सवारी दुर्घटनामा ३ को मृत्यु,

  रासस  351 पटक हेरिएको

कैलाली दुर्घटना

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको मुडाबजार सडकखण्डमा आज बिहान ना ६ ख १९९० नंको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबौनिया (कैलाली)का प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले सडकबाट चिप्लिएर छेउको नालीमा ठोक्किएर भएको ट्रक दुर्घटनामा परी चालक दाङ जिल्ला लमही नगरपालिकाका हरिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।

सहचालक लमही नगरपालिकाकै अनिल चौधरी गम्भीररुपमा घाइते भएका छन् । घाइतेलाई तत्काल बर्दगोरिया अस्पताल बौनियामा उपचारका लागि लगिएकामा थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ ।

दाङबाट सिमेन्ट लिएर धनगढीतर्फ आउँदै गरेको सो ट्रक आज बिहान बाक्लो हुस्सुका कारण अचानक सडकबाट चिप्लिएर दुर्घटना हुन पुगेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

तनहु दुर्घटना

पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका– ६ स्थित खैरेनीटारमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जा जिल्ला घर भई हाल शुक्लागण्डकी नगरपालिका– ५ डेरा गरी बस्ने १९ वर्षीय चालक सुमन ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताउनुभयो ।

ठक्करबाट गम्भीर घाइते भएका ठकुरीको दुलेगौँडास्थित जिपी कोइराला श्वासप्रश्वास अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । उपचारकै क्रममा राति २ः३० बजे ठकुरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

पोखराबाट दमौली आउँदै गरेको नाजख ७०३० नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ग१३प ४१६० नंको स्कुटरलाई ठक्कर दिँदा चालक ठकुरीको मृत्यु भएको हो । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

लहान दुर्घटना

राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रायपुर गाउँपालिकास्थित सडकमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका– २ निवासी २६ वर्षीय उतिमलाल मण्डल रहेको प्रहरीले जनाएको छ ।

राजविराजबाट रुपनीतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको ट्र्याक्टरलाई सोही दिशाबाट जाँदै गरेको स५प १७०३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार रुपनी गाउँपालिका– ३ निवासी ४६ वर्षीय महेन्द्रप्रसाद इशरको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार