फागुन २३ गतेदेखि २७ गतेसम्मको राशिअनुसारको भाग्यफल

  दैनिक राशिफल  218 पटक हेरिएको

फागुन २३ गतेदेखि २७ गतेसम्मको भाग्यफल । मेष-प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। काममा अरूको मुख ताक्नाले पछि परिनेछ। सामान्य चुनौती देखिए पनि बिस्तारै परिस्थिति अनुकूल बनाउन सकिनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। सानाे प्रयत्नले उपलब्धि हातलागी हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। राष्ट्रियता एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। नोकरी वा दिगो काम प्रारम्भ हुन सक्छ।

वृष -प्रारम्भमा स्वास्थ्य कमजोर हुनाले अध्ययनमा बाधा हुनेछ। अरूको स्वार्थमा उपयोग भइनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। हुलमुलका बेला धनमाल सुरक्षामा ध्यान दिनुहोला। स्वास्थ्यका लागि खानपान र रहनसहनमा विशेष ध्यान पुर्याउनुहोला। पूर्वार्द्धमा संघर्ष गर्नुपरे पनि उत्तरार्द्धमा शुभचिन्तकहरूको सहयोगले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। सहयोगीहरूले समस्याको स्थितिबाट उकास्नेछन्। कीर्तिमानी कामको यश लिने अवसर समेत प्राप्त हुनेछ।

मिथुन -प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। तारिफयोग्य काम सम्पादन हुनाले नाम, दाम र इनाम प्राप्त गर्न सकिनेछ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ। बीचमा भने आकस्मिक समस्यासँग जुध्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले काममा पनि अवराेध आउन सक्छ। आफन्तसँग मनमोटाव बढ्नेछ र काम बिग्रने डरले सताउनेछ। तापनि, मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा केही सहयोगीहरू जुट्नेछन्। सप्ताहान्तमा अप्ठ्यारो परिस्थिति सुल्झाउँदै उपलब्धि प्राप्त गर्न सकिनेछ।

कर्कट -सुरुमा पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउनेछ भने आँटले लक्ष्यमा पुर्याउन सक्छ। भौतिक साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापारका सन्दर्भमा रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। सप्ताहान्तमा काम, दाम र स्वास्थ्यमा केही समस्या आउने सम्भावना देखिन्छ। आफ्नो क्षेत्राधिकार संकुचित बन्न सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन गोपनीयतामा ध्यान पुर्याउनुहोला। आम्दानी कम भए पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ।

सिंह -प्रारम्भमा केही उतारचढाव आउनेछन्। कामको बोझ थपिनाले अध्ययनमा बाधा पुग्न सक्छ। स्वास्थ्य पनि कमजोर हुने समय छ। अप्ठ्यारो बेलामा आफ्नैले दुःख दिनेछन्। मंगलवारदेखि स्थितिमा सुधार आउनुका साथै चुनौतीहरू सुल्झनेछन्। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। व्यवसायले रमाइलो यात्राको अवसर जुटाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने सम्भावना छ।

कन्या -सुरुमा पारिवारिक उल्झनले काममा बाधा पुग्नेछ। साइनो गाँस्नेहरूले केही दु:ख दिन सक्छन्। स्वास्थ्य चिन्ताले सताउनेछ भने पढाइमा पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। सामूहिक कामको जिम्मेवारी एक्लै वहन गर्नुपर्ने हुन सक्छ। पूर्वार्ध चुनाैतीपूर्ण देखिए पनि उत्तरार्धमा स्थितिमा सुधार आउनाले कामका बाधाहरू पनि बिस्तारै हट्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन् र सफलताले उत्साह जगाउनेछ। मिहिनेत गर्दा गुमेको अवसर पुनः प्राप्त हुनेछ। कामका सन्दर्भमा रमाइलो यात्राको साइत पनि जुर्नेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

तुला -सुरुमा प्रतिस्पर्धामा उत्रिएर पनि प्रतिष्ठा कमाउन सकिनेछ। प्रतिद्वन्द्वीहरूले सम्झौताको ढोका खोल्नेछन्। प्रारम्भ उत्साहपूर्ण देखिए पनि बीचमा केही व्यवधान देखापर्नेछन् र बेसुरमा निर्णय लिने बानीले पछिलाई समस्या निम्त्याउनेछ। काम बिग्रने डरले सताउन सक्छ। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइसँग दूरी बढ्नेछ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। साताको अन्त्यमा परिस्थिति अनुकूल बन्दै जानेछ। पहिलेका कमजोरीमा सुधार ल्याउन सकिनेछ। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला प्राप्त हुनेछ।

वृश्चिक -यो साता अलि संघर्षमय रहला। धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। आँटेका काममा विभिन्न क्षेत्रबाट बाधा हुनेछ। तापनि हिम्मतले केही चुनौती पन्छाउन सकिनेछ। मंगलवारदेखि भाग्यले साथ दिने हुँदा नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। दिगो काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन पनि सफल भइनेछ। सप्ताहान्तमा भने घरेलु समस्यामा अल्झनुपर्ला। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्ने बानीले पनि काममा धाेका हुन सक्छ।

धनु -साताकाे प्रारम्भ उपलब्धिमूलक रहनेछ। सानाे प्रयत्नले नसाेचेकाे काम सम्पादन हुनेछ। महत्त्वाकांक्षी याेजना प्रारम्भ गर्न सकिनेछ। मंगलवारदेखि वादविवादमा अलमलिनाले लक्ष्यमा पुग्न बाधा पर्नेछ। ठूलो भागको आशा राख्दा पनि अवसर गुम्न सक्छ। बनेको काम समेत दोहोर्याउनुपर्ला। बेसुरमा वचन दिने बानीले पछि दुःख पाइनेछ। तर मिहिनेतीहरूका लागि साता उत्साहजनक नै रहनेछ। सप्ताहान्तमा उपहार तथा सुविधाका वस्तुहरू जुट्नेछन्। पहिलेका कमजोरीलाई सुधार्ने अवसर जुट्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

मकर -साता केही उतारचढावमय रहनेछ। प्रारम्भमा दौडधुपका साथ काममा जुट्नुपर्ला। खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। काम बिग्रनाले दाेहाेर्याएर प्रयत्न गर्नुपर्ला। मंगलवारपछि स्थितिमा केही सुधार आउनेछ। लाभांशले केही आवश्यकता पूरा हुनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। रमाइलो जमघट र स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारी आउन सक्छन्। हुलमुल र वादविवादबाट जोगिने प्रयास गर्नुहोला। अध्ययनमा पनि बाधा नै हुनेछ।

कुम्भ -प्रारम्भमा परिश्रमअनुसार राम्रै फल प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। व्यवसायमा मनग्गे लाभ हुनेछ। तर, बीचमा धन बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। तापनि प्रयत्न गर्दा यात्रा गर्ने साइत जुर्न सक्छ। साथीभाइ टाढिए पनि शुभचिन्तक भेटिनेछन्। सप्ताहान्ततिर अध्ययनमा प्रगति हुनेछ। स्वादिष्ट भोजन, उपहार र मानसम्मानको भागीदार भइनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ।

मीन -प्रारम्भमा सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। तापनि प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। नयाँ काम प्रारम्भ हुनेछ भने रचनात्मक कामको यश लिने अवसर प्राप्त हुनेछ। कर्जामार्फत धन जुटाउन सकिनेछ। नोकरी र व्यवसायमा प्रगति हुनेछ। अरूको धन उपयोग गरेर पनि फाइदा उठाउन सकिनेछ। आम्दानी बढ्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। सप्ताहान्तमा भने अवसर आए पनि मिहिनेतको फल अरूले हत्याउलान्। आम्दानी रोकिने र फजुल खर्च बढ्ने सम्भावना छ। पछिका लागि लगानीकाे अवसर जुट्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार