यसरी हुनेछ ब्रह्माण्डको अन्त्य

  पत्रपत्रिका खबर  30 पटक हेरिएको

यो अर्बौंअर्ब प्रकाशवर्षसम्म फैलिएको अनन्त ब्रह्माण्ड कसरी बन्यो भन्ने जानकारी विज्ञानसँग छ । यस अनन्त ब्रह्माण्डमा रहेका अर्बौंअर्ब आकाशगङ्गा, नेबुला, विभिन्न किसिमका तारा, ताराका सौर्यमण्डलमा रहेका अनेकौँ संरचना, ग्रह–उपग्रह, क्षुद्रग्रह, धूमकेतु आदिको चरित्र एवं उत्पत्तिबारे बुझ्न विज्ञानले सधैँ प्रयास गर्दै आइरहेको छ ।

विज्ञानलाई थाहा छ, आजभन्दा झण्डै १४ अर्ब वर्ष पहिला कुनै अति सानो एउटा कणमा महाविस्फोट (बिगबैङ) भएर त्यो कण चारैतिर फैलिन थाल्यो । बेलुनजस्तै फैलिँदै फैलिँदै त्यो कण हामीले बुझेको ब्रह्माण्ड जत्रो भएको छ । विज्ञानलाई स्पष्ट र प्रमाणित रूपमा थाहा छ– त्यो कण अझै फैलिरहेको छ, बेलुन अझै ठूूलो हुँदै गइरहेको छ । कहिलेसम्म ठूलो भइरहन्छ यो बेलुन ? अर्थात बिगबैङबाट बनेको ब्रह्माण्डको अन्त्य कसरी हुन्छ ?

ब्रह्माण्डको अन्त्य विषयक थुप्रै अवधारणा छन् । यस्तै एउटा अवधारणा प्रसिद्ध भौतिकविद् र खगोलविद् ब्रायन कक्सले अघि सारेका छन् । उनका अनुसार ब्रह्माण्डको अन्त्य अन्धकारपछि हुन्छ । उनले यसलाई ‘हिट डेथ’ अथवा ‘बिग फ्रिज’ नाम दिएका छन् । यस सिद्धान्तअनुसार अर्बौं वर्षसम्म ब्रह्माण्डको विस्तार भइराख्छ । जस्तो कि हामीलाई थाहा छ– ब्रह्माण्डको विस्तार हुने गति प्रकाशको गतिभन्दा पनि तीव्र छ । ब्रह्माण्डको विस्तार हुने क्रममा आकाश गङ्गा र ताराहरु माझ रिक्त स्थान (स्पेस) बढ्दै जान्छ ।

बुझ्नलाई कल्पना गरिहेर्नुस्– सूर्य र पृथ्वीबीचको दूरी करिब १५ करोड किमि छ । यस दूरीका कारण सूर्यबाट पृथ्वीमा प्रकाश र ताप उचित मात्रा आइपुग्छ । कल्पना गर्नुस्, यो दूरी बढेर १५ अर्ब किमि हुन गयो भने के हुन्छ ? के यत्रो दूरीमा हुँदा सूर्यबाट आउने प्रकाशले उज्यालो र ताप दिनसक्छ ? सक्दैन, प्रमाणका रूपमा हामीसँग सूर्यदेखि ७७ करोड किमि टाढा रहेको वृहस्पति ग्रह नै छ ।

स्पष्ट छ, सूर्यसँग टाढा हुँदा हामीले बुझ्ने किसिमको जीवन हुन सक्दैन । तर हामीले बुझ्ने किसिमको जीवन नभए पनि अन्य जीवनरहित खगोलीय पिण्डका भाँती पृथ्वी अस्तित्वमा रहिरहने छ । ब्रह्माण्डको अन्त्य कसरी हुन्छ भन्ने प्रश्न कुनै पनि ग्रहमा हुर्केको जीवनसँग सम्बन्धित होइन वरन् त्यसको अस्तित्व कसरी लोप, विलुप्त, समाप्त हुन्छ भन्ने हो । प्रकाश र ऊर्जाका स्रोत तारालगायत सबै खगोलीय संरचनाको समाप्ति विषयक हो ।

‘हिट डेथ’ अथवा ‘बिग फ्रिज’ थ्योरीका अनुसार ब्रह्माण्डको विस्तार हुँदै जाने क्रममा यस्तो स्थिति आउँछ । जब नयाँ तारा बन्ने प्रक्रिया नै समाप्त हुन्छ र भएका तारा क्रमशः मर्दै गइरहेका हुन्छन्, त्यसबेला ब्रह्माण्ड अधिकतम् एन्ट्रोपी (Entropy) स्टेजमा पुग्छ । यसले गर्दा त्यो बेला उपलब्ध रहेको इनर्जी त्यस स्थानमा गति गर्छ, जहाँ इनर्जीको स्तर कम रहेको हुन्छ । यो नै ‘हिट डेथ’ चरण हुन्छ ।

‘हिट डेथ’को अर्थ र अभिप्राय हिट (ताप) को अधिकता होइन वरन् ‘हिट’मा आएको न्यूनता–कमी–अथवा उतार हो । विज्ञानका विद्यार्थीलाई थाहा हुन्छ– तापको उकालो यात्रा खर्बौंखर्ब डिग्री सेन्टिग्रेडसम्म हुन सक्छ तर ताप ओरालो लाग्ने क्रममा यात्रा पथ बढी छैन । माइनस २७३.१५ डिग्री सेन्टिग्रेड नै अन्तिम सिमाना हो । यो माइनस २७३.१५ डिग्री सेन्टिग्रेड हुनेबित्तिकै अणु–परमाणुकै संयोजन समाप्त हुन्छ अर्थात केही पनि कुराको अस्तित्व रहन सक्दैन ।

ब्रह्माण्डको विस्तार हुने क्रममा खगोलीय पिण्डका बीच दूरी बढ्छ अर्थात ‘स्पेस’ वृद्धि हुन्छ । स्पेस बढ्दै जाँदा स्पेसमा रहेको मेटरियलको डेन्सिटी कम हुँदै जान्छ । इनर्जीको स्रोत तारा बन्ने क्रम रोकिन्छ । भएका तारा विस्तारै सेलाउँदै जान्छन् । परिणामस्वरूप ब्रह्माण्डको तापक्रम सेलाउँदा सेलाउँदा माइनस २७३.१५ डिग्री सेन्टिग्रेडमा पुगेर ब्रह्माण्डको अन्त्य हुन्छ ।

अहिलेसम्म ब्रह्माण्डको कुनै पनि ठाउँमा यो तापक्रम भएको जानकारी प्राप्त भएको छैन । ब्रह्माण्डमा भेटिएको सबैभन्दा चिसो ठाउँको तापमान माइनस २७२ डिग्री सेन्टिग्रेड रहेको छ । पृथ्वीबाट ५ हजार प्रकाशवर्ष टाढा रहेको बुमरेन्ग नेबुलामा यो तापमान भएको थाहा भएको छ ।

के तपाईंलाई थाहा छ, ब्रह्माण्डको सबैभन्दा चिसो अथवा कम्ती तापमान (बुमरैन्ग नेबुलाभन्दा पनि कम) पृथ्वीमै उपलब्ध भइसकेको छ ? नासा र मासाचुस्टस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले प्रयोगशालामा माइनस २७३ डिग्री सेन्टिग्रेड तापमान बनाइसकेका छन् ।राताेपाटीबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार