निजामती क्षेत्रमा योग्य उम्मेदवारको खडेरी

स्थानीय तहमा ७२ अधिकृत अपुग

  पत्रपत्रिका खबर  163 पटक हेरिएको

काठमाडाैं । देशमा बेरोजगारी समस्या विकराल बन्दै गएको छ । देशमा केही अवसर नभएको भन्दै विदेसिने नेपालीको संख्या हेर्ने हो भने विरक्तलाग्दो अवस्था छ । विदेसिने मात्रै होइन, यहीं बसेर पनि सरकारलाई धारे हात लगाउने र पुर्पुरोमा हात राख्ने युवा जमात सानो छैन । एकातिर रोजगारीको अवसर नपाएर ‘बेकामे’ भएर बस्नेको जमात छ भने अर्कातिर आफूलाई आवश्यक जनशक्ति नपाएर जनशक्ति खोज्नेको जमात पनि छ ।

विभिन्न निजी कम्पनीले त काम गर्ने कर्मचारी नै नपाएको बताइरहेका छन् । तर नेपालमा निजामती सेवामा काम गर्ने कर्मचारी पनि पाउन छाडेको छ । सुन्दा अनौठो लाग्ला, तर सत्य हो । पछिल्लोपटक लोकसेवा आयोगले प्रकाशन गरेको नतिजाले यसलाई पुष्टि गर्छ । स्थानीय तहका लागि विभिन्न समूहमा खुलाइएको विज्ञापनमा आवेदन गर्नेहरुको परीक्षा लिँदा आवश्यक कोटामा कर्मचारी उत्तीर्ण हुन सकेनन् । देशभरमा गरी ७२ अधिकृतको कोटा खाली रहने भयो ।

आयोगले देशभर १४ वटा कार्यालयबाट स्थानीय तहका लागि प्रशासन, सामान्य प्रशासन र लेखा समूहअन्तर्गतको अधिकृतस्तरको परीक्षा लिएको थियो । गत भदौ ६ र ७ गते लिइएको विषयगत परीक्षाको नतिजा सार्वजनिक हुने क्रममा छ । यसअनुसार हालसम्म इलाम, धनकुटा, दिक्तेल, जलेश्वर र काठमाडौंबाट लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । ५ वटा कार्यालयबाट सार्वजनिक नतिजा अनुसार इलाममा खुल्ला प्रतिस्पर्धाका लागि खुलाइएको ३६ मध्ये २२ जना उमेद्वारको मात्र नाम निस्केको छ । त्यस्तै धनकुटा कार्यालयबाट प्रकाशित नतिजाअनुसार ८३ जना माग भएकामा ७० जनाको मात्र नाम निस्केको छ । त्यस्तै खोटाङको दिक्तेलबाट ३१ जनाको माग भएकामा २५ जना उमेद्वार मात्र सफल भए ।

बेरोजगारी समस्या बढिरहेको चर्चा गरिरहँदा आवश्यक योग्य उम्मेद्वार भने पाउन छोडेको देखिएको छ । लोकसेवा आयोगले पहिलो पटक माग अनुसारको कोटा नपुगेको नतिजा सार्वजनिक गर्नुपरेको जनाएको छ । प्रशासन, सामान्य प्रशासन र लेखासमूह अन्तर्गतको अधिकृत स्तरको खुल्ला परीक्षाको नतिजामा ७२ जना अपुग हुने गरी नतिजा आएको हो । २००८ सालयता लोकसेवा आयोगले विभिन्न तह र पदका लागि परीक्षा लिँदै आएको छ । तर पहिलोपटक कोटा अनुसार अपुग संख्यासहितको नतिजा प्रकाशन गरिएको लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदी बताउँछन् ।

यता लोकसेवा आयोगको कार्यालय जलेश्वरले सार्वजनिक गरेको प्रशासन, सामान्य प्रशासन र लेखा समूहअन्तर्गतको अधिकृत स्तरको परीक्षामा १ सय २७ जनाको माग हुँदा अन्तर्वार्ताका लागि ८८ जना मात्र छानिएका छन् । तर राजधानी काठमाडौंको नतिजा हेर्ने हो भने आवश्यक संख्या ५७ जना हुँदा १ सय २४ जनाको नाम निस्किएको छ । साथै समावेशी समूहमा भने मिश्रित नतिजा सार्वजनिक भएको देखिएको छ । ४ वटै कार्यालयको तथ्यांक हेर्दा ३३ जना माग हुँदा २४ जनाको नाम निस्केको छ । साथै ७ जना आदिवासी कोटामा १९ जना सफल भएका छन् । त्यस्तै मधेसी ७ जनाको कोटामा भने ४८ जना उमेद्वार अन्तर्वार्ताका लागि छनौट भएका छन् ।

३ जनाको कोटा माग गरिएको दलित कोठामा ७ जनाको नाम निस्केको छ भने १ जना माग गरिएको पिछडिएको क्षेत्रमा ३ जनाको नाम सिफारिस भएको लोकसेवा आयोग केन्द्रीय कार्यालयले जनाएको छ । अहिलेसम्म लिइएका परीक्षामा यति धेरै अपुग भएको नजिता सार्वजनिक गरिएको घटना नभएको आयोगले जनाएको छ । आयोगका अनुसार पहिले केन्द्रीय कार्यालयबाट मात्र प्रशासन, सामान्य प्रशासन र लेखा समूहअन्तर्गतको अधिकृत स्तरको परीक्षा लिने गरेको भए पनि यस पटक स्थानीय निकायको परीक्षा पहिलो पटक क्षेत्रगत रुपमा लिँदा यस्तो अपुग नामावली सहितको नतिजा आएको लोक सेवा आयोगका सूचना अधिकारी देविप्रसाद सुवेदी बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार