काँग्रेस जिल्ला सभापतिहरूको भेला आज पनि

  मूलधारपोष्ट  334 पटक हेरिएको

काठमाडाैं । नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको भेला आज पनि चल्ने भएको छ । सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी रूपमा चलाउन खोजेको भन्दै महामन्त्री शशाङ्क कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलको आह्वानमा सोमबारदेखि पार्टी कार्यालय सानेपामा भेला सुरु भएको हो । यद्यपी भेलालाई परामर्श बैठकको रूपमा काँग्रेस संस्थापनइतरले व्याख्या गरेको छ ।

सोमबार १४ जिल्लाकाका सभापतिहरूले पार्टीमा पछिल्लो समयमा देखिएको विवाद र समाधानका उपायका बारेमा आआफ्नो धारणा राखेका थिए । आजको बैठक बिहान ११ बजे सुरु हुने छ । भोलिसम्म बैठक लम्बिनसक्ने नेता सञ्जयकुमार गौतमले सीआईएनसँग बताउनुभयो । भेलामा सहभागीहरूले आफ्नै समूहका नेताको कार्यशैली र व्यवहारप्रति पनि प्रश्न उठाएका छन् ।

सभापति देउवाले यही पुस ११ को विधान विपरीतका निर्णय नसच्याए केन्द्रको निर्देशन आफूहरूले जिल्लामा नमान्ने चेतावनीसमेत जिल्ला सभापतिहरूले दिएका छन् । जिल्ला सभापतिहरूले २०७५ पुस ९ गते सम्पन्न महासमिति बैठकको निर्णयअनुसार केन्द्रीय पदाधिकारीसहित सदस्यहरू वडाबाटै निर्वाचित हुनुपर्ने र समानुपातिक तथा आरक्षण कोटा ‘एक व्यक्ति एक अवसर’ का रूपमा लिनुपर्ने प्रावधान राख्नुपर्नेमा जोड दिएका नेता गौतमले बताउनुभयो ।

सोमबार ४३ जिल्लाका सभापतिहरू भेलामा सहभागी भएका थिए भने आज यो सङ्ख्या कम्तिमा ५० पुग्ने अपेक्षा संस्थापनइतर पक्षको छ । भेला सकिएपछि आफूहरूले सभापति देउवासँग पनि छलफल गर्ने तयारी गरेको गौतमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार