फर्की आउ गोर्खाली

  साइनो  397 पटक हेरिएको

च्यातिएको टोपी त्यो ।
अर्धनग्न शरीरपनि ।
कठै! सडकको जिन्दगी !

अदभूत छ शक्ति ।
देउन इश्वर वर ।
शान्ती छर्नुपर्छ देशमा।

फर्की आउ गोर्खाली ।
बोकौं खुकुरी र खुडा ।
ब्याँसा र स्याल धपाउन।

मुहारमा आक्रोश ।
काममा जागरै छैन ।
कुरामा भने सबै नौनी।

न्याय खोज्दै छ देश ।
कस्तो खोक्रो राष्ट्रवाद ?
कठै यो बाच्छाको मिचाइ।

पाइला चालें एक्लै ।
कुम्भकर्ण जस्तै अरु ।
मनमा उठ्छ ज्वारभाटा।

मिचिसक्यो सिमाना ।
खै गुलेली र मट्याङ्ग्रा ?
जाग्नुपर्छ अत्ति भो अब।

उजाडियो कुटी त्यो ।
भालुलाई पुराण यो ।
बुद्धको उपदेश पनि।

लुटियो मेरो देश ।
निन्द्रामै छ सरकार ।
फर्काइदे हाम्रो सम्पत्ति !

यौवनको भमरा ।
किंकर्तव्यबिमुढता !
रतिभावको सयपत्री !

न्यानो छाती आमाको ।
कर्तव्य बोध बाबाको ।
कर्णाली झैँ कन्चन दुवै।

थर्किन्न यो चर्किन्न ।
नेपालीको मात्रीभूमी ।
विरगाथा हो गोर्खालीको।

प्रकृतिको बहार ।
स्वर्गको टुक्रा नेपाल ।
पर्यटकलाई स्वागतम् !

बन्नुपर्यो मुग्लानी ।
आफै किसान हुँदानी ।
देशकै माया सनसनी।

कृषक बन्छु बरु ।
विश्वासै छैन कसैको ।
गर्व छ नेपाली हुनुमा।

साइनो नेपाली साहित्य विधा कविता भित्रको एक नविनतम साहित्यिक उप-विधा हो । यो नेपाली सहित्य जगतको माटोमा भर्खरै जन्मिएको छ । साइनो तीन वटा गुच्छा मिलेर एक सुन्दर फूलको थुङ्गाजस्तै तीन हरफमा लेखिने सानो र सुगठित आफैमा स्वतन्त्र भएको विधा मानिन्छ । यसको पहिलो हरफमा ७, दोश्रो हरफमा ८ र तेस्रो हरफमा ९ अक्षरमा लेखिन्छ । तीन वटै हरफले छुट्टाछुट्टै अर्थ दिने र समग्रमा एकै गुच्छाले बृहत अर्थ दिने भएकाले साइनोले साहित्य क्षेत्रमा छोटो समयमै ठूलो फड्को मारेको देखिन्छ । साइनोको सात अक्षरले सात बार, सप्तरङ्ग, सप्त ॠषि, आठ अक्षरले, अष्ठदल, अष्ठवक्र, र नौ अक्षरले नवरस, नवरत्न, नवऋषि, नवदुर्गा, नौ ग्रह जनाउँछ भने यी सबै अक्षर गन्दा चौबीस अक्षर हुन्छन् जसले चौबीस घन्टाको सङ्ज्ञा दिन्छ ।

साइनो यही मिति ०७६ साउन १६ गते अनुहार किताबबाट साइनोका प्रयोक्ता साहित्यकार छायादत्त न्यौपाने “बगर” ले पहिलो पटक प्रकाशित गरेपछी साइनोमा थुप्रै सर्जकहरुले चासो देखाउदै र लेख्दै साइनो लेखन अघि बढेको छ । यही रप्तारमा अघि बढ्ने हो भने साइनोले छिट्टै विश्वसामु आफ्नो पहिचान खडा गर्नेमा दुई मतै छैन । साइनो जुनसुकै क्षेत्रलाई पनि विषय बनाएर लेख्न सकिने विधा हो । जसले समाजमा भएका राम्रा नराम्रा विषय, कुरीति र कुसंस्कार, राजनैतिक क्षेत्र कुनैपनी अराजकता, देशकाल, सौन्दर्यता आदि जस्ता विविध विषयलाई सामग्री बनाएर लेख्न सकिन्छ ।

साइनोको सैद्धान्तिक विषयमा पनि बहस हुँदै अघिबढेको छ । अनुहार किताबबाटै अघि बढेको बहस केशव ज्ञवाली, खेमलाल पोखरेल, बालकुमार क्षेत्री, मिलन समीर, डा.श्याम न्यौपाने, धतानन्द शर्मा, चेतनाथ धमला, उषा बस्ताकोटी(खनाल), शीतल गिरी,सुरेन्द्र शाही “गुलाब कान्छो”, शम्भुराम जोशी, मदन थापा, नैना बराइली, पुण्य घिमिरे समेत धेरै स्रष्टाबिचबाट अघि बढेको छ । यसले धेरै स्रष्टाहरुबिच चर्चासँगै जिज्ञासा उत्पन्न गराएको छ । दिनप्रति दिन साथीहरु प्रत्यक्ष जोडिने क्रममा हुनुहुन्छ ।-सुरेन्द्र शाही “गुलाब कान्छो”,बाजुरा हाल: राजधानी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार