कपाका नेता–कार्यकर्तालाई ११ बुँदे आचारस‌ंहिता, नेकपाका छोराछोरीलाइ तं पनि भन्न नपाइने

  पत्रपत्रिका खबर  472 पटक हेरिएको

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता–कार्यकर्ता अवदेखि पार्टीको कडा अनुशासनमा बस्नुपर्ने भएको छ । नेकपाभित्र पार्टी अनुशासन पालना नभएको भन्दै चर्को आलोचना भइरहेका बेला नेकपाले नेता कार्यकर्तालक्षित आचारसंहिता बनाएर लागू गर्न लागेको हो । हालैमात्र जारी नेकपाको पार्टी आचारसंहितामा आफ्ना नेता कार्यकर्तालाई अनुशासनमा बाँध्न पार्टी कमिटीहरुमार्फत सर्कुलर जारी गर्दै आचारसंहिता कार्यान्वयनमा जोड दिएको छ । हाल नेकपाका ८ लाख पार्टी सदस्य रहेका छन् । पार्टी सदस्यता विस्तारको योजना अघि सारेको नेकपाले प्रतिसदस्य अरु थप चार जना बनाएर ३२ लाख सदस्य पुर्याउने योजना अघि सारेको छ ।

तर सदस्य संख्या बढाउनुअघि पार्टीले तयार पारेको विशेष परिपत्रमा नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता तय गर्दै उनीहरुलाई संविधान, पार्टी विधान र नियमावलीप्रति जवाफदेही बनाउने प्रयास थालेको छ । ‘हामीलाई इतिहासले जनताको जनवाद कार्यान्वयन गर्ने, समृद्धि हासिल गर्ने र समाजवाद निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी प्रदान गरेको छ । हामी सही नीति र प्रभावकारी संगठनात्मक प्रबन्धका साथ अघि बढेका छौं’, नेकपाले पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूलाई ११ बुँदे आचारसंहिता जारी गर्दै पालना गर्न समेत भनेको छ ।

आचारसंहिताको १ नम्बर बुँदामा नेकपाले प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्ने उल्लेख गरेको छ । पछिल्लो समय श्रम नगर्ने प्रवृत्ति बढेको निष्कर्ष निकाल्दै नेकपाले यस्तो व्यवस्था गरेको बताइएको छ । त्यस्तै आचारसंहिता कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी सवै पार्टी कमिटीहरुको भएको उल्लेख छ । आचारसंहितामा कुनैपनि पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानूनलाई निःसर्त पालना गर्ने र कानून बमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्ने भनिएको छ । त्यस्तै नेकपाले आफ्ना पार्टी सदस्यहरुलाई ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पु¥याउन सचेत गराएको छ ।

‘भ्रष्टाचार, कालोबजारी, गैरकानूनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्छ’, नेकपाको आचारसंहितामा भनिएको छ । त्यसैगरी नेकपाले आफ्ना पार्टी सदस्यहरु जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्ने र आफूले गरेको श्रमबाट आर्जित कमाइबाटै राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्ने भनिएको छ । ‘पार्टीलाई आफ्नो कमाइबाट नियमित रुपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ’ नेकपाको आचारसंहितामा भनिएको छ ।

नेकपाले सबै तहका नेता, कार्यकर्ता र सदस्यले आफ्नो परिवारमा श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्ने भावना विकास गर्नुपर्ने तथा बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्ने स्मरण गराइएको छ । त्यस्तै आचारसंहितामा १६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्ने र त्यसो गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्ने भनिएको छ ।

सँगै बसेर खाना खानुपर्ने
नेकपाले जारी गरेको पार्टी आचार संहितामा परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्ने उल्लेख छ भने बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनु हुँदैन भनिएको छ । ‘उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्छ । परिवारमा गालीगलौज, झगडा, भेदभाव र छुवाछूत पूर्णरुपले अन्त्य गर्नुपर्छ’,आचारसंहिताको एक बुँदामा नेकपाले भनेको छ, ‘चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्छ । घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्छ ।’

त्यस्तै परिवारका सदस्य र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्ने, कसैलाई पनि हेलाहोचो, तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्ने नेकपाको आचारसंहितमा उल्लेख छ । ‘छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ नेकपाको नयाँ आचरसंहितामा भनिएको खबर रातोपाटीमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार