कमाण्डरहरू नै मिलेर एक करोड क्वाप्पै

  पत्रपत्रिका खबर  462 पटक हेरिएको

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कैलालीका कार्यकर्ताहरूले तत्कालीन एमालेका जिल्ला इन्चार्ज झपटबहादुर रावल र अध्यक्ष दीर्घ सोडारीले पार्टीको करीब १ करोड रूपैयाँ हिनामिना गरेको गुनासो गरेका छन् । पार्टी एकीकरणको अघिल्लो बर्ष १४ हजार पार्टी सदस्यबाट पाँच सय रूपैयाँका दरले उठाएको सदस्यता नविकरण शुल्क वापतको ७० लाख रूपैयाँ र केही बर्षदेखि संगठित सदस्यता नविकरण नगरेकाहरूले एकमुष्ठ नविकरण गर्दाको करीब ३० लाख रूपैयाँ रावल र सोडारी मिलेर पचाएको कार्यकर्ताहरूको आरोप छ ।

उक्त रकम रावल र सोडारीबाट असुलउपर गराउन जिल्ला कमिटी कैलालीलाई कार्यकर्ताले दबाब दिन थालेपछि छानबिन समिति बनाइएको नेकपा कैलाली श्रोतले बताएको छ । समितिलाई तत्कालीन एमालेका पालामा गरिएका आर्थिक व्यवहारका बारेमा अध्यन अनुसन्धान गरेर प्रतिवेदन बुझाउन भनिएको छ । त्यति बेला विभिन्न कमिटीमार्फत संकलन भएको सदस्यता नविकरण शुल्क वापतको करीब एघार लाख रूपैयाँ झपटबहादुर रावलले आफ्नो खातामा राखेको खुलेको छ ।

पैसा पचाएको जिल्ला भरी हल्ला फैलिएपछि करीब तीन बर्ष पछि रावलले पैसा आफ्नो व्यक्तिगत खातामा राखेको स्वीकारेका थिए । संगठित सदस्यता शुल्क वापतको १ करोड रूपैयाँ रावल र सोडारीले व्यक्तिगत काममा खर्च गरेको तत्कालीन एमालेका एकजना जिल्ला सचिवालय सदस्यले बताए । नेकपाका कार्यकर्ताहरूले उक्त रकम कहाँ कुन अवस्थामा रहेको छ भन्ने कुरा नेकपा केन्द्रले तत्काल सत्यतथ्य छानविन गर्न र दोषीलाई कारवाही गर्न समेत माग गरेका छन् ।

इन्चार्ज र अध्यक्ष हुँदा कैलालीका उद्योगी व्यवसायीबाट करोडौं रूपैयाँ चन्दा उठाएको आरोप छ । अध्यक्ष सोडारीले त सिडियो र जिप्रका एसपीबाट समेत रकम असुली गरेको धनगढीमा अझै चर्चा हुने गर्छ । सोडारी राजमार्ग उत्तरको सरकारी जंगल फडानीमा समेत संलग्न भएको समाचार पत्रपत्रिकामा प्रकाशित भएका थिए । राजनीतिक शक्तिको आडमा धन कमाउन वन कर्मचारीहरूसङ्ग मिलेर वन माफियाहरूलाई मद्दत गर्ने गरेको आरोप सोडारीमाथि बेला बेलामा लाग्दै आएको थियो ।

तिनै सोडारी पछि गएर प्रदेश सांसद हुँदै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीसम्म भए । धनगढीकी एकजना महिलासङ्गको अनुचित यौन सम्बन्ध बाहिरिएपछि सोडारी मन्त्रीबाट बर्खास्त भए । पार्टीको साधारण सदस्यबाट समेत निलम्बित सोडारी कैलालीको राजनीतिमा कम ब्याक गर्ने कोशिसमा छन् । नेकपाका सुदूरपश्चिम इन्चार्ज भीमबहादुर रावलका खास मान्छेका रूपमा चिनिएका सोडारी वरिष्ठ नेता माधवकुमार नेपालको सहयोगमा निलम्बन फुकुवा गराउने कोशिस गरिरहेको श्रोतको भनाई छ ।

पुर्पक्षका लागि जेलमा रहेका कृष्णबहादुर महरा र दीर्घ सोडारीको यौन शोषण काण्डको प्रकृति एउटै हो । यी दुईको अपराधमा समानता रहेपनि महरा जेलमा छन् भने सोडारी कहिले भीमबहादुर रावल, योगेश भट्टराई त कहिले माधवकुमार नेपालसङ्ग कुम जोडेका फोटोसहित फेसबुकमा देखिन्छन् ।

श्रोतका अनुसार, दीर्घ सोडारीविरुद्धको उजुरी बालुवाटार पुग्दा सुरुमा वरिष्ठ नेता नेपालले सोडारीको वचाव गरेका थिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सोडारीविरुद्धका सवुत प्रमाण शीर्ष नेताहरूको हात हातमा थमाएपछि वरिष्ठ नेता नेपाल आफ्नो अडानबाट पछि हटेका थिए । समान प्रकृतिको अपराधमा महरा जेल बस्नु पर्ने सोडारी भने निस्फिक्री घुम्नु पर्ने ? भनेर नेकपाका नेता तथा कार्यकर्ताहरूले प्रश्न उठाउन थाले पनि आफूलाई बिगार्ने कसैलाई पनि न छाड्ने भन्दै सोडारी नेकपा सुदूरपश्चिममा भताभुङ्ग पार्दै हिंडेको चर्चा छ । यसैगरी भीमबहादुर रावलका अर्का विश्वास पात्र प्रकाशबहादुर रावल पनि मन्त्रीबाट बर्खास्तमा पर्ने विवादित व्यक्ति हुन् ।

ठगी र जालसाजीबाट अकुत सम्पत्ति आर्जन गरेका प्रकाश माथि सम्पत्ति शुद्धीकरण विभागले छानबिन थालेपछि गत कात्तिकमा मन्त्रीबाट हट्नु परेको हो । उनी सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री थिए । रावलसहित ३६ जना विरुद्ध कीर्ते गरेको भन्दै उजुरी परेपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा पत्र बुझाएका हुन् । भीमबहादुर रावलको आशीर्वादप्राप्त अर्का नेता सामाजिक विकाशमन्त्री कृष्णराज सुवेदी पनि बर्खास्तको मिति पर्खेर बसेको उनैका मन्त्रालयका कर्मचारी बताउन थालेका छन् ।

विभिन्न अस्पतालका लागि उपकरण खरिदमा करोडौं भ्रष्टाचार गरेको दर्जनौं उजुरी अख्तियारमा परेपछि सुवेदी माथि छानबिन भइरहेको श्रोतको भनाई छ । खराब आचरणका कारण दीर्घ सोडारी बर्खास्तमा परेपछि भीमबहादुर रावलको जोडबलमा सुवेदी मन्त्री भएका थिए । एक पछि अर्को गर्दै टिममा खराब मान्छे मात्र देखिन थालेपछि सुदूरपश्चिम प्रदेशमा भीमबहादुर रावलको ब्रान्डमा धक्का पुगेको विश्लेषण गर्न थालिएको छ । साँघुन्युजमा समाचार छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार