२२ वर्षपछि द्वन्द्वमा हराएका मेरा काका फर्किए

  मूलधारपोष्ट  107 पटक हेरिएको

नहकुल जोशी-म आज मेरो परिवारको एउटा कथा लेख्दैछु । यो कल्पना हैन, वास्तविक र सत्य घटना हो । तरपनि म यसलाई कथा नै भनिरहेको छु । यो कथाको प्रारम्भ हुँदाका बखत मेरा हातका औंलाले भर्खर कखरा कोर्न सिक्दै थिए । मेरो मानसपटलले बाह्रखरीहरुलाई मुस्किलले पहिचान गर्दथ्यो । तर, यो कथाको अन्त्य हुँदाको दिनसम्म मेरो दोस्रो डिग्रीको दोस्रो समेस्टर चलिरहेको छ । बालापनका धमिला स्मरणहरुलाई म पुनः स्मृतिमा गाढा गर्न खोजी रहेको छु किनकि मेरो वास्तविकता जस्ता सयौं वास्तविताहरु अझै पनि दरारमा बाध्यता बनेर बसेका छन् भन्ने मेरो अनुमान हो ।

घटना २०५५ साल तिर हो । म कक्षा २ मा पढ्थे । मेरा हातहरु सिलौटा र कालापाटीबाट कपीका पानालाई स्पर्श गर्नसक्ने भएका थिए । मेरो परिवारमा म जन्मेपछि सबैभन्दा खुसी मेरो हजुरबुवा हुनुभएको थियो रे । म जन्मिनुभन्दा केही महिना अघि मात्र उहाँले पुत्र विगोग खेप्नु परेको यियो । मेरो काका, १६ बर्षको उमेरमा हजुरबाको काखबाट सदाका लागि विश्राम लिएर गएपछि विक्षिप्त मन बोेकेर वैरागीनु भएका हजुरबाका लागि सुविस्तको सास भएर जन्मेछु म । मेरो परिवारको सबैभन्दा जेठो नातीका रुपमा । परिवारकै जेठो, हजुरबाको कुडिएको मनको एउटा सानो मल्हम, उमेरले ७ वर्ष पुग्दासम्म मलाई हजुरबाले आफूसँगै राख्नुभयो ।

गोठालो जाँदा निफेराका वनमा किन नहोस्, म पनि हजुरबासँगै हिँडे, कुदेँ, तर म पढ्नुपर्ने भयो, उहाँको काखबाट टाढा भएँ । विद्यालय जीवनको शुरुवात भयो । म कक्षा एकमा पढ्दा मेरो अर्को काका ७ कक्षामा पढ्नुहुन्थ्यो । त्यो समय २०५४ तिरको हो । त्यतिबेला जनयुद्धले आफ्नो चर्को रुप लिँदै थियो । गाउँले जीवनमा जनयुद्धले पीडा थपिरहेको थियो । अब आमाबाहरुलाई छोरा–छोरी ठूला भएकामा चिन्ता थियो । युद्धको चपेटामा युवाहरु पर्ने नै थिए, त्यो दिन खासै टाढा थिएन । कतिपय युवाहरुले अब गाउँघरमा बस्नु उपयुक्त छैन भन्ने मनसाय गरेर बाटो लागे ।

यही शिलशिलामा कतिपयले गाउँ छोडे, कतिपयले देश छोडे, कतिपय परदेशी भए, कोहि माओवादी भए, कोहि पुलिस भए, कतिपयले रगत बगाए, कतिपय अंगभंग भए र कतिपय घरवार बिहिन भए । त्यो एक दशक त्यसरी नै चल्यो ।,कालिकोटबाट फैलिएको द्वन्द्वको राँकोले बाजुरालाई छिट्टै लपेड्ने छ भन्नेमा धेरैलाई आशंका थियो । धेरैका मन त्राशपूर्णँ थिए । साँझको समय सवैले रेडियोका नाक बटार्थे देशभरको हाल खबर लिन्थे । विछिप्त र कहाली लाग्दो निराशा बाकेर निदाउन्थे । बिहानले कस्तो सन्देश लिने हो थाहा हँुदैनथ्यो । यस्तै पीडा र हतास मन लिएर मेरो परिवारका सदस्यहरु पनि कति रात काटेका थिए थाहा छैन ।

यस्तै पीडाको राँकोमा लतपतिएको मेरो कान्छो काकाको बाल मनोदशाले पनि द्धन्द्धको काहाली लाग्दो करनामा सुन्न सकिरहेको रहेनछ । बालमनोदशामा हिर्काएको द्वन्द्वले के कुरा सपार्न सक्छ र भन्ने भावना यति बलियो भएर बसेछ कि एक दिन मेरो काकाले हामी सबैलाई छोडेर देश त्याग गर्ने निर्णय लिनुभयो ।
त्यो दिनलाई मेरो मस्तिष्कले अहिले पनि मजाले सम्झेको छ । बाजुराको तत्कालिन वाई गाविसस्थित स्वामी कार्तिक माविको घण्टीले छुट्टीको आवाज निकाल्यो । म पनि आफ्नो झोला तयार गरेर बाहिर निस्के । मेरो कक्षा कोठाको ढोकामै मेरो काका परुप्रसाद जोशी उभिनु भएको थियो ।

उहाँले आफ्नो किताबहरु मेरो हातमा थमाउदै, ‘म अलि ढिलो आउछु, तँ किताब लिएर घर जा है’ भन्नु भयो । म किताब समातेर सरासर घर लागे । साँझसम्म पनि उहाँ घर नआए पछि घरका सदस्यले मलाई सोधे कि तेरो काका कहाँ गयो । मैँले भने म ढिलो आउँछु भनेर मलाई किताब दिनुभएको हो । घरकाले त्यो साँझको प्रतिक्षा गर्दा गर्दै बिहान भयो । उहाँका लागि बाँकी रहेको भात ताउलो मै थियो । बिहान भयो । स्कुल जाने बेला भयो । म जसको हातको औँला समाएर झुन्डीदै स्कुल पुग्थे, आज उही मान्छे थिएन । लगभग १२ घण्टा भएको थियो । खबर नभएको ।

अहिलेको जस्तो टेलिफोन सेवा पनि थिएन, खबर गर्नलाई । विद्यालयमा आउँछन होला काका भन्ने आश गरेर विद्यालय गए तर, देखिन । साँझ हजुरबाले सोध्नु भयो, ‘त्यो स्कुल आएन ? देखिनस् त्यसलाई ?’ मैले नदेखेको सुनाए । अब त २४ घण्टा भयो कि काकाको कुनै खबर छैन र परिवारका सदस्यलाई शंका उब्जीयो कि त्यो माओवादीमा गयो । गाउँमा मेरो काका मात्र होइन्, उहाँका अरु २ जना साथीहरु पनि २४ घण्टादेखि सम्र्पक बिहीन भएको खबर सुनियो । उहाँसंगै पढ्ने साथीहरु पासवान कैला र गोरे धामी । परिवारले आशंका गरे ती तीनै जना माओवादीमा गए वा माओवादीले लिए । त्यहि दिनदेखि मेरो हजुरबाको निद्रा हरायो ।

एउटा छोरो गुमाएको ६÷७ बर्ष मात्र भएको आलो मनमा पुन घाउहरु फाट्न थाले । उहाँ रातभरी चित्कार गर्नुहुन्थ्यो । कस्तो सत्तुर जन्मेछ । यसरी धेरै दिनहरु बिते तर उनको कुनै खबर आएन । केहि बर्ष पछि उनीहरु तीनै जना भारतमा काम गरी रहेको भन्ने खबर आयो । मेरो परिवारले मेरो काका फर्किने आश गरेर बाटोहरु हेरे, धेरै बर्ष कुरे । १२ बर्षमा त खोला पनि फर्किन्छ भन्थे । १२ बर्ष बित्दा पनि उनको कुनै खबर आएन । सँगै भागेका मध्ये पासवान कैला फर्किए । सँगैका गोरे धामीको मृत्यु भएको खबर आयो तर, उनको कुनै खबर आएन ।

परदेशीएको छोरो फर्किने आश मनमा बोकेर २०६९ मा हजुरबाले देह त्याग गर्नुभयो । खै छोरो फर्किएन । सबैले आश मारे । उ पनि म¥यो होला भन्ने लाग्यो सबैलाई । अहिलेको जस्तो सामाजिक सञ्जालको दुनियाँमा हामीले खोज्ने कार्य भने जारी राखेका थियौं झिनो आश राखेर । तर, कुनै अत्तो पत्तो लागेन । समयले दुई दशक काटी सकेको थियो । समयले फेरी हाम्रो परिवारमा खुसीको समाचार बोकेर आयो । मैँले जुन विद्यालयबाट उनका किताबहरु बोकेर अन्तीम पटक उनलाई हेरेको थिए । त्यहि विद्यालयको त्यहि प्राङगणमा शुक्रबार नानीप्रसाद अंकलले एउटा खबर सुनाउनु भयो । परु को त पत्ता लाग्यो भन्छन त ।

हँ के भन्नु हुन्छ ? साँचो हो र ? मैले विश्वासै गर्न सकिन साँच्चै २२ बर्ष पछि मेरो काकासँग सम्र्पक भएछ । उनी घर आउन लागेका रहेछन् । हामीले मर्‍यो भनेर आश मारि सकेका व्यक्तिको खबर आयो । उनी घर आउने खबर यदि मेरो हजुरबा र हजुर आमाले सुन्नु भएको भएले सायद उहाँहरु जति खुसी त कोहि पनि हुँदैन थियो होला । उहाँहरुको आत्माले यो कुरा थाहा त पाउने छ तर, खुसीको अनुभव हामी साँट्न पाउने छैनौ ।

द्धन्द्धको चपेटा भनौं या समयको खेला भनौं यसले निम्त्याएको एक कालो समयमा पुनः रोशनी उदाउने खबरले हाम्रा आँखाहरु रसाए । हाम्रा शिला भएका मनमा पुनः पानीका थोपाहरु रसाउन थालेका छन् । आइतबार साँझ उहाँ धनगढी पुगेको खबर पाए पछि मैंले फोन गरे र पहिलो प्रश्न सोधे मलाई सम्झनुहुन्छ ? उहाँले हाँसेर जवाफ दिनुभयो किन नसम्झनु ? समयको खेल भनौं या परिस्थिति । मान्छे बाँच्यो भने भेट हुने रैछ ।

ल अब बाकी कुरा त्यतै आएर गरौंला भन्नु भयो । अब भने म ढुक्क भए साँच्चै उहाँ घरका लागि फर्किनु भएछ । मंगलवार साँझ स्थानियद्धारा बाजागाजासहित भव्य स्वागत गरियो । २२ बर्ष पछि गुमाई सकेको अनुमान गरिएको परिवारको सदस्य फर्किएपछि परिवारमा हर्षका आँशुहरु झरे । पूर्ववत शोकले एकाएक हर्षको बर्षा गरायो । मान्छे मरेन भने भेट हुने रैछ तर, भेट हुनका लागि २२ बर्ष किन नलागोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार