यी हुन् एमाले-माओवादी एकताका १५ प्रस्तावना,

  नरेन्द्र खड्का  536 पटक हेरिएको

लेखक नरेन्द्र खड्का

विगतमा आफूलाई मात्रै सक्कली कम्युनिस्ट भएको दाबी गर्ने नेकपा (माओवादी केन्द्र) र नेकपा -एमाले) पार्टी एकताको संघारमा उभिएका छन् । तर, पनि यी दुवै पार्टीको माथिदेखि तलसम्म ‘बानी व्यहोरा (आदत)को अधिनायकत्व’ले शिकार भएको एउटा पंक्तिले विभिन्न एकताविरोधी हर्कत गर्न खोज्दैछ ।

सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा विभिन्न बहस र विवादहरु फैलिएका छन्, जुन अधिकांश रुपमा गैरवैचारिक र गैरमाक्र्सवादी छन्, जसले समग्र एकता प्रक्रियामा सन्देह पैदा भएको छ । नेपाली कम्युनिस्टहरुलाई ‘फुटाऊ र राज गर’ भन्ने नीतिका आधारमा विभाजन गरेर सधैंभरि शासन सत्ता आफ्नो हातमा लिन पल्केको प्रतिक्रियावादी वर्गलाई सल्बलाउने बहाना र अवसर मिलेको छ ।

यी दुई कम्युनिस्ट पार्टीले संयुक्तरुपमा एकताका राजनीतिक तथा सांगठानिक आधारहरु पहिल्याउँदै एकतासम्बन्धी बहसलाई अगाडि बढाउन वाञ्छनीय देखिन्छ ।

एकताका १५ प्रस्थान विन्दु

१. माओवादी र एमाले का बीचमा पार्टी एकताको नारालाई जनताले अनुमोदित गरिसकेका छन् । जनअभिमतको विरुद्ध जाने कुनै पार्टी वा नेता नेपाली जनताको नजरमा धोकेबाज तथा गद्दार सावित हुनेछ र उसको भविष्य समाप्त हुनेछ भने त्यसपछि दुवै पार्टीका साथै नेपालको समग्र कम्युनिस्ट आन्दोलन कमजोर हुनेछ । त्यसैले दुवैलाई पार्टी एकताबाट भाग्ने छुट छैन ।

४ एकीकृत कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद, लेनिनवाद र माओवादलाई स्थापित गर्नुपर्छ

२. दुई पार्टीका बीचमा समानताका आधारमा एकता हुने र नयाँ पार्टी निर्माण हुने हो । कुनै एउटा पार्टी अर्कोमा विलय हुने वा विलय गराउने होइन । यो कुरा दुवै पार्टीको नेतृत्व र आम कार्यकर्ताले बुझ्नु र सोही अनुसार व्यवहार गर्नु जरुरी छ । तसर्थ यो प्रक्रियामा एउटा पक्षले अर्को पक्षलाई सबै आफ्नो कुरा लाद्न न सम्भव छ, न त आवश्यक नै ।

३. नयाँ बन्ने एकीकृत कम्युनिस्ट पार्टीको नाम पहिले छलफल गरेजस्तै ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्न सकिन्छ । यसले २००६ सालको नेकपाको विरासतलाई पुनः फर्काउँछ । सामाजिक सञ्जालका भित्ताहरुमा चर्चामा आएजस्तै (वा डा. बाबुराम भट्राईले प्रस्ताव गरेजस्तै) नेपाल समाजवादी पार्टी, समाजवादी लोकतान्त्रिक पार्टी वा नेकपा (समाजवादी) जस्ता नाम उचित होइनन् । यिनले क्रान्तिकारिता, कम्युनिस्ट आचरण र वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने क्रान्तिको प्रतिनिधित्व गर्न सक्दैनन् ।

४ एकीकृत कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद, लेनिनवाद र माओवादलाई स्थापित गर्नुपर्छ ।

नेकपा (माओवादी केन्द्र)ले जनयुद्धकालको प्रचण्डपथ र हेटौँडा महाधिवेशनद्वारा पारित नयाँ संश्लेषण (न्यू सिन्थेसिस) लाई र नेकपा (एमाले)ले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाउने दाबी गर्नु आवश्यक छैन ।
‘नयाँ संश्लेषण’ क्रान्तिको कार्यक्रम हो भने बाँकी दुई जनवादी क्रान्तिकालका सिद्धान्त हुन्, जसको चरण समाप्त भइसकेको छ ।

५. नेकपा (माओवादी केन्द्र)को सबैभन्दा पछिल्लो महाधिवेशनका रुपमा रहेको ०६९ सालमा भएको तत्कालीन एनेकपा (माओवादी)को हेटौँडा महाधिवेशनले ‘नेपाली क्रान्तिको नयाँ संश्लेषण’को रुपमा नेपालमा नयाँ जनवादी क्रान्तिका मूल कार्यभारहरु आफ्नै मौलिकतामा सम्पन्न भइसकेकाले अब समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने र जनवादी क्रान्तिका बाँकी कार्यभारहरुलाई समाजवादी क्रान्तिकै रणनीतिअन्तर्गत पूरा गर्ने कार्यदिशा लिएको छ ।

बाहिरबाट हेर्दा प्रधानमन्त्रीका रुपमा ओलीको व्यापक चर्चा भइसकेको अवस्थामा उहााले प्रधानमन्त्री र प्रचण्डले पार्टी अध्यक्षको रुपमा भूमिका निभाउनु उचित देखिन्छ । यसलाई आपसी सहमतिका आधारमा आलोपालो गर्न पनि सकिन्छ

त्यसको झण्डै २ वर्षपछि ०७१ सालमा भएको नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनले पहिलोपटक संस्थागतरुपमा देशमा जनवादी क्रान्तिको चरण समाप्त भएको र अब समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने निर्णय गरिसकेको छ । यो नै दुवै कम्युनिस्ट पार्टीहरुको एकताको साझा र सबैभन्दा महत्त्वपूर्ण वैचारिक प्रस्थानविन्दु हो ।

६. परन्तु दुवै पार्टीमा यतिबेला जनताको बहुदलीय जनवाद मान्ने कि एक्काइसौँ शताव्दीको जनवादलाई अघि सार्ने भन्ने बहस उठेको छ । दुवै पार्टीले जनवादी क्रान्तिको चरण समाप्त भएको निष्कर्ष निकालिसकेपछि कुनै एक पार्टीको जनवादी क्रान्तिको कार्यक्रम मान्ने वा दुवै पार्टीको जनवादी क्रान्तिको कार्यक्रमलाई मिलाएर कुनै नयाँ ‘खिचडी’कार्यक्रम बनाउने कुरा अनावश्यक बहस हो । यो मार्क्सवादसम्मत छैन ।

७. अब नेपालको सामाजिक क्रान्तिको कार्यदिशा समाजवादी क्रान्तिको कार्यदिशा हो र सोही आधारमा नेपाली क्रान्तिको रणनीति र कार्यनीति तय हुनुपर्छ । यस अन्तर्गत तीन प्रकारका कार्यनीति र कार्यक्रमहरु तय हुनुपर्छ ।

पहिलो, वर्तमान (पुँजीवादी) व्यवस्थालाई समाजवादोन्मुख बनाउन र समाजवादी क्रान्तिको तयारी गर्नका लागि संक्रमणकालीन कार्यनीति र कार्यक्रमहरु हुनुपर्छ । दोस्रो, समाजवादी क्रान्ति सम्पन्न गर्ने विधि र प्रक्रिया सम्बन्धी कार्यनीति र कार्यक्रमहरु हुनुपर्छ । तेस्रो, समाजवादी क्रान्ति सम्पन्न भइसकेपछि अपनाउने सामाजिक, आर्थिक र राजनीतिक व्यवस्था बारे कार्यनीति र कार्यक्रमहरु हुनुपर्छ । पहिला दुई कार्यनीति र कार्यक्रमहरु समाजवादी क्रान्तिको तयारीसँग र पछिल्लो समाजवादी व्यवस्थाको चरित्रसँग सम्बन्धित हुनेछन् ।

८. वर्ग संघर्ष, क्रान्तिमा बल प्रयोगको सिद्धान्त, सर्वहारावर्गको अधिनायकत्व र निरन्तर क्रान्तिको सिद्धान्त कुनै पनि कम्युनिस्ट पार्टीका आधारभूत वैचारिक प्रस्थापनाहरु हुन् । यिनमा बहस र विवाद हुनु उचित हुने छैन । यी ४ वटा प्रस्थापनाहरुलाई नमान्ने पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैनन् ।

९. एकीकृत कम्युनिस्ट पार्टीले २००६ सालदेखि हालसम्म भएका ऐतिहासिक झापा विद्रोह, ०४६ सालको जनआन्दोलन, दस वर्षे महान जनयुद्ध र ०६२/६३ को ऐतिहासिक संयुक्त जनआन्दोलन सहित नेपालका सबै कम्युनिस्ट पार्टी, समूह र तीसँग आवद्ध जनवर्गीय संगठनहरुकासाथै भीमदत्त पन्त र कामी बुढाजस्ता कम्युनिस्टहरु (व्यक्ति) समेतको नेतृत्वमा भएका सबै सशस्त्र वा निशस्त्र विद्रोह, संघर्ष र जनआन्दोलनहरुलाई सम्मानपूर्वक स्वीकार गर्नुपर्छ ।

नेपालको आजसम्मको सामाजिक क्रान्तिको इतिहासमा रक्तिम अक्षरहरुले अंकित भएका, नेपाली जनताको त्याग र बलिदानले सिँचित भएका यी महान् तथा गौरवशाली परिघटनाहरुलाई अवमूल्यन गर्ने गरी कुनै संर्कीणता अपनाउनु र छुच्याइँ गर्नु आवश्यक छैन । यी सबै परिघटनाहरु नेपाली कम्युनिस्ट आन्दोलनका साझा पुँजी हुन् र सबैले यिनको स्वामित्व लिनु पर्दछ ।

१०. एकीकृत पार्टीको राजनीतिक दर्शन ऐतिहासिक तथा द्वान्द्वात्मक भौतिकवाद एवम् अर्थशास्त्रीय आधारभूत सिद्धान्तहरुमा अतिरिक्त मूल्यको सिद्धान्त, वर्ग संघर्ष, समाजवादी आर्थिक प्रणालीको पक्षधरता र नवउदारवाद तथा दलाल नोकरशाही पुँजीवाद विरोधी नीति तथा कार्यक्रम हुनुपर्छ ।

११. एकीकृत कम्युनिस्ट पार्टीले अपनाउने राजनीतिक व्यवस्थाको रुपमा समाजवादी क्रान्ति सम्पन्न हुनुपूर्व संक्रमणकालीन व्यवस्थाको रुपमा बहुदलीय प्रतिस्पर्धामा आधारित राजनीतिक व्यवस्था हुनेछ ।

यो कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादोन्मुख आर्थिक नीतिसहितको राजनीतिक व्यवस्था हुनेछ । यो आधारभूत रुपमा पुँजीवादी व्यवस्था नै हुनेमा कुनै दुई मत छैन ।

१२. यो संक्रमणकालीन अवधि राजनीतिक रुपमा समाजवादी क्रान्तिको तयारीको अवधि अर्थात् ‘चार आधार, चार तयारी’को अवधि हुनेछ भने आर्थिक रुपमा सामन्तवादका अवशेषहरुलाई समाप्त गर्ने, राष्ट्रिय पुँजीवादको संरक्षण गर्दै दलाल नोकरशाही पुँजीवादलाई कमजोर बनाउने र राजकीय पुँजीवादको विकास गर्ने अवधि हुनेछ । यो अवधि मूलभूत रुपमा निजी स्वामित्वलाई कमजोर बनाउने, सहकारी र सामुहिक पुँजीको विकास गर्ने र राजकीय पुँजी तथा सार्वजनिक स्वामित्वलाई बलियो बनाउने अवधि हुनेछ ।

१३. समाजवादी क्रान्ति सम्पन्न भइसकेपछि सर्वहारा वर्गको अधिनायकत्वमा आधारित वैज्ञानिक समाजवादी व्यवस्था कायम गरिनेछ, जुन साम्यवादको दिशामा चरणवद्ध रुपमा अग्रसर हुनेछ ।

१४. आधारभूत रुपमा कुनै पनि कम्युनिस्ट पार्टी सामुहिक नेतृत्वमा चल्ने पार्टी हुन्छ । क. पुष्पलालले भनेझैँ कम्युनिस्ट पार्टी नेताप्रधान नभएर नीतिप्रधान हुन्छ । लेनिनले भनेझैँ यो नेताहरुको पार्टी पनि हुने गर्छ ।

यसपटक परिस्थितिवस दुईवटा कम्युनिस्ट पार्टी मिलेर पार्टी एकता गर्ने र बहुमतको सरकार बनाउने अवसर प्राप्त भएको छ । एकतापूर्वका दुईवटा पार्टीका अध्यक्षहरुका सामुन्ने दुईवटा कार्यकारी भूमिका प्राप्त छन् । यी दुवैलाई एउटै व्यक्ति -एउटा पक्ष) ले ओगट्न खोज्दा संकृणता, राजनीतिक तुच्छता र फुटपरस्त सोच देखिन सक्छ ।

यी दुवै महत्त्वपूर्ण भूमिकाहरु भएकोले आपसी सहमतिका आधारमा एक-एकवटा भूमिका लिने गरी तय गर्न सकिन्छ । त्यसैले प्रधानमन्त्रीको रुपमा समाजवादी क्रान्तिको नेतृत्व गर्ने वा पार्टी अध्यक्षको रुपमा समाजवादी क्रान्तिको नेतृत्व गर्ने भन्ने कुरामा ठूलो पार्टीको नेतृत्व हुनुको नाताले नेकपा (एमाले)का अध्यक्ष क. केपी शर्मा ओलीलाई छनौट गर्न दिने र अर्को भूमिका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. प्रचण्डले लिनु राम्रो हुन्छ ।

१५. बाहिरबाट हेर्दा प्रधानमन्त्रीका रुपमा ओलीको व्यापक चर्चा भइसकेको अवस्थामा उहाँले प्रधानमन्त्री र प्रचण्डले पार्टी अध्यक्षको रुपमा भूमिका निभाउनु उचित देखिन्छ । यसलाई आपसी सहमतिका आधारमा आलोपालो गर्न पनि सकिन्छ ।

प्रचण्डले पार्टीको नेतृत्व गर्दा माओवादी केन्द्र एमालेमा विलय भएको भन्दै भ्रम फैलाउने, माओवादी केन्द्रका कार्यकर्ताहरुलाई एकता प्रक्रियामा सामेल हुनबाट रोक्ने दुस्प्रयत्नहरु र एकतामा आउने कार्यकर्ताहरुका बीचमा समेत उत्पन्न हुनसक्ने मनोवैज्ञानिक त्रास र संकोचलाई पनि दूर गर्न सक्छ ।

जबकि एमाले आफैमा ठूलो पार्टी भएकोले माओवादी केन्द्रमा विलय भएको भन्नेजस्ता प्रश्नै उठ्न संभव छैन ।
र अन्तमा,

यी दुवै पार्टीहरु र यिनका नेताहरु संघर्ष र संगठनको लामो अनुभवप्राप्त, खारिएका, परिपक्व र जनउत्तरदायी छन् । तिनले यो देशको आवश्यकता र जनताको चाहना बुझेका छन् । वर्ग, राज्यसत्ता र राज्यविहीन व्यवस्था निर्माण गर्ने महान शंकल्पसहित राजनीतिमा होमिएका शीर्षनेताहरु जुंगाको लडाइँ र प्रतिक्रियावादीहरुका षड्यन्त्रमा फस्न सक्दैनन् ।

महान एकतामार्फत् शक्तिशाली तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरेर समृद्ध समाजवादी नेपाल निर्माण गर्ने महान् नेतृत्वको रुपमा आफूलाई उभ्याउने छन् । नेपाली जनता यसमा विश्वस्त छन् ।

(खड्का माओवादीका केन्द्रीय सदस्य हुन्)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार