बानेश्वरमा जन्मिएकी जेविकाको पछिल्लो अनुहार

  पत्रपत्रिका खबर  483 पटक हेरिएको

काठमाडाैं । बानेश्वरमा जन्मिएकी जेविका कार्की नेपाली फिल्ममा पछिल्लो समय परिचित अनुहार हो। उनले ‘जन्मभूमि’, ‘पर्व’, ‘कारखाना’, ‘जय श्रीदाम’ लगायत फिल्ममा काम गरेकी छिन्। फिल्म ‘जन्मभूमि’ बाट उनले नेपाली फिल्म उद्योगमा प्रवेश गरेकी हुन्। उनले म्युजिक भिडियोमा मोडलिङ पनि गरेकी छिन्। ‘फ्यान्टम इन्टरटेनमेन्ट’ प्रोडक्सन हाउसकी सञ्चालक पनि हुन्, उनी। लाइटिङ इन्टेरियरमा रुचि राख्छिन्। अहिले अभिनयमा सक्रिय उनलाई बाल्यकालमा अभिनयभन्दा पनि नृत्यमा रुचि थियो। ‘अभिनयमा थाहा नपाउँदो तरिकाले प्रवेश गरेँ,’ उनी भन्छिन्, ‘सानो छँदा अभिनयभन्दा नृत्यको सोख बढी थियो।’

एसएलसीपछि उनले नृत्य सिक्न थालिन्। नृत्य सिक्दासिक्दै उनलाई कार्यक्रम सञ्चालन गर्ने रुचि जाग्यो। ‘नृत्यसँगै कार्यक्रम होस्ट गर्न मन लाग्यो,’ उनी भन्छिन्। कलेजमा पढ्दा उनले हास्यकलाकार सन्दीप क्षत्रीलाई चिनिन्। ‘उहाँले हामीलाई कलेजमा पढाउनुहुन्थ्यो,’ जेविका भन्छिन्, ‘एक दिन उहाँले कान्तिपुर टेलिभिजनमा बोलाउनुभयो। ‘एक्टिङ गर्छौ ?’ भनेर सोध्नुभयो। मैले ‘हुन्छ’ भनेपछि ‘ह्वाट द फ्लप’ को एउटा भागमा अभिनय गर्ने मौका पाएँ।’ उनले पहिलो पटक त्यहीँ क्यामेरा फेस गरेकी थिइन्।

जेविका बाल्यावस्थामा एकदमै चञ्चले थिइन्। ‘टीभी खूब हेर्थें,’ उनी भन्छिन्, ‘टीभीमा आउने विज्ञापनको नक्कल गर्ने गर्थें। तर, अभिनय नै गर्छु भन्ने कहिल्यै लागेको थिएन। अभिनयलाई नै करिअर बनाउँछु भनेर सोचेकी थिइनँ।’ स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा उनले नृत्यमा भाग लिन्थिन्। भन्छिन्, ‘चार कक्षामा पढ्दा ‘नटिप्नू हेर कोपिला’ कविताको म्युजिक भिडियो बनाउँदा म त्यसमा नाचेकी थिएँ। स्कुलमा हुने विभिन्न कार्यक्रममा नृत्य प्रतियोगितामा भाग लिन्थेँ। पुरस्कार पनि जित्थेँ।’

जेविकाको अभिनयलाई धेरैले रुचाए। बूढाबूढीले पानीको निहुँमा गरिएको झगडालाई देखाइएको सिन हिट भयो। उनी फिल्मकर्मीको नजरमा परिन्। भन्छिन्, ‘लगत्तै एउटा फिल्मको अफर आयो। तर, फिल्ममा काम गर्न थालेपछि पढाइ बिग्रिन्छ भनेर अभिनय गरिनँ।’

प्लस टू सकिएपछि उनी फिल्मतिर लागिन्। भन्छिन्, ‘पहिलो फिल्म मोहन निरौलाको निर्देशनमा बनेको ‘जन्मभूमि’ थियो।’ अभिनय नसिकी उनी अभिनयमा सक्रिय भएकी थिइन्। बिनातालिम काम गर्न गाह्रो भएको उनी बताउँछिन्। ‘अभिनयको ज्ञान थिएन,’ उनी भन्छिन्, ‘क्यामेरासामु जानुअघि गरिहाल्छु भन्ने लागेको थियो तर क्यामेरा फेस गर्दा निकै डर लाग्यो।’ जसोतसो उनले क्यामेरा फेस गरिन्। बिस्तारै बानी पर्दै गयो। उनको पहिलो फिल्म २०७२ सालमा रिलिज भयो। ‘फिल्म अपेक्षा गरेजति चलेन,’ जेविका भन्छिन्, ‘तर, फिल्मबाट धेरै कुरा सिकेँ। काम सिकेँ। त्यही सन्तुष्टि थियो।’ पहिलो फिल्मपछि उनी म्युजिक भिडियोमा देखिन थालिन्। पढाइ पनि सँगसँगै लगिरहिन्।

स्नातकमा पत्रकारिता तथा आमसञ्चार पढेकी उनले मास्टर्स पनि सोही विषयमा गरिन्। अभिनय र पढाइ सँगसँगै लगिरहिन्। दोस्रो फिल्ममा काम गर्ने अवसर पाइन्। ‘दोस्रो फिल्ममा गम्भीर भएर काम गरेँ,’ उनी भन्छिन्, ‘बिस्तारै अभिनयमा निखार आउँदै गयो। आफूलाई पनि ‘गर्न सक्छु’ भन्ने लाग्न थाल्यो।’

अहिलेसम्म उनका पाँच वटा फिल्म सार्वजनिक भइसकेका छन्। अहिले उनी फिल्म ‘हिजोआजका कुरा’ मा काम गरिरहेकी छिन्। त्यसबाहेक म्युजिक भिडियोमा पनि उत्तिकै सक्रिय छिन्। ‘३० वटाभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेँ,’ उनी भन्छिन्। अभियनलाई उनले आफ्नो जीवनको सारथि मानेकी छिन्। भन्छिन्, ‘अभिनय भनेको मेरा निम्ति अरू कोही बनेर बाँच्नु हो। पर्दामा भए पनि म अरूको जीवनलाई महसुस गरिरहेको हुन्छु।’सम्पूर्ण साप्ताहिकबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार