्त हुनेछ।

कुम्भ -एकसाथ अनेक काम प्रारम्भ हुनेछन् तर उच्च महत्त्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ। स्वास्थ्यमा टाउको र आँखाको समस्याले सताउन सक्छ। धनमाल हराउने, चोरिने वा ठगीमा परिने समेत ग्रहयोग छ। बोलीवचनको असंयमताले सहयोगीहरू टाढिनेछन्। घर–जग्गा वा स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। सद्विचारले प्रेरित हुनेहरूलाई शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेत गर्दा महिनाको उत्तरार्धमा फाइदा उठाउन सकिनेछ। प्रबल इच्छाशक्ति र लगनशीलताले धन आर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन्। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। बौद्धिक सफलताले उत्साह जगाउनेछ।

मीन -केही समस्या देखिए पनि लगनशील बन्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। स्वास्थ्य प्रतिकूल रहे पनि प्रेम र मित्रताको बन्धनले मन उत्साहित रहनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। समाजमा गुमेको स्थान प्राप्त हुनेछ भने व्यवसायले प्रगतिको मार्ग अवलम्बन गर्न सक्छ। तर, ज्वरो, टाउको दुखाइ, मौसमी समस्या आदिले सताउने हुँदा काम सम्पादन गर्न समय लाग्नेछ। दाजुभाइमा असमझदारी बढ्नाले पारिवारिक निर्णय अवरुद्ध बन्न सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। आत्मविश्वास र लगनशीलताले जटिल काम समेत सम्पादन हुनेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार