जैतुनको आडमा बाचेको जीवन शैली

  मूलधारपाेष्ट  215 पटक हेरिएको

निमेन्द्र शाही, बाजुरा-नेपालीमा ‘जैतुन’ र अङ्ग्रेजीमा ‘ओलिभ’ भनिने एक प्रकारको वनस्पतिलाई बाजुरामा ‘लौठो’ नामले चिनिन्छ । जैतुन (लौठो) मा लागेको फलबाट तेल निकाल्न सकिन्छ । बाजुराका स्थानीयको दैनिकीमा जैतुन जोडिएको छ । त्यसैले यहाँको जीवन जैतुनकै आडमा बाँचेको छ भन्न सकिन्छ ।

दाउरा, भेडा बाख्रालाई घाँस, घर बनाउन काठ, अक्सिजन लौठो (जैतुन) बाट पाउँछौँ,’ स्वामीकार्तिक खापर गाउँपालिका-४ का कर्णबहादुर बुढाले भने, ‘नजिक अरु बोटबिरुवा छैनन् । लौठोकै बोटले गर्दा हरियो देख्न पाइएकाे छ । नत्र हाम्रा गाउँहरू ढुङ्गा माटोले उजाड देखिने थिए ।’उनका अनुसार सामुदायिक वनमा जैतुनका रुख मात्र छन् । अरु ठाउँमा जैतुन रोप्न सुरुआत हुँदै छ तर बाजुराको ३ सय हेक्टर स्थानीय जंगल जैतुनले ढाकेको छ ।

कृषि उत्पादनमा अधिकांश समय संकट व्यहोर्ने बाजुराको पूर्वोत्तर क्षेत्रमा व्यावसायिक रूपमा जैतुन खेतीको बिस्तार गर्न सरकारले पहल गरिरहेको छ । तर, इटालीको टुसिया विश्वविद्यालय र मानव संसाधन केन्द्रको सहयोगमा बाजुरामा स्थापित नेपालकै पहिलो जैतुन अनुसन्धान केन्द्रको संरक्षण भने हुन सकेको छैन । संरक्षणको अभावमा सो केन्द्रमा रहेका ६ सय ३८ बोटको बगैँचामा कीराको संक्रमण भएको छ । जसका कारण यस वर्ष त्यहाँ जैतुन नफल्ने भएको छ । कीरा नियन्त्रण नभए आउँदा दिनमा पनि उत्पादन गर्न कठिन हुने देखिएको छ ।

३ दशमलव ५ हेक्टरमा फैलिएको सो बगैँचामा जैतुन फन्न सुुरु भइसकेकाे छ । त्यहाँ फलेकाे जैतुनकाे फलबाट तेल निकालेर बर्सेनि करिब २४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिन्छ । जैतुनको तेल नेपाली बजारमा प्रतिलिटर २ हजार रुपैयाँभन्दा बढीमा बिक्री हुने गरेको छ । यसको तेलबाट क्यान्सर, छालासम्बन्धी रोगको उपचार हुने बताइन्छ । जैतुन खेतीको सम्भावना भएका १० जिल्लामध्ये बाजुरा पनि एक हो । यहाँको जंगलमा फलेको लाखौँ मूल्यको जैतुन खेर गइरहेको छ । आजभोलि यहाँका जंगलमा पाकेको जैतुन प्रशस्तै भेटिन्छ । पाकेको जैतुन चराचुरुङ्गीले खाएको हेर्नेबाहेक त्यसबाट थप फाइदा लिएको देखिँदैन ।

जैतुन खेतीका लागि सरकारले केही लगानी गरे पनि त्यो प्रभावकारी देखिएको छैन । हरेक वर्ष कनिका छरे जसरी रकम आउने गरेको भए पनि त्यसबाट देखिने गरी काम हुनै सकेकाे छैन । सरकारी निकायले फलिरहेको दानाबाट तेल निकाल्न, परम्परागत जैतुन काँटछाँट गरेर थप फल्ने गरी संरक्षण गर्न तथा खाली रहेको क्षेत्रमा नयाँ बोट रोपेर क्षेत्र बिस्तार गरे देखिने गरी लाभ लिन सकिने जैतुनको क्षेत्रमा लामो समय काम गरेका एचआरसी बाजुराका पूर्वअध्यक्ष नरेश शाही बताउँछन् ।

कहाँ-कहाँ छ जैतुन-नेपालका बाजुरा, बझाङ, मुगु, हुम्ला, जुम्ला, कालीकोट, रुकुम, डोल्पा र मुस्ताङमा यसको प्रचुर सम्भावना रहेको इटाली सरकाले तयार पारेको जैतुनको अध्ययन प्रतिवेदनमा उल्लेख छ । जंगली जैतुन बाजुराका बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीगंगा नगरपालिकामा फस्टाउने देखिन्छ ।

सरकारको योजना-सरकारले बाजुरामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जैतुन जोन कार्यान्वयन इकाइको स्थापना गरेको छ । साे कार्यालयले जैतुनखेतीतर्फ जैतुन क्षेत्र बिस्तार, भकारो सुधार, पोस्ट हार्बिङ सेन्टर, समूह सहकारी, जैतुन उद्यम विकासमा गत वर्षदेखि क्रियाकलाप सञ्चालन गरिरहेको इकाइ प्रमुख विमल थापाले बताए ।‘यो फार्म महत्त्वपूर्ण हो । संरक्षणको अभावमा बोटमा समस्या आएको हो,’ थापाले भने, ‘सिँचाइको समस्या, बोट काँटछाँट नहुँनु र त्यसको समयमा उपचार नहुँदा यो समस्या आएको हो ।’

इटालीको टुसिया विश्वविद्यालयको अनुसन्धानपछि बाजुरा जैतुनका लागि सम्भाव्य जिल्ला मानियो । परीक्षणस्वरुप बाजुराको कोल्टीमा जैतुन रोपिएको बुढीनन्दा क्याम्पसका प्रमुख अनोजराज गिरीले जानकारी दिए । कोल्टीमा रोपिएको जैतुन फल्न थालेपछि ४५ लाखको लागतमा जैतुन पेलेर तेल निकाल्ने मिल स्थापना गरिएको थियो । सो मिल पहिरोमा परेपछि जैतुन पेलेर तेल निकाल्न पनि बाहिर पठाउनुपर्ने बाध्यता छ । एक वर्षभन्दा लामो समयदेखि यो बाध्यता रहेको जैतुन परियोजना कोल्टीका कार्यक्रम प्रमुख जनेश भण्डारीले बताए ।

के हुन् सम्भावना -एचआरसी बाजुराको सहकार्य र इटालीको टुसिया विश्वविद्यालयको सहयोगमा कोल्टीमा सुरु गरिएको जैतुनको बगैँचा अहिले ३ दशमलव ५ हेक्टरमा फैलिएको छ । बगैँचाका जैतुन फल्न थालेका छन् । साे फार्मबाट तेल निकालेर बर्सेनि २४ लाखभन्दा बढी आम्दानी गर्न सकिने अनुमान छ । कोल्टीमा जैतुनका ३० वटा जात रहेकाेमा २८ वटा बाहिरका विकसित जात र दुईवटा स्थानीय जातका जैतुनको परीक्षण गरिएको जनेश भण्डारीले बताए । २८ जातमध्ये १० जात फलेको, एक्स्ट्रा भर्जिनका रूपमा विकसित जैतुनबाट १६ प्रतिशत तेल पाएको र स्थानीय बोटबाट ५ प्रतिशत तेल निस्कने गरेको भण्डारीले बताए । नेपालमा जैतुनको विकासका लागि विभिन्न समयमा सरकारले कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

स्थानीयको दैनिकीमा जोडिएको जैतुन (लौठो)-बाजुराको रैथाने जंगली जैतुन स्थानीयको दैनिकीसँग जोडिएको छ । यहाँका स्थानीयले घाँसपात, दाउरा तथा घर बनाउन काठका लागि पनि जैतुनको प्रयोग गर्दै आएका छन् । घाँसदाउरामा प्रयोग भएपछि जैतुन फल्नुपर्नेजति फलेको छैन । जैतुनको काठ टिकाउ हुने भएकाले घर बनाउँदा स्थानीयले यसको प्रयोग गर्ने गर्छन् । स्वामीकार्तिक- ५ का वीरबहादुर शाहीले भने, ‘आलो लौठो सय वर्ष, सुकेको लौठो सय वर्ष भन्ने बुढापाकाको भनाइ छ । त्यसैले हामीले घरमा यसको काठ प्रयोग गरेका छौँ ।’जंगलमा रहेको जैतुन बाजुराका स्थानीयको दैनिक गुजारासँग जोडिएको छ । यसबाट थप फाइदा भने लिन सकिएको छैन ।

किन प्रयोग हुन्छ यसको तेल-नेपाली बजारमा जैतुनको तेल ३ सय ७५ मिलिलिटर ४ सय २० रुपैयाँमा र ७ सय ५० मिलिलिटर ९ सय १० रुपैयाँमा खरिदबिक्री हुने गरेको छ । यो तेल खाना पकाउन र शरीरको मसाजमा निकै उपयोगी हुने बताइन्छ । तेलमा लाइट फ्लेबर, क्लासिक फ्लेबर र रोबस्ट फ्लेबर गरी तीन किसिमका भेराइटी पाइन्छन् ।

स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिएको यसको तेल सेवनले विभिन्न किसिमका क्यान्सर हुन नदिने, मुटुको रोग लाग्ने सम्भावना कम हुने, मोटोपन घटाउने, मधुमेह न्यूनीकरण गर्न र उच्च रक्तचाप घटाउन उपयोगी हुने भण्डारीको दाबी छ । नेपालमा जैतुनको तेल वार्षिक ५ हजार लिटर आयात हुने गरेको अनुमान छ । २ हजार मिटर उचाइसम्म फल्ने जैतुनले छ/सात वर्षपछि फल दिन थाल्छ । यसलाई अचारको रूपमा पनि प्रयोग गर्न सकिन्छ । अचारका लागि प्रयोग गर्न हरियाेमै टिपिन्छ । पाकेपछि भने तेल निकाल्न टिप्ने गरिन्छ । बोटमै टिपेको जैतुनको गुणस्तर राम्रो हुने भएकाले पाकेको जैतुन सावधानी अपनाएर टिप्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार