
बलिउड अभिनेत्री अमीषा पटेलविरुद्ध पक्राउपुर्जी जारी भएको छ । चेक बाउन्सको अरोपमा राँची अदालतले उनलाई पक्राउ गर्न आदेश दिएपछि पुर्जी जारी गरिएको थियो । फिल्म निर्माता अजय कुमारले दुई करोड ५० लाख रुपैयाँ भारूको चेक बाउन्सको आरोप लगाएसँगै अदालतले अभिनेत्री पटेललाई पक्राउ गर्न आदेश दिएको छ ।
सन् २०१८ मा ‘देसी म्याजिक’ फिल्म निमार्णको लागि अभिनेत्री पटेलले ऋण मागेको उनले बताए । फिल्मले व्यापार गर्न असफल भएपछि अभिनेत्री पटेलले साढे दुई करोडको चेक दिएकी थिइन् । अभिनेत्री पटेलले दिएको चेक बैंकले अस्वीकार गरेको थियो जहाँ उनले तीन करोड रुपैयाँ राखिदिने प्रतिवद्धता दिएकी थिइन् ।
अदालतको आदेशपछि राँची प्रहरी अभिनेत्री पटेललाई पक्राउ गर्न मुम्बई आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । ‘अभिनेत्री पटेल र उनको व्यवसायिक साझेदार कुनालले फिल्म बनाउने भन्दै साढे दुई करोड लिएका थिए ।
उनीहरूले सन् २०१८ मा फिल्म रिलिज भएपछि रकम फिर्ता गर्ने वाचा गरेका थिए । उनीहरू कहिल्यै फिल्म रिलिज गरेनन् । अभिनेत्री पटेलले मलाई तीन करोडको चेक दिएपनि त्यो बाउन्स भएको थियो,’ निर्माता अजय कुमारले भने, ‘अभिनेत्री पटेल र उनको व्यवसायिक साझेदार कुनालले मेरो फोन उठाउन छाडेपछि ठगिएको महसुस गरेपछि उजुरी दिएको थिए ।’
गत असारको अन्तिम साता नेपाल आएकी अभिनेत्री पटेलले पक्राउपुर्जीविरुद्ध कुनै प्रतिक्रिया नदिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजित सांगीतिक कार्यक्रममा भाग लिएकी अभिनेत्री पटेलद्वारा अभिनित पछिल्ला फिल्महरूले व्यापारिक सफलता पाउन सकेका छैनन् ।
यसअघि अर्की बलिउड अभिनेत्री कोइना मित्र चेक बाउन्स मुद्दामा दोषी ठहरिएकी थिइन् । मुम्बईस्थित महानगरीय मजिस्ट्रेट अदालतले उनीविरुद्धको चेक बाउन्स मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको थियो । मोडल पुनम सेथीले अभिनेत्री मित्र विरुद्ध २२ लाख रुपैयाँ भारूको चेक बाउन्स गरेको भन्दै उजुरी दिएकी थिइन् ।
अभिनेत्री मित्रले दिएको चेक बैंकले अस्वीकार गरेको थियो जहाँ उनले ४.६ लाख रुपैयाँ राखिदिने प्रतिवद्धता दिएकी थिइन् । अदालतको सुनुवाईमा अभिनेत्री मित्रले आफ्नो चेक चोरी भएकाले ठूलो रकम तिर्न प्रयाप्त स्रोत नभएको बताएपनि अदालतले उनको भनाईलाई अस्वीकार गरेको थियो।