युवाको रोजाइमा भेडा पालन

  पत्रपत्रिका खबर  220 पटक हेरिएको

मुगु । छायानाथ रारा नगरपालिका–१४ बाम गाउँमा भेडा, बाख्रापालन व्यवसायमा युवाको आकर्षण बढ्दो क्रममा रहेको छ । आम्दानीको अन्य विकल्प नभएपछि युवाहरू भेडाबाख्रा पालनलाई मुख्य पेसाका रूपमा अँगालेका हुन् ।

यो व्यवसायमा लाग्न गुर्डनेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ भने किर्डाक नेपाल मुगुले आयआर्जन कार्यक्रमअन्तर्गत घुम्ती कोष परिचालनमार्फत बेरोजागार युवाहरूलाई ऋण दिन थालको छ । बेरोजगारसँगै परिवार पाल्नकै लागि यहाँका अधिकांश युवा भारत जाने गरेका छन् भने केही युवाले हिमाली कृषि सहकारी संस्थाबाट ऋण लिई भेडा, बाख्रापालन व्यवसायमा लागेका छन् ।

छायानाथ रारा नगरपालिका–१४ का रंगवीर बढुवाल भन्छन्, ‘मेरो ६ जनाको परिवार छ । बेरोजगार थिएँ । आफ्नो आम्दानीको लागि भेडापालन व्यवसाय रोजे । यो व्यवसाय राम्रै भएको छ ।’ घुम्ती कोषमार्फत उनले सहकारीबाट घुम्ती कोषमार्फत ४० हजार रुपैयाँ ऋण लिएका थिए । पहिला भेडापालन व्यवसाय सुरु गरेका बढुवालले पछि बाख्रापालन गरेको बताए । उनले अहिले ५० वटा बाख्रा बनाएका छन् । बेरोजगार हुँदा पैसाको अभाव थियो अहिले बाख्रापालनसँगै खुद्रा पसल पनि गरेको बढुवालको भनाइ छ ।

बाम गाउँमा यस्तै व्यवसाय गरेर आत्मनिर्भर बन्न खोज्ने धेरै युवाहरू छन् । छायाँनाथ रारा नगरपालीका–१४ कै धर्मदत्त बढुवाले पनि घुम्ती कोषमार्फत भेडापालन गरेका छन् । उनले पनि घुम्तीकोषमार्फत ४८ हजार ऋण लिई व्यवसाय गरेको बताए । यो व्यवासाय अँगालेसँगै दैनिक घरखर्च चलाउन, छोराछोरीलाई कापी, कलम किन्न सहज भएको धर्मदत्त बताउँछन् । १४ वडामा घुम्तीकोष हिमाली कृषि सहकारीमार्फत ऋण लिई भेडा, बाख्रापालन, खुद्रा पसल, कुखुरापालनलगायत अन्य व्यवसाय गर्ने धेरै छन् ।

घुम्तीकोष सञ्चालन भएसँगै बेरोजगार युवाको जीवनयापनमा परिर्वतन भएको किर्डाक नेपाल मुगुका संयोजक टेकबहादुर शाही बताउँछन् । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई आर्यआर्जन गर्न सहज होस् भन्ने उद्देश्यले उक्त संस्थाले सहयोग गरेको हो । स्थानीय सहकारीहरूलाई घुम्तीकोष सहयोग गरी सहकारीमार्फत ऋण लिने व्यवस्था भएकाले आयआर्जन गर्न इच्छुक जो कोहीले पनि ऋण लिन सकिने शाहीको भनाइ छ ।

यता छायानाथ रारा नगरपालिका–१२ शोभा गाउँको हातेमालो कृषि सहकारीलाई पनि गुडनेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा किर्डाक नेपाल मुगुले आर्यआजन कार्यक्रमअन्तर्गत घुम्ती कोष परिचालनमार्फत १२ लाख बराबरको अनुदान दिइएको खबर साैर्य दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार