महिलाको कोख भर्न लाखाै खर्च, बच्चा नहुनेलाइ डिभोर्सको धम्की

  पत्रपत्रिका खबर  363 पटक हेरिएको

टेस्ट ट्युब विधिबाट बच्चा जन्माउन कुन–कुन औषधि खानुपर्छ ? कुन इन्जेक्सन कहिले लगाउनुपर्छ ? कति–कति समयमा फलोअपमा जानुपर्छ ? के–के कुरामा ध्यान पुर्‍याउनुपर्छ ? भन्ने कुरा उनलाई कण्ठै छ। ललितपुरको लुभु, लामाटार बस्ने स्मिता राई (४६) लाई यही कुरा पहिला डाक्टरले १० पटक सम्झाउनुपथ्र्यो। अहिले उनी यसबारे अरूलाई राम्ररी जानकारी दिन सक्ने भइसकिन्। ‘अब त बानी परिसक्यो,’ उनी भन्छिन्, ‘के गर्नुपर्छ, कण्ठै छ।’

सन्तान नहुनुको पीडा भोगिरहेकी उनको दुई पटक उपचार असफल भएपछि अहिले तेस्रो पटक टेस्ट ट्युब विधिबाट उपचार हुँदैछ। दुई पटकको उपचारमा उनले आठ लाख रुपैयाँ हाराहारीमा खर्च गरिसकिन्। ‘डोनर’को अण्डा लिएर उपचार गर्नुपरेकाले उपचार महँगो परेको उनी बताउँछिन्। भन्छिन्, ‘बच्चा हुने भए अझै पनि खर्च गर्न तयार छु।’ उनी कुनै धनाढ्य परिवारकी महिला होइनन्। मध्यम वर्गीय परिवारकी गृहिणी हुन्। उनको श्रीमान् प्राइभेट कम्पनीमा काम गर्छन्।

उपत्यकाका बिरामीभन्दा पनि बाहिरका बिरामीलाई खर्चको दोब्बर मार पर्ने उनी बताउँछिन्। ‘दुर्गम जिल्लाबाट आएर पनि उपचार गराइरहेका छन्,’ उनी भन्छिन्, ‘कोही होटलमा बस्छन्, कोही उपचारकै लागि कोठा खोजेर बसेका छन्। कति महिलाका श्रीमान् त ‘उपचार खर्चले बरु अर्को बिहे गर्छु’ भन्दै फर्कन्छन्।’समस्याको जटिलताअनुसार उपचार खर्च फरक पर्ने डा. श्रीवास्तव बताउँछिन्। भन्छिन्, ‘हामीलाई पनि जाँच नगरी रोगबारे थाहा हुँदैन। रोगअनुसार कसैलाई दुई हजारमा ठीक हुन्छ, कसैलाई २० हजार लाग्छ। कसैलाई भने दुई लाखले पनि भ्याउँदैन।’

डिभोर्सको धम्की-रुकुमबाट उपचारका लागि आएकी पिमसरी वली (२२) को आफ्नै व्यथा छ। तीन चोटि बच्चा खेर गएको पीडा भोगेकी उनी चौथो बच्चा बचाउने आशमा काठमाडौँ आएकी हुन्। अहिले उनी तीन महिनाकी गर्भवती छिन्। बच्चा नबचे उनलाई श्रीमान्ले डिभोर्सको धम्की दिएका छन्। डिभोर्स गरेर अलग्गै बस्न उनको विवाह दर्ता भएको छैन। न त नागरिकता नै बनेको छ। ‘१६ वर्षमा बिहे भयो,’ उनी भन्छिन्, ‘बर्सेनि तीनटा बच्चा खेर गए।

नेपालगञ्जको नर्सिङ होममा जाँदै निकालेँ। यता म मरेर बाँचेँ, उता बच्चा खेर गएपछि घर बिग्रियो। सबैले रोगी भनेर हेला गर्न थाले।’ आफू मरेर भए पनि एउटा बच्चा जन्माउने उनको धोको छ। उनले उपचार गराइरहेको अस्पतालका कर्मचारीलाई उनले पटक–पटक सोध्ने प्रश्न एउटै छ– ‘यसपटक मेरो बच्चा अडिन्छ कि नाइँ ?’ यसपटक पनि बच्चा अडिएन भने आफ्नो श्रीमान्ले अर्को बिहे गर्नेमा उनी पक्कापक्की छिन्। ‘घरपरिवारले ‘यो रोगीलाई किन पाल्ने ?’ भन्छन्,’ उनी सुस्केरा छाड्छिन्, ‘मलाई त घरबाटै निकालिदिन्छन्।’

त्यसैले घर र उपचार खर्च चलाउँछन्। ‘दुःख गरेर तराईमा सानो टुक्रा जग्गा जोडेका थियौँ,’ राई भन्छिन्, ‘त्यो बेचेर एउटा घर बनाउने सपना थियो। वास्तविक घर (बच्चा) नबसेपछि त्यो इँटा–बालुवाको घरको के मतलब ? उपचारका लागि त्यो जग्गा बेच्यौँ।’राईले उपचारकै लागि बैँकमा सुन बन्धकी पनि राखिन्। ‘जग्गाको पैसाले पनि नपुगेपछि सुन बन्धकी राखेँ,’ उनी सम्झन्छिन्, ‘पहिलो पटक असफल भयो। तैपनि, हिम्मत हारिनँ।

दोस्रो पटक कोसिस गरेँ। दोस्रो पटकको उपचारमा डाक्टरले लापरवाही गरे। आवश्यक पर्ने औषधि नै दिएनन्।’ अहिले तेस्रो पटक पनि उपचार गर्ने आशमा अस्पताल धाइरहेकी छिन्। ‘जति उमेर ढल्किँदै जान्छ, उति नै चिन्ता बढ्दै जान्छ,’ उनी पीडा पोख्छिन्, ‘त्यसमा खर्चको त लेखाजोखा नै छैन।’

अर्को बिहे गर्छु’ भन्दै फर्किन्छन्-काठमाडौँ, बिजुलीबजारस्थित निःसन्तान केन्द्रकी निर्देशक डा. उमा श्रीवास्तवले यसको उपचारमा थुप्रै अनुभव बटुलिसकिन्। बाँझोपनको सामान्य उपचार खासै खर्चिलो नभए पनि यसको विशेषज्ञ उपचार अलि खर्चिलो भएको उनी बताउँछिन्। ‘मध्यम वर्गीय दम्पतीका लागि तीन–चार लाख रुपैयाँको उपचार भनेको महँगो उपचार हो,’ डा. श्रीवास्तव भन्छिन्, ‘खर्च धान्न नसकेर कतिपय दम्पती उपचार सुरु गरेर बीचैमा छाड्छन्।’

उनको उपचार खर्च सबै माइतीले बेहोर्दै आएको छ, छोरीको घर बस्ला कि भन्ने आशमा। ‘खान लाउनै धौधौ छ,’ वली भन्छिन्, ‘उपचारका लागि ५५ सय तिरेर प्लेनमा आउनुपरेको छ। पोहोर १ लाख १० हजार रुपैयाँ खर्च भयो, परार एक लाखजति। अहिले ल्याएको पैसा पनि सबै सक्कियो। अब अझै कति लाग्छ, थाहा छैन।’ उनले यहाँ कोही चिनेकी छैनन्। मासिक नौ हजार रुपैयाँ तिरेर होटलमा बस्छिन्। यसको उनले हिसाबै राखेकी छैनन्। ‘साथी ल्यायो भने थप खर्च लाग्छ भनेर उपचारका लागि एक्लै आएँ,’ भावुक हुँदै उनी सुनाउँछिन्, ‘खर्च गरेर पनि समस्या टरे त यो दुःख बिर्सिउँला। नटरे सधैँका लागि बाँझी हुन्छु।’

सरकारको ध्यान जानुपर्छ-‘परिवार नियोजनलाई बढावा दिनुपर्ने बेला केको निःसन्तान सेवा ?’ भन्ने प्रश्नको सामना ओम अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले धेरै पटक सामना गर्नुपरेको छ। ‘निःसन्तानको पीडा देख्ने वा सुन्नेलाई हुँदैन, भोग्नेलाई हुन्छ,’ उनी भन्छन् ‘समाजमा उनीहरू बाँचेर पनि मरेतुल्य बनेर बसेका छन्।’

सरकारले दूरदराजका निःसन्तान दम्पतीलाई विशेष खालको कार्यक्रम ल्याउन जरुरी भएको डा. रिजाल बताउँछन्। भन्छन्, ‘सरकारले जसरी मिर्गौला, मुटु, क्यान्सर र अन्य रोगको उपचारका लागि सहुलियत दिने गरेको छ, त्यसरी नै निःसन्तान उपचारका लागि पनि विशेष मापदण्डको व्यवस्था गर्नुपर्छ। साढे दुईदेखि तीन लाख खर्च लाग्दा त्यसमा सरकारले एक लाख मात्र बेहो¥यो भने पनि बिरामीलाई ठूलो राहत हुन्थ्यो।’ उनका अनुसार सन्तान नहुनुमा महिलाको ३३ प्रतिशत, पुरुषको ३३ प्रतिशत र दुवैको ३३ प्रतिशत समस्या वा कमजोरी रहेको हुन्छ।

खर्चैखर्च-कैलालीकी शशि ढकाल (३३) को सबै रहर मरिसके पनि एउटा रहर जीवितै छ। त्यो रहर हो– सन्तान। उनलाई कहिल्यै मीठो खाऊँ, राम्रो लाऊँ, घुम्न जाऊँ भन्ने लाग्दैन। भन्छिन्, ‘कमाएको सबै पैसा उपचार गर्नै पुग्दैन। बाँकी सपना देख्नु त बेकार छ।’ सबैको देखेर उनलाई हरेक दिन सन्तानको अभाव महसुस हुन्छ। बिहे गरेको १० वर्षसम्म बच्चा नहुँदा परिवार तथा समाजले गर्ने प्रश्न त छँदै छ। ‘समाजको मुखमा बुझो लाउनका लागि पनि एउटा सन्तान जन्माउने ठूलो धोको छ,’ उनी भन्छिन्। त्यसका लागि उनले नाम चलेका डाक्टरदेखि जडीबुटी, धामीझाँक्री, चिना देखाउनेदेखि हात हेराउनेसम्म कुनै पनि उपाय छाडेकी छैनन्।

‘अहिले उपचार गर्दा हार्मोन गडबडीको समस्या देखिएको छ,’ शशि भन्छिन्, ‘औषधि, अल्ट्रासाउन्ड र चेकजाँच गरेर महिनामा २० देखि २५ हजार खर्च हुन्छ।’ उनले यसरी उपचार गर्न थालेको डेढ वर्ष भयो। उपचारकै लागि ढकाल दम्पती काठमाडौँ, कीर्तिपुरमा डेरा गरेर बसेको छ। ‘कहिले सफल हुन्छ, ठेगान छैन,’ उनी भन्छिन्, ‘उमेर ढल्किँदै गइसक्यो, पैसा सक्किँदै गइसक्यो। कहिलेकाहीँ त हरेश खान्छु। उपचारै नगरी चुपचाप बसौँ जस्तो पनि लाग्छ।’

शशि अहिले इन्ट्रायुटेरिन इन्सेमिनेसन (आईयूआई) विधिबाट उपचार गराइरहेकी छिन् । यो भनेको पाठेघरमा सोझै शुक्रकीट राख्ने विधि हो। डिम्बवाहिनी नली खुला भएर पनि बच्चा भएको छैन भने यो विधि उपयुक्त हने डाक्टरहरू बताउँछन्। औषधि उपचारबाट सन्तान प्राप्त नभएका अवस्थामा भने टेस्ट ट्युब अर्थात् आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) प्रविधिको सेवा पनि लिन सकिने ओम अस्पतालकी आईभीएफ विशेषज्ञ डा. सविना श्रेष्ठ बताउँछिन्।

उनका अनुसार आईभीएफ विधिमा महिलाको डिम्बाशयमा रहेको अण्डालाई औषधिको माध्यमले परिपक्व बनाएर इन्जेक्सनमार्फत निकालिन्छ। त्यस्तै, पुरुषको शुक्रकीट पनि संकलन गरिन्छ। उक्त अण्डा र शुक्रकीटलाई विशेष प्रकारको ट्युबमा फर्टिलाइजेसनका लागि राखिन्छ। त्यसपछि भू्रणको विकास हुन्छ। विकास भएको भू्रणलाई इन्जेक्सनमार्फत पाठेघरमा राखिन्छ।

‘केही वर्षअघिसम्म टेस्ट ट्युब भन्नेबित्तिकै के–के न होला भन्ने सोच थियो,’ डा. श्रेष्ठ भन्छिन्, ‘समाजले यसलाई पचाउन सकेको थिएन। उपचार गर्न पनि लुकीलुकी आउँथे। अहिले यसलाई सामान्य रूपमा लिन थालिएको छ।’ सामान्य उपचारले समस्या समाधान भए आईभीएफ नगर्न उनी सुझाउँछिन्। भन्छिन्, ‘त्यसले व्यर्थको खर्च मात्र बढाउँछ। मध्यम वर्गीय परिवारका लागि सानो खर्च पनि ठूलो हुन्छ।’

डा. श्रेष्ठ दम्पतीका लागि निःसन्तान हुनुजत्तिको अर्काे पीडा नहुने बताउँछिन्। ‘त्यसैले उपचारका लागि आउने बढेका छन्,’ उनी भन्छिन्, ‘उनीहरू नियमित चेकजाँच गर्छन्, हेलचेक्य्राइँ गर्दैनन्।’ के कारणले सन्तान नभएको हो त्यसअनुसार उपचार खर्च निर्धारण हुने डा. श्रेष्ठ बताउँछिन्। भन्छिन्, ‘कसैलाई ५० रुपैयाँको ट्याब्लेटले काम गर्छ, कसैलाई भने आईभीएफ नै गर्नुपर्छ।’ समस्याअनुसार औषधि चलाउने भएकाले खर्च तल–माथि पर्ने उनको भनाइ छ। ‘युवतीहरूकोे अण्डाशय राम्रो हुने भएकाले कम डोजको औषधिले पनि काम गर्छ,’ उनी भन्छिन्, ‘पटक–पटक कोसिस गरेको र ४० वर्षभन्दा माथि नाघेकालाई कम डोजको औषधिले छुँदैन।’ बाँझोपन उपचारका लागि दम्पतीले समयमा नै स्वास्थ्य परीक्षण गर्नुपर्ने उनी बताउँछिन्। ‘

संसारको जुनसुकै ठाउँमा पनि निःसन्तानको उपचार महँगो हुने बताउँछिन्, ग्रिन सिटी अस्पतालकी निःसन्तान विशेषज्ञ डा. स्वस्ति शर्मा । ‘प्राकृतिक रूपमा हुनेकुरा ल्याबबाट गर्दा अवश्य पनि खर्चिलो हुन्छ,’ डा. शर्मा भन्छिन्, ‘त्यसका लागि आवश्यक औषधि, माध्यम, मेसिन सबै विदेशी हुन्छन्। स्वदेशी त जनशक्ति मात्रै हो। कतिपय अवस्थामा जनशक्ति पनि बाहिरबाट ल्याउनुपर्छ।’ बाहिर देशबाट नेपालमा उपचार सस्तो छ भन्दै आउनेहरू पनि भएको उनी बताउँछिन्।

हार्मोनको इन्जेक्सन लगाएर अण्डा बनाउनुपर्छ,’ डा. शर्मा भन्छिन्, ‘एउटै हार्मोन इन्जेक्सनको ५० हजारदेखि एक लाख रुपैयाँसम्म पर्छ। यहाँ त्यस्तो इन्जेक्सन बन्दैन, विदेशबाट मगाउनुपर्छ।’ आईभीएफको उपचार दुईदेखि चार लाख रुपैयाँसम्म पर्न जाने उनी बताउँछिन्। ‘सामान्य आर्थिक हैसियत हुनेलाई त आईयूआई गर्न नि गाह्रो छ,’ उनी भन्छिन्।आईभीएफ उपचारपछि प्रायः अपरेसन गरेर बच्चा निकाल्ने गरेको उनी बताउँछिन्। ‘यस्तो अवस्थामा कुनै पनि आमाले जोखिम उठाउन चाहँदैनन्,’ उनी भन्छिन्, ‘त्यसले पनि खर्च बढाउँछ।’

‘सिमेन फ्रिजिङ’ विधि-काठमाडौँ, जोरपाटी बस्ने सज्जु गुरुङ (३५) का श्रीमान् वैदेशिक रोजगारीमा गएका छन्। उनीहरूको बिहे भएको १० वर्ष भयो। ‘दुई÷तीन वर्षमा एक महिनाको छुट्टी लिएर आउनुहुन्छ,’ उनी भन्छिन्, ‘जति कोसिस गर्दा पनि हाम्रो बच्चा भएन।’ केही उपाय नलागेपछि उनले अहिले श्रीमान्को सिमेन फ्रिज गरेर उपचार गराइरहेकी छिन्। ‘महिनाको एकचोटि फलोअपका लागि जानुपर्छ,’ उनी भन्छिन्, ‘डाक्टरहरूले बच्चा बस्ने वातावरण बनाइदिन्छन्।

बाँकी भगवान् भरोसा !’ यसरी उनले उपचार गराउन थालेको डेढ वर्ष भयो। ‘महिनाको १५ देखि २० हजार रुपैयाँ खर्च हुन्छ,’ उनी भन्छिन्, ‘कहिले बच्चा बस्छ भन्ने चाहिँ पत्तो हुँदैन।’यस्ता दम्पतीका लागि सिमेन फ्रिजिङ गरेर गर्भाधान गर्ने उपाय प्रभावकारी भएको डा. सविना श्रेष्ठ बताउँछिन्। ‘त्यसका लागि अण्डाको जाँच गरिन्छ,’ उनी भन्छिन्, ‘अण्डा निस्किएपछि जम्मा गरेको शुक्रकीटलाई पाठेघरमा राखिन्छ। यो विधिको शतप्रतिशत ग्यारेन्टी हुुँदैन। यो आईभीएफ जस्तो महँगो भने छैन। तर, छ चोटिभन्दा बढी यो विधि नअपनाउनु हुँदैन।’

श्रीमान् विदेश भएर सन्तान नभएका महिलालाई परिवार तथा समाजले निःसन्तानमा गन्ती गर्ने गरेको डा. श्रेष्ठ बताउँछिन्। ‘ग्रामीण क्षेत्रमा अधिकांशका श्रीमान् बिहे गरेर विदेशिन्छन्,’ उनी भन्छिन्, ‘तीनचार वर्षमा महिनादिनको छुट्टी लिएर घर फर्कन्छन्। त्यही समयमा बच्चा पाउनुपर्छ भन्ने प्रेसर हुन्छ। त्यतिबेला तनावका कारण पनि बच्चा नबस्न सक्छ।’

यस्तो खाले समस्या लिएर धेरैजसो उपत्यकाबाहिरका महिलाहरू आउने गरेको डा. श्रेष्ठ बताउँछिन्। ‘बाहिरबाट आएर उपचार गराउनेलाई सहज छैन,’ उनी भन्छिन्, ‘पहिलो कुरा श्रीमान्बिना आउनुपर्छ। अर्को, गेस्ट हाउसमा बस्नुपर्छ। अस्पतालमा महिनाको १० हजार ति¥यो भने बाहिरी खर्च १० हजार छुट्याउनुपर्छ।’ यसलाई उनी एकदमै दुःखलाग्दो अवस्थाका रूपमा लिन्छिन्। ‘श्रीमान्ले विदेशबाट दुःख गरी पठाएको पैसा उपचारमै खर्च हुन्छ,’ डा. श्रेष्ठ भन्छिन्, ‘महिलाका साथमा न श्रीमान् हुन्छन्, न बच्चा। तर, पनि निःसन्तान हुनुको पीडाबाट मुक्त हुन महिलाहरू प्रयास गरिरहेका हुन्छन्।’

उमा श्रीवास्तव,स्त्रीरोग तथा हार्मोन विशेषज्ञ,।
कुनै दम्पतीले लगातार दुई वर्षसम्म गर्भनिरोधकका साधन प्रयोग नगर्दा पनि बच्चा भएन भने त्यस्तो अवस्थालाई निःसन्तानको अवस्था भनिन्छ। सन्तान जन्माउनका लागि महिला–पुरुष दुवैको प्रजनन अंग स्वस्थ हुनुपर्छ। पाठेघरको नली बन्द हुुनु, महिनावारी गडबड हुनु, अण्डा नबन्नु, डिम्ब वा पाठेघरको विकास राम्रोसँग नहुनु, पाठेघरको नलीमा संक्रमण हुनु, असुरक्षित गर्भपतन गर्नु, यौनरोगको संक्रमण हुनु, हार्मोनको गडबडीलगायत महिलामा देखिने प्रजनन समस्या हुन्। त्यस्तै, शुक्रकीट उत्पादन नहुनु, हार्मोनको गडबडी, यौनरोगको संक्रमण, शुक्रकीट उत्पादन भए पनि ब्लक भएर बाहिर ननिस्कनु पुरुषमा देखिने समस्या हुन्। यसले बाँझोपनको समस्या निम्त्याउँछ।

बिरामीको चेकजाँच गरिसकेपछि ट्याब्लेटले हुने उपचारलाई हामी सकेसम्म इन्जेक्सन दिँदैनौँ। इन्जेक्सनले हुने उपचारलाई अपरेसन गर्दैनौँ। बिरामीको पैसा र शरीर दुवै बचाएर उपचार गर्ने कोसिस गर्छौं। दुई वटै डिम्बवाहिनी नली बन्द भएको खण्डमा हामीले आईभीएफ गर्ने सल्लाह दिने गरेका छौं। सन् २००२ बाट आईभीएफ विधिबाट उपचार सुरु भएको थियो। त्यो बेलामा ७० हजार रुपैयाँ लागेको थियो। अहिले न्यूनतम २ लाख ५० हजारसम्म पर्छ। कतिपय अवस्थामा चार लाख रुपैयाँसम्म पनि खर्च हुनसक्छ।

डिम्ब विकास गर्ने हार्मोन इन्जेक्सनका लागि बिरामीले हजारौँ तिरिरहेका छन्। इन्जेक्सन कुनै अमेरिकन, कुनै अस्ट्रेलियन छन्। विदेशी भएकाले महँगो हुनु स्वाभाविक हो। बाहिरबाट सामान ल्याएर उपचार गर्ने भएकाले उपचार खर्चिलो छ। त्यो उपचार गुणस्तरीय र अन्तर्राष्ट्रिय पनि छ। हामीले प्रयोग गर्ने सबै माध्यम विदेशी छन्। प्रविधि र सामान पनि विदेशी छन्। यति गर्दागर्दै पनि आईभीएफको सफलता दर भने ३० देखि ४० प्रतिशत मात्रै छ। सरकारले संगिनी सुई जस्तै यस्ता कुरालाई पनि सहुलियत दिनुपर्छ। यस कुरामा सरकारको चासो नै छैन। किनभने, देशलाई जनसंख्या बढाउनु हैन, घटाउनु छ। त्यसैले त हामी जस्ता निःसन्तानको क्षेत्रमा काम गर्नेलाई जनसंख्या वृद्धिमा सघाउ पुर्‍याएको आरोप लगाइन्छ।

‘सरकारले निःसन्तान दम्पतीलाई राहत दिनुपर्छ’ डा. भोला रिजाल-मुख्य गरी बाँझोपनको मारमा महिलाहरू पर्ने गरेका छन्। हाम्रो जस्तो पुरुषप्रधान देशमा निःसन्तान भएर बाँच्नु महिलाका लागि अभिशाप जस्तै भएको छ। उनीहरूले भोग्ने पीडालाई अरू कुनै पीडासँग दाँज्न सकिँदैन। बच्चा भएन भनेर आउनेबित्तिकै हामीले जथाभावी उपचार गरिहाल्न मिल्दैन। जाँच गर्नुपर्छ। जाँच गर्ने क्रममा केही खर्च लाग्छ। नेपालमा १५ वर्षअघि टेस्ट ट्युब बेबी जन्माइएको थियो। अहिलेसम्म ओम अस्पतालमा मात्र एक हजार टेस्ट ट्युब बेबी जन्मिसके। बाँझोपनको समस्या दिन प्रतिदिन बढिरहेको छ। खर्च पनि उत्तिकै बढिरहेको छ।

उपचार गरेपछि त्यसको सफलता दर पनि राम्रो हुनुपर्छ। त्यसपछि मात्रै पैसा खर्च गरेको काम लाग्छ। उपचार खर्च सबै ठाउँमा एकनास हुँदैन। सामान्यतया तीन लाख रुपैयाँसम्म पर्छ। त्यसमा कतिले ५० रुपैयाँको औषधि प्रयोग गर्छन्, कसैले दुई हजारको। एउटा इन्जेक्सन छ, जसको मूल्य ७० हजारदेखि एक लाख रुपैयाँसम्म पर्छ। कसैले ५० हजारमा टेस्ट ट्युब गरिदिन्छु वा सस्तोमा उपचार गरिदिन्छु भन्यो भने कसरी गर्छ ? कहाँ गर्छ ? कस्तो औषधि प्रयोग गर्छ ? सफलता दर कति छ ? भन्नेमा भर पर्छ। टेस्ट ट्युबको ल्याब बनाउनै करोडौँ खर्च हुन्छ। प्रविधि अपडेट गर्दै जाँदा खर्च पनि बढ्छ नै।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सेवा भएपछि उपचार महँगो पर्न जान्छ। बाहिरबाट सामान आउने भएकाले खर्च बढी पर्छ। त्यसैले बाहिरबाट आउने सामानमा सहुलियत दिनेतर्फ सरकारको ध्यान जानुपर्छ। सरकारले जसरी मिर्गौला, मुटु, क्यान्सर र अन्य रोगको उपचारका लागि सहुलियत दिने गरेको छ, त्यसरी नै निःसन्तान उपचारका लागि पनि विशेष मापदण्डको व्यवस्था गर्नुपर्छ। साढे दुईदेखि तीन लाख खर्च लाग्दा त्यसमा सरकारले एक लाख मात्र बेहोर्‍यो भने पनि बिरामीलाई ठूलो राहत हुन्थ्यो। सम्पूर्ण साप्ताहिकबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार