ओली समूहको दोस्रो वरीयतामा को को सुची सहित

  पत्रपत्रिका खबर  229 पटक हेरिएको

विभाजित नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको डेपुटी कमाण्ड पार्टीभित्र कसको काँधमा आउला ? सरकारमा डेपुटीको कमाण्ड ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मा लिएर नै सम्हालिरहेका छन् । तर, ओली नेतृत्वको नेकपाको डेपुटी कमाण्डको जिम्मा भने ओलीले अहिलेसम्म कसैलाई दिएका छैनन् । त्यसैले पार्टीमा ओलीपछिको दोस्रो वरीयताको नेता को होला भन्ने चासोको विषय भएको छ । ओली नेतृत्वको नेकपामा डेपुटी कमाण्डको सपना देखेका नेताको सख्या आधा दर्जनभन्दा बढी छ ।

पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा ‘बादल’ ओलीको डेपुटी अर्थात् ओली नेतृत्वको नेकपाको दोस्रो वरीयताको नेताका दाबेदार हुन् । बादललाई ओलीले सहअध्यक्षबराबरको पदको आश्वासन दिएर भित्र्याएका थिए । ९ पुसमा ओली समूहमा खुल्नुअघि बादलले प्रचण्ड र माधव नेपालसँग संवाद गरेका थिए ।

बानेश्वरको एक होटलमा भएको त्यो संवादमा बादलले ओलीले दोस्रो वरीयता दिने आश्वासन दिएको संकेत गरेका थिए । र, त्यतिबेला प्रचण्ड र माधव नेपालले ओलीले जुन पद दिन्छन्, त्यही पदमा दिने आश्वासन दिएका थिए । तर, बादलले त्यसको सुनवाइ गरेरन्, ओलीको सहअध्यक्षबराबरको पदको लोभमा ओली समूहमा खुले । आफ्नाे समूहमा आएकाे खुले पनि ओलीले बादललाई अहिलेसम्म दोस्रो वरीयताको जिम्मेवारी दिने संकेत दिएका छैनन् । उल्टै ईश्वर पोखरेलभन्दा तल्लो वरीयतामै निरन्तरता दिएका छन् । ओली बादललाई दोस्रो वरीयता दिने पक्षमा छैनन् भन्ने प्रष्ट संकेतचाहिँ २३ माघमा देखियो ।

ओलीले शक्ति प्रदर्शनको रूपमा काठमाडौंमा गरेको आमसभामा बादलले तेस्रो वरीयताको हैसियतमा सम्बोधन गरे । त्यसअघि सभागृहको एक कार्यक्रममा पनि बादलले तेस्रो वरीयताको हैसियतमै सम्बोधन गरेका थिए । नेकपाको सचिवालय सदस्यको हैसियतमा बादलभन्दा सिनियर नेता हुन् ईश्वर पोखरेल । ओलीले बादललाई पूर्वमाओवादीको प्रतिनिधित्व गराउने नाममा पोखरेलभन्दा सिनियर बनाउने आश्वासन दिएका थिए ।

बादल नआउने अवस्थामा नौ सदस्यीय सचिवालयमा तीन जना मात्रै ओली समूहमा रहने भएपछि ओलीले दोस्रो वरीयताको आश्वासनमा बादललाई भित्र्याएका थिए । अध्यक्ष प्रचण्डलाई नेता मान्न अप्ठ्यारो मानेका पोखरेलले बादललाई स्वीकार्ने सम्भावना कम रहेको ओली समूहकै एक नेताको टिप्पणी छ । नवौँ महाधिवेशनमा ओलीको उत्तराधिकारी बन्ने सपनासहित पोखरेलले ओली टिमको महासचिवमा प्रतिस्पर्धा गरेका थिए ।

ओलीले अहिले बाध्यताले बादललाई स्वीकार गरेकाले बादलले ओली समूहको दोस्रो वरीयता पाउने सम्भावना नरहेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । विश्लेषक हरि रोका बादललाई ओलीले सर्वोच्च अदालतको फैसला नआउञ्जेल मात्रै प्रयोग गर्ने बताउँछन् । उनी भन्छन्, ‘सर्वोच्चको फैसला ओलीको लाइनअनुसार प्रतिनिधिसभा विघटन सदर हुने गरी आयो भने ओलीले बादललाई भोलिपल्टै साइड लगाउँछन् ।’

बादलको विकल्पमा ईश्वर पोखरेलले डेपुटीको कमाण्ड लिन सक्छन् त ? नेकपाको सचिवालय सदस्यको हैसियतमा ओली समूहका नेतामध्ये ओलीपछि पोखरेल नै सिनियर हुन् । त्यस आधारमा पोखरेललाई डेपुटीको कमाण्ड आउन सक्छ भन्ने अनुमानसम्म गर्न सकिन्छ । तर, पोखरेलप्रति ओलीको विश्वास धरमर मात्र होइन, चरम संकट देखिन्छ । जब ओली प्रचण्ड र माधव नेपालविरुद्ध निर्णायक लडाइँमा उत्रिँदै थिए र भारतसँग सम्बन्ध बिस्तार गर्न लागिरहेका थिए, त्यतिबेला पोखरेललाई बाइपासमा परे ।

भारतसँगको सम्बन्ध बिस्तारकै क्रममा भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपाल आउने तयारी भयो अनि पोखरेलको रक्षामन्त्रीको जिम्मेवारी साटियो । अर्थात् रक्षा मन्त्रालय आफूले लिएर ओलीले पोखरेललाई प्रधानमन्त्री कार्यालयमा थन्क्याइदिए । गौरवका आयोजना हेर्ने बहानामा प्रधानमन्त्री कार्यालयमा समय कटनी गरिरहेका पोखरेलप्रति ओलीको चरम अविश्वास रक्षा मन्त्रालय खोस्नुले नै देखाउँछ ।

त्यस्तो अवस्थामा पार्टीको डेपुटी भूमिका सुम्पिने सम्भावना कम रहेको ओली नेतृत्वको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । उनको भनाइमा पोखरेलसँगको सम्बन्ध राष्ट्रपति विद्यादेवी भण्डारीका कारण मात्रै प्राविधिक रूपमा निरन्तर रहेको हो, विश्वासका आधारमा रहेको होइन ।

त्यसो भए ओलीको डेपुटी महासचिव विष्णु पौडेलको हातमा आउन सक्छ ? त्यो सम्भावना पनि अहिलेलाई कम रहेको ओलीनिकट ती नेताको दाबी छ । पौडेलप्रति पनि ओलीको विश्वास कम छ । २२ वैशाख २०७६ मा माधव नेपालको निवासमा पुगेर ओली हटाउनुपर्छ भन्ने नेता थिए विष्णु पौडेल । वामदेव गौतमको साथ लागेर नेपालनिवास कोटेश्वर पुगेर ओलीको विस्थापनका लागि प्रस्ताव गरेका पौडेलले त्यसबीचका थुप्रै चरण ओलीविरुद्धको मोर्चामा प्रचण्ड-माधवलाई साथ दिएका थिए ।

वामदेव गौतमको निवासमा २३ पुस २०७५ मा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितको गठबन्धनमा पौडेल पनि सहभागी थिए । त्यो ओलीविरुद्धको पहिलो संगठित मोर्चा थियो । त्यस दिनको मोर्चाबन्दीकै कारण सभामुखमा प्रचण्डनिकट अग्नि सापकोटा चयन हुन सम्भव भएको हो । त्यो मोर्चाबन्दीभन्दा पहिला ओलीले सुवास नेम्वाङलाई अघि सारेका थिए । बाहिर देखिने गरीचाहिँ उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई उचालेर महिला अधिकारकर्मी र सांसदहरूको डेलिगेसन नै चलाएका थिए ।

जब बालुवाटार जग्गा प्रकरण पर्दाफास भयो र पौडेल विवादमा मुछिए, त्यसपछि ओलीको पक्षमा खुलेका हुन् । अर्थमन्त्री बन्ने बेलामा पनि पौडेलले ओलीको भन्दा बढ्ता प्रचण्डको विश्वास जितेका थिए । माधव नेपालसँग पनि समदूरीको सम्बन्ध राख्न सक्ने नेता भएकोले पनि ओलीले पौडेललाई डेपुटीको कमाण्ड सुम्पिने सम्भावना देखिँदैन । ओलीले विश्वास गर्ने दुई नेता हुन् शंकर पोखरेल र सुवास नेम्वाङ । ओलीले प्रतिनिधिसभा विघटन गर्नुपूर्व पनि उनलाई विघटनको हदमा नपुग्न सुझाव दिने नेताहरू पनि हुन् । र, तुलनात्मक रूपमा यी दुई नेताबाट ओलीले सल्लाह लिन्छन् । त्यसमध्ये पनि ओली नेम्वाङको तुलनामा शंकर पोखरेलसँग बढ्ता भर परेको देखिन्छ । सांगठनिक पहुँचको हिसाबमा पोखरेल अगाडि छन् ।

त्यसैले धेरैको अनुमान पोखरेलले डेपुटी कमाण्डको हैसियतमा जिम्मेवारी पाउँछन् भन्ने छ । तर, सचिवालय सदस्य नभएका कारण तत्काल पोखरेलले त्यस्तो जिम्मेवारी पाउँदैनन् । तर, प्रचण्ड-माधवसहित चार सचिवालय सदस्य ओलीको समूहमा नरहेका कारण विधानतः चार पद रिक्त छन् । ती पदमा पोखरेल र नेम्वाङलाई पदोन्नति गरेर पोखरेललाई डेपुटीको भूमिकामा ल्याउन सक्ने अनुमान गरिन्छ । हुन पनि अहिले ओलीको सबैभन्दा बढ्ता प्रतिरक्षा पोखरेलले नै गरेका छन् । प्रतिनिधिसभा विघटनमा ओलीको साथ लागेपछि नेम्वाङको सार्वजनिक छवि धूमिल भएको छ । जसले गर्दा नेम्वाङ मौनझैँ छन् । सार्वजनिक कार्यक्रममा ओली कदमको खुलेर प्रतिरक्षा गर्न सकेका छैनन् ।

वामदेवको छुट्टै बार्गेनिङ-
नेकपाको उपाध्यक्ष हुन् वामदेव गौतम । विभाजित नेकपाको दुवै पक्षले उपाध्यक्ष गौतमलाई हटाएका छैनन् । यद्यपि गौतम भने ओली समूहसँग निकट देखिन्छन् । ओलीसँग सहकार्यका लागि गौतमले चारवटा सर्त राखेका थिए । पार्टीएकता अभियानमा लागेका गौतमले विभिन्न अन्तर्वार्तामा ओलीले आफूलाई अध्यक्षकाे प्रस्ताव गरेकाे पनि बताएका थिए । ओलीले गौतमलाई अध्यक्ष पद दिने सम्भावना कम छ । त्यसैले गौतमले ओलीको डेपुटी हैसियतमा काम गर्न राजी हुने संकेत देखाएका छन् ।

२ फागुनको साँझ बालुवाटारमा भएको छलफलमा गौतमले चुनावी सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री दिन आग्रह गरेका छन् । त्यो हुँदा गृहमन्त्री बादलको जिम्मेवारी हेरफेर हुनेछ । बालुवाटारनिकट स्रोतका अनुसार गौतमलाई ओली आफैँले चाहिँ खासै महत्त्व दिएका छैनन् । ओलीनिकट अधिकांश नेताहरू ओली समूहमा खुलिसकेका कारण गौतम, उनकी श्रीमती तुलसा थापा र केन्द्रीय सदस्य हरि पराजुलीका लागि धेरै बार्गेनिङ गरेर भित्र्याउने पक्षमा नरहेको बालुवाटार स्रोतको दाबी छ ।

डेपुटीका लागि ओलीको देवत्वकरण-ओलीको स्तुतिबाट मात्रै डेपुटीको कमाण्ड पाइने बुझेका नेताहरूको चाकडीशैली पनि बढ्तै देखिन्छ । ओलीलाई राजनेता, राष्ट्रनायकजस्ता उपमा भिराएर नेताहरूले ओलीलाई देवत्वकरण गरिरहेका छन् । २३ माघको काठमाडौंको सभामा नेताहरूले मञ्चबाटै ओलीको देवत्वकरणमा नारा उरालेका थिए । ती नारा १ फागुनमा बुटवलमा पुग्दा झन् चर्किए । त्यहाँ महासचिव विष्णु पौडेलले राष्ट्रनायक र राजनेता ओलीले अझै ५ वर्ष पार्टी र सरकारको नेतृत्व गर्नुपर्छ भन्दै स्तुतिमा प्रशस्त समय खर्चिए ।

पूर्वमाओवादी नेता रामबहादुर थापा बादल पनि पौडेलकै लाइनमा छन् । बादलले पूर्वएमाले पृष्ठभूमिका पौडेल, ईश्वर पोखरेल, शंकर पोखरेलझै ओलीको स्तुति त गाइरहेका छैनन्, तर ओलीकै शैलीमा विभाजित नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालको त्तोसरापमा भने लागेका छन् । ओलीको विश्वास जित्नकै लागि बादलले २३ माघमा प्रचण्डलाई लक्षित गरेर मांसहारी आन्दोलनका कुरा गर्नेलाई चिडियाखानामा कोच्नेसम्मको धम्की दिए । सिलापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार