स्वास्थ्यको एकीकृत स्वास्थ्य सूचना रिपोर्टिङमा सुधार

  पत्रपत्रिका खबर  215 पटक हेरिएको

संघीय संरचनामा देश गइसकेपछि खस्किएको स्वास्थ्यसँग सम्बन्धित एकीकृत सूचना रिपोर्टिङ प्रणालीमा यस वर्षका पछिल्ला ५ महिनामा सुधार देखिन थालेको छ । संघीय संरचना कार्यन्वयन भएको तीन वर्षको अवधीमा गत मंसिर महिनाकोे रिपोर्टिङ सबैभन्दा राम्रो देखिएको छ । मंसिर महिनाको ६३ प्रतिशत स्वास्थ्य संस्थाले समयमानै एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा (एचएमआइएस)मा रिपोर्टिङ गरेका छन् । गत वर्ष मंसिर महिनामा जम्मा २२ प्रतिशत स्वास्थ्य संस्थाले मात्र रिपोर्टिङ गरेका थिए ।

अघिल्लो वर्ष अधिकांश प्रदेश सरकार र स्वथानीय तहले स्वास्थ्यसँग सम्बन्धित सूचना एकीकृत रुपमा केन्द्रमा नपठाउँदा स्वास्थ्य सूचना प्रणाली नै कमजोर भएको थियो । सूचना प्रणाली नै कमजोर भएपछि गत २४ असारमा बसेको संघीय मन्त्रिपरिषद बैठकले प्रदेश सरकार र स्थानीय तहलाई स्वास्थ्यलगायत स्वास्थ्य संस्थासँग सम्बन्धित सम्पूर्ण सूचनाहरु एकीकृत रुपमा स्वास्थ्य संस्था हुँदै केन्द्रमा अनिवार्य रिपोर्टिङ गर्न निर्देशनात्मक निर्णय गरेको थियो । मन्त्रिपरिषदको सो निर्णयसँगै प्रदेश स्थानीय तह र स्वास्थ्य संस्थाको रिपोर्टिङमा सुधार भएको पाइएको छ । यस वर्षको पछिल्ला ५ महिनाको रिपोर्टिङ अवस्था अघिल्लो वर्षको भन्दा धेरै राम्रो भएको एचएमआइएस शाखाका प्रमुख बद्रीप्रसाद ज्ञवालीले बताए ।

अघिल्लो वर्ष साउनदेखि मंसिर महिनासम्म जम्मा १९ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले मात्र समयमा नै रिपोर्टिङ गरेका थिए । यस वर्ष यो ५ महिनाको अवधीमा ४८ प्रतिशतले समयमा नै रिपोर्टिङ गरेको उनले बताए । ‘समयमा नै रिपोर्टिङ गर्ने स्थानीय तह र स्वास्थ्य संस्थाको संख्यामा उल्लेख्य वृद्धि भएको छ,’ उनले भने, ‘अघिल्लो वर्ष २० प्रतिशतले पनि गरेका थिएनन्, अहिले ४८ प्रतिशतले गरे । यो प्रत्येक महिना बढ्दो क्रममा छ ।’ गत वर्ष साउनमा जम्मा १९ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले समयमा रिपोर्टिङ गरेका थिए । यस वर्ष साउनमा ५० प्रतिशतले रिपोर्टिङ गरेका छन् ।

त्यसैगरी गत वर्ष भदौमा २०, असोजमा १५, कार्तिकमा १९ र मंसिरमा २२ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले मात्र समयमै रिपोर्टिङ गरेका थिए । अघिल्लो वर्षको तुलनामा चालु आवमा समयमै रिपोर्टिङ गर्ने स्थानीय तह र स्वास्थ्य संस्थाको संख्यामा उल्लेख्य सुधार भएको पाइएको छ । यस वर्ष साउनमा ५० प्रतिशत, भदौमा ४२ प्रतिशत, असोजमा ३० प्रतिशत, कार्तिकमा ५२ प्रतिशत र मंसिरमा ३६ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले समयमा नै स्वास्थ्यसँग सम्बन्धित सूचना केन्द्रिय सरकारलाई रिपोर्टिङ गरेका छन् । तुलनात्मक आधार अघिल्लो वर्ष भन्दा यस वर्ष स्थानीय तह र स्वास्थ्य संस्थाहरुले केन्द्रिय सरकारलाई रिपोर्टिङ गर्ने क्रम बढेको छ । अघिल्ला वर्षमा तथ्यांक भने कम्प्युटर अघिकृतहरुको समायोजनले सरुवा हुनु, देश संघीयतामा जाँदा स्वास्थ्य रिपोर्टिङ सिस्टमलाई नबुझ्नु र तालिम प्राप्त कर्मचारी नहुँदा समस्या भएको थियो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको एचएमआइएस प्रणालीमा अहिलेसम्म देशभरबाट ७ हजार २ सय २८ स्वास्थ्य संस्था आवद्ध रहेका छन् । जसमध्ये १ हजार ४ सयले आफै सिधै सो प्रणालीमा आफूले प्रदान गरेको सेवाको सूचना भर्ने गरेका छन् । बाँकी अन्य संस्थाले भने सम्बन्धित स्थानीय पालिकामार्फत भर्ने गरेका छन् । सुदूरपश्चिम प्रदेश सबैभन्दा राम्रो प्रमुख ज्ञावलीका अनुसार पछिल्लो समय सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सूचना समयमा नै रिपोर्टिङ गर्नेमा अगाडि छ । सो प्रदेशबाट साउनमा ५२, भदौ ५९, असोज ४४, कार्तिक ८० र मंसिरमा ८८ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले रिपोर्टिङ गरेका छन् ।

जबकी अघिल्लो वर्ष सो प्रदेशबाट साउनमा १४, भदौमा २५, असोजमा १३, कार्तिकमा १६ र मंसिरमा २२ प्रतिशत स्वास्थ्य संस्थाले एचएमआइएसमा रिपोर्टिङ गरेका छन् । कर्णालीमा ११ गुणा बढ्यो त्यसैगरी कणाली प्रदेशबाट यस वर्ष साउनमा ४७, भदौ ३९, असोज २९, कार्तिक ५५ र मंसिरमा ६० प्रतिशत स्वास्थ्य संस्थाले समयमानै रिपोर्टिङ गरेका छन् । जबकी अघिल्लो वर्ष साउन १४, भदौ, २५, असोज, ५ कार्तिक ५ र मंसिर महिनामा ८ प्रतिशत स्वास्थ्य संस्थाले मात्र समयमा रिपोर्टिङ गरेका थिए । प्रदेश नम्बर ५ का स्वास्थ्य संस्थाले यस वर्ष साउनमा ४२, भदौमा ४०, असोज ३४ कार्तिक ५७ र मंसिर ५७ प्रतिशतले समयमानै एचएमआइएसमा रिपोर्टिङ गरेका छन् । सो प्रदेशमा अघिल्लो वर्षको साउन २२, भदौ २३, असोज १८, कार्तिक २३ र मंसिर २९ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले मात्र समयमा रिपोर्टिङ गरेका थिए ।

एचएमआइएसमा रिपोटिङ्ग गर्नेमा यस वर्ष गण्डकीबाट साउनमा ५९, भदौ ४८, असोज ३७, कार्तिक ६० र मंसिर ७० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष गण्डकी प्रदेशबाट साउनमा २४, भदौमा १९, असोजमा २७, कार्तिकमा ३१, मंसिरमा २८ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले समयमा रिपोर्टिङ गरेको तथ्यांक अघिकृत वीरबहादुर रावल बताउँछन् । तीन नम्बर प्रदेशका स्वास्थ्य संस्थामध्ये यस वर्षको साउनमा ५८, भदौमा ४४, असोजमा ३३, कार्तिकमा ४८ र मंसिरमा ५७ प्रतिशतले रिपोर्टिङ गरेका छन् ।

अघिल्लो वर्ष यही महिनामा क्रमस ३१, ३१, २३, २८ र ३५ प्रतिशतले समयमानै रिपोर्टिङ गरेका थिए । सुधारियो प्रदेश २ अघिल्लो वर्ष रिपोर्टिङ मा अति कमजोर देखिएको प्रदेश दुई यस वर्ष आश्चर्यजनक रुपमा सुधार आएको छ । अघिल्लो वर्ष यस प्रदेशबाट साउनमा ३, भदौमा २, असोजमा ३, कार्तिकमा ८ र मंसिरमा ११ स्थानीय तह र स्वास्थ्य संस्थाले मात्र रिपोर्टिङ गरेको एचएमआइएस तथ्यांकमा उल्लेख छ । तर यस वर्षको सोही अवधीको रिपोर्टिङ भने धेरै सुधार भएको देखाएको छ । यस वर्ष साउनमा ५१, भदौमा ४२, असोजमा २२ कार्तिकमा ३७ र मंसिरमा ६४ प्रतिशत स्वास्थ्य संस्थाले समयमानै रिपोर्टिङ गरेका छन् ।

कमजोर प्रदेश १ अन्य प्रदेशको तुलनामा प्रदेश १ का कम स्थानीय तह र स्वास्थ्य संस्थाले समयमा रिपोर्टिङ गरेको पाइएको छ । तथापी अघिल्लो वर्ष भन्दा उल्लेख्य वृद्धि भएको ज्ञावली बताउँछन् । सो प्रदेशबाट अघिल्लो वर्ष साउनमा २०, भदौमा २५, असोजमा ११ कार्तिकमा १४ र मंसिरमा १५ प्रतिशतले समयमा रिपोर्टिङ गरेका थिए । यस वर्ष क्रमस साउन ३८, भदौ ३०, असोज १९, कार्तिक ४३ र मंसिर ५४ प्रतिशत स्थानीय तह र स्वास्थ्य संस्थाले समयमा रिपोर्टिङ गरेको खबर हेल्थ आवाजबाट साभार गरेका छाैं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार