प्रसाद र ‘छक्का पञ्जा ३’ले पायो ६–६ वटा अवार्ड

  पत्रपत्रिका खबर  277 पटक हेरिएको

फिल्म ‘छक्का पञ्जा–३’ ले वर्षको सर्वोत्कृष्ट फिल्मसहित सर्वोत्कृष्ट निर्देशक, कथा, पटकथा, हास्य अभिनेता, लोकप्रिय तथा सबैभन्दा बढी आम्दानी गर्न सफल भएको फिल्मको अवार्ड जितेको हो। यसै फिल्मबाट दीपाश्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भइन्। साथै दीपकराज गिरीले सर्वोत्कृष्ट कथा एवं पटकथा विधाको अवार्ड जित्दा अभिनेता केदारप्रसाद घिमिरेले सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड पाए।

दिनेश राउतद्वारा निर्देशित ‘प्रसाद’ले पनि ६ वटा अवार्ड हात पारेको छ। यसै फिल्मबाट अभिनेता विपिन कार्कीले फिल्म सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। फिल्ममा समावेश गीत ‘जाऊँ माया सरर..बोलको गीतबाट गणेश शाहले सर्वोत्कृष्ट गीतकारको अवार्ड हात पारेका छन्। साथै संगीतकार सुवास भुषालले सर्वोत्कृष्ट संगीतकारको अवार्ड पाए। यसैगरी, उदयराज पौडेलले संगीत संयोजक तथा गायक केतन क्षेत्रीले सर्वोत्कृष्ट गायकको अवार्ड हात पारे। ‘प्रसाद’बाटै पत्रकार सुशिल पौडैलले सर्वोत्कृष्ट संवादको अवार्ड जित्न सफल भए।

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा अभिनेता अनमोल केसीलाई लोकप्रिय अभिनेत्री तथा अभिनेताको रूपमा पुरस्कृत गरियो। यस्तै, अभिनेत्री मेनुका प्रधानले ‘साइँली’बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। फिल्म मेकअप एन्ड हेयरको अवार्ड ‘रोमियो एन्ड मुना’बाट शमशेर लामाले जित्दा कस्ट्युम डिजाइनरको अवार्ड ‘इन्टुमिन्टु लन्डनमा’बाट युबी थापाले हात पारे।

यता कला निर्देशकको अवार्ड फिल्म ‘रोमियो एन्ड मुना’बाट पासाङ टी शेर्पाले पाएका छन्। सर्वोत्कृष्ट गायिकाको अवार्ड भने फिल्म ‘नाइँ नभन्नु ल ३’बाट समीक्षा अधिकारीले हात पारिन्। यस्तै, सर्वोत्कृष्ट ट्रेलरको अवार्ड फिल्म ‘ए मेरो हजुर–३’ बाट साहिल खानले हात पारे। भिएफएक्सको अवार्ड पनि यसै चलचित्रले हात पारेको छ। रङ संयोजनको अवार्ड चलचित्र ‘हरि’बाट अर्जुन कार्कीले जिते।

ब्याकग्राउन्ड स्कोरको अवार्ड ‘डमरुको डन्डिबियो’बाट एलिस कार्कीले जित्न सफल भए। ध्वनि मिश्रणको अवार्ड मुकेश शाह ‘डमरुको डन्डिबियो’बाट हात पारे। फिल्म ‘डमरुको डन्डिबियो’बाट अनुप बरालले सह–अभिनेताको अवार्ड पाएका छन् भने फिल्म ‘गोपी’की अभिनेत्री सुरक्षा पन्तले सह–अभिनेत्रीको अवार्ड जितेकी छन्।

त्यस्तै , चलचित्र ‘ए मेरो हजुर–३’ बाट कविराज गहतराजले नृत्य निर्देशकको अवार्ड प्राप्त गरे भने ‘रणवीर’बाट चन्द्र पन्तले सर्वोत्कट द्वन्द निर्देशकको अवार्ड जिते। यसैगरी, ‘ए मेरो हजुर–३’बाट सुहाना थापाले डेब्यु अभिनेत्रीको अवार्ड जितेकी छन् भने धीरज मगरले ‘इन्टु मिन्टु लन्डनमा’ डेब्यु अभिनेताको अवार्ड पाएका छन्। साथै डेब्यु निर्देशकको अवार्ड फिल्म ‘कथा काठमाडौं’बाट संगीता श्रेष्ठले पाइन्। सर्वोत्कृष्ट सम्पादकको अवार्ड पनि ‘कथा काठमाडौं’कै मित्र गुरुङको पोल्टामा पर्यो। ख्लनायक अभिनेताको अवार्ड पनि सोही फिल्मका प्रमोद अग्रहरीले जिते।

छायाकारको अवार्ड चलचित्र ‘हरि’बाट चिन्तनराज भण्डारीले पाएका छन्। यही चलचित्रले जुरी अवार्ड पनि जितेको छ। कार्यक्रममा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिनालाई नगद ५१ हजार १ सय ११ रूपैयाँ र ताम्रापत्रसहित दीर्घ साधना सम्मान प्रदान गरियो। राजधानीको सोल्टी होटलमा शनिबार ड्रिम हाई नेपाल तथा नेपाल चलचित्र प्राविधिक संघले अवार्ड घोषणा गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार